कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाल मन्दिरको संरचना लथालिंग

व्यापार व्यवसाय गर्नेहरुले भाडा दिन छोडेपछि बालमन्दिरको आम्दानी शून्यमा झरेको छ
हरि गौतम

रुकुम पश्चिम — पाँच वर्षअघिम्म जिल्लाका अधिकांश औपचारिक कार्यक्रम आयोजना हुने ठाउँ थियो– बालमन्दिर । सदरमुकाम खलंगामा सबैभन्दा ठूलो हल र चौर भएकाले पनि बालमन्दिर औपचारिक कार्यक्रमको थलो बनेको थियो । पञ्चायतकालमा झन् बालमन्दिरमा पहुँचवाला व्यक्तिका छोराछोरीले मात्रै पढ्न पाउँथे । 

बाल मन्दिरको संरचना लथालिंग

तर अहिले बालमन्दिरका सबै संरचना अथालिंग छन् । सदरमुकाम खलंगाको मध्यभागमा अवस्थित बालमन्दिरकै कारण मुसीकोट बजारको सौन्दर्य बिग्रिरहेको छ । ‘५ वर्षअघि बालमन्दिरको हलमा कार्यक्रम गर्न कम्तीमा एक हप्ता कुर्नुपर्थ्यो,’ स्थानीय दशरथ नेपालीले भने, ‘प्रांगणमा पनि हप्तामा २/३ वटा कार्यक्रम कहिल्यै छुट्दैनथे ।’ पञ्चायतकालमा बालमन्दिरबाटै प्राथमिक शिक्षा हासिल गरेका उनले जिल्ला पञ्चायतका सभापतिको भनसुनमा मात्र आफूले भर्ना पाएको बताए । उनका अनुसार २०६३ सालसम्म जिल्लाको सबैभन्दा उत्कृष्ट प्राथमिक विद्यालयका रूपमा बालमन्दिर चिनिन्थ्यो ।

अहिले बालमन्दिर प्रांगणमा फाट्टफुट्ट मात्र कार्यक्रम हुन्छन् । विद्यालयको हल जीर्ण बनेपछि लामो समयदेखि बन्द छ । बालमन्दिरमा विद्यार्थी आउन छोडेको पनि वर्षौं बितिसकेको छ । ३ वर्षअघि विद्यालयलाई नजिकैको त्रिभुवन जनता माध्यमिक विद्यालयमा गाभिएपछि बालमन्दिरका संरचना अलपत्र परेका हुन् । बालमन्दिरको जग्गा भाडामा लिएर व्यापार व्यवसाय गर्नेहरूले भाडा दिन छोडेपछि बालमन्दिरको आम्दानी शून्यमा झरेको छ । १ हजार ७ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको बालमन्दिरमा ४ वटा भवन छन् । सबै भवन कामविहीन छन् । भवन जीर्ण बन्दै गएपछि अधिकांश कक्षाकोठा शौचालयका रूपमा परिणत भएका छन् । नेपाल बाल संगठनले २०३४ मा जिल्लामा बालमन्दिर स्थापना गरेको थियो । संगठन विघटन भएपछि बालमन्दिर अलपत्र परेको हो । ‘यो उही बालमन्दिर हो र भन्नेसम्मको अवस्था छ,’ स्थानीय मोहनलाल खड्काले भने, ‘भएका सार्वजनिक संरचनाको उपयोग र संरक्षण नहुँदा बजारकै सौन्दर्यता हराएको छ ।’

बालमन्दिर प्रांगण अहिले व्याडमिन्टन खेल्ने र सवारी साधन पार्किङ गर्ने ठाउँका रूपमा परिणत भएको स्थानीय कमल केसीले बताए । ‘३ वटै तहका सरकारले संरक्षणमा ध्यान दिएनन्,’ उनले भने, ‘अझै केही बिग्रिएको छैन, संरक्षण र भवनहरू मर्मत गरे बालमन्दिरलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ ।’ सार्वजनिक सम्पतिको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाइ छ । चालु आर्थिक वर्षमा भने मुसीकोट नगरपालिकाले बालमन्दिरको संरक्षणमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । बजेट छुट्याएर बालमन्दिरको संरक्षणका लागि पहल थालिएको नगरप्रमुख देवीलाल गौतमले बताए । ‘संरक्षणका लागि गुरुयोजना पनि बनाइरहेका छौं,’ उनले भने, ‘यो वर्ष नसकिएका काम गर्न आगामी वर्षमा पनि बजेट विनियोजन गरिनेछ ।’

प्रकाशित : आश्विन ८, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?