कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षागार्डको भरमा टेलिकम

कार्यालयमा प्रमुख र प्राविधिक नहुँदा प्रशासनिक, टेलिफोन मर्मत, नयाँ जडान, सिमकार्ड वितरण बन्द
राजबहादुर शाही

मुगु — नेपाल टेलिकमको जिल्ला कार्यालय झन्डै दुई सातादेखि सुरक्षागार्डको भरमा छ । अन्य कर्मचारी नभएपछि टेलिकमको सेवा सुरक्षागार्ड सुरेन्द्र रावलको भरमा सञ्चालन भइरहेको हो ।

सुरक्षागार्डको भरमा टेलिकम

वैशाखमा कार्यालय प्रमुख विशालकुमार देवकोटा सरुवा भएपछि उनको ठाउँमा कसैलाई पठाइएको छैन । निमित्तको जिम्मेवारी सम्हाल्दै आएका प्राविधिक रमेश खड्का सुत्केरी बिदामा घर गएपछि टेलिकम कर्मचारीविहीन बनेको हो । सुरक्षागार्ड रावलले प्रमुखदेखि कार्यालय सहयोगीसम्मको कामकाज आफैंले सम्हाल्दै आएका छन् । कार्यालयमा प्रमुख र प्राविधिक नहुँदा प्रशासनिक कामदेखि टेलिफोन मर्मत, नयाँ जडान, मोबाइल सिमकार्ड वितरणलगायत काम बन्द भएको छ । बन्द गएका सिमकार्ड खोल्ने र इन्टरनेट जडानका काम पनि ठप्प भएको उनले जानकारी दिए । उनका अनुसार राजस्व संकलनको काम पनि लामो समयदेखि हुन सकेको छैन ।

प्रमुख तथा प्राविधिक नहुँदा सेवाग्राही सास्ती खेप्न बाध्य छन् । दैनिक ५० जनासम्म सेवाग्राही आउने गरे पनि रित्तोहात फर्काउनु परेको रावलले बताए । टेलिकम कार्यालय कर्मचारीविहीन हुँदा सानो कामका लागि पनि सास्ती भोग्नुपरेको छायानाथरारा नगरपालिकाका तिलकबहादुर मल्लले बताए । ‘सञ्चारजस्तो महत्त्वपूर्ण कार्यालयमा न त प्रमुख छन्, न प्राविधिक नै,’ उनले भने, ‘बेहाल स्थितिमा कार्यालय छोडिएको छ, नियमन गर्ने निकाय पनि मौन छन् ।’ उनले टावर हेरफेर र मर्मत नहुँदा केही गाउँहरू सञ्चार सुविधाविहीन बनेको बताए ।

नेटवर्क खराबीले हैरान

गमगढीस्थित नेपाल टेलिकमको टावरमा समस्या आएपछि मोबाइल नेटवर्कमा खराबी आएको छ । छिनछिनमा मोबाइल नेटवर्क बन्द हुने समस्याले उपभोक्ता आजित छन् । कुरा गर्दागर्दै बीचैमा फोन काटिने समस्या देखिन थालेको स्थानीय हस्ता भामले बताइन् । ‘फोन गर्दा न राम्ररी सुनिन्छ न पुरै कुरा गर्न पाइन्छ,’ उनले भनिन्, ‘इन्टरनेट सेवा पनि भरपर्दो छैन ।’

मोबाइल नेटवर्क खराबीले अत्यावश्यक काम पर्दा समेत आफन्तसँग कुरा गर्न समस्या भएको स्थानीय व्यवसायी नागमल शाहीले बताए । ‘इन्टरनेट सेवा बेलाबेलामा अवरुद्ध हुँदा व्यवसाय नै प्रभावित भएको छ,’ उनले भने, ‘फोनकै कारण जनताले कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ?’

दैलेख र कालीकोट सीमास्थित माइथाप्ला टावरमा खराबी आएकाले नेटवर्कमा समस्या आएको टेलिकमका सुरक्षागार्ड रावलले बताए । ‘क्षेत्रीय कार्यालय नेपालगन्जमा यसबारे कुरा भइसकेको छ,’ उनले भने, ‘त्यहाँबाट प्राविधिक आएपछि १/२ दिनमा टावर मर्मतको काम सुरु हुन्छ ।’

प्रकाशित : आश्विन ५, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?