कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा रित्तिए खाद्य गोदाम

राजबहादुर शाही

मुगु — चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बित्दासमेत खाद्यान्न ढुवानी नहुँदा मुगुका सबै खाद्य गोदाम रित्तिएका छन् । खाद्य व्यवस्था, व्यापार तथा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षका लागि टेन्डर स्वीकृत नगर्दा दसैंको मुखमा गोदामहरू रित्तिएका हुन् ।

चालु आर्थिक वर्षका लागि खाद्यान्न कोटा भने साउनमै स्वीकृत भएको थियो । तर चामल ढुवानी नहुँदा ग्रामीण भेगका चारवटा खाद्य डिपो र दुई बिक्री केन्द्र साउनदेखि रित्तै भएका हुन् । गमगढीस्थित मुख्य खाद्य गोदाममा गत आर्थिक वर्षको करिब ४ सय क्विन्टल चामल मौज्दात छ । तर विशेष अवस्थाका लागि चाहिन सक्ने भन्दै सदरमुकामबाट पनि खाद्यान्न वितरण रोकिएको छ ।

अहिले श्रीकोट, पुलु, सोरुकोट, कालै र रातापानी खाद्य डिपोमा एक गेडा पनि चामल नभएको कम्पनीले जनाएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको मुगमकार्मारोङ गाउँपालिकास्थित पुलुका छेवाङछेजुङ लामाले बताए । ‘घण्टौं हिँडेर डिपोमा चामल लिन गयो, कहिल्यै पाइँदैन,’ उनले भने, ‘डिपोमा चामल नपाइएपछि दोब्बर महँगोमा बजारको चामल लिनुपरेको छ ।’ उनका अनुसार सोरु र मुगुमकार्मारोङ गाउँपालिकामा खडेरीका कारण यो वर्ष गहुँबालीको उत्पादन न्यून भयो । अहिले बजारको चामलको भरमा गुजारा चलाउनुपर्ने बाध्यता रहेको उनले बताए । अत्यधिक चिसो हुने भएकाले दुवै गाउँपालिकाका अधिकांश भागमा वर्षमा एक बाली मात्र फल्छ ।

खाद्य डिपोमा २५ केजी चामल १५ सय रुपैयाँमा पाइने भए पनि व्यापारीसँग २ हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता भएको सोरु गाउँपालिका–४ का चन्द्र नेपालीले बताए । ‘डिपोमा एक दाना चामल छैन,’ उनले भने, ‘ऋण कारेर भए पनि बजारको चामल किन्नुपर्ने बाध्यता छ ।’ खाद्य गोदाममा चामल नहुँदा चाडबाड मनाउन समस्या भएको उनले गुनासो गरे ।

दसैंमा पनि स्थानीयलाई सरकारी अनुदानको चामल पाउन गाह्रो हुने सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘स्थानीयवासी खाद्यान्न अभावको चपेटामा छन्,’ उनले भने, ‘संघीय सरकारलाई पटकपटक आग्रह गरे पनि चामल पठाउन बेवास्ता भइरहेको छ ।’ चालु आर्थिक वर्षको नयाँ टेन्डर प्रक्रिया ढिलो हुँदा गोदामहरू रित्तिएको कम्पनीका निमित्त प्रमुख पुष्कर भामले बताए । ‘टेन्डरका फर्म काठमाडौं लिएर छानबिन गरी ठेक्का स्वीकृत गर्नुपर्ने भएकोले चामल ढुवानीमा ढिलाइ भएको हो,’ उनले भने, ‘टेन्डर स्वीकृत भएलगत्तै ढुवानीलाई तीव्रता दिइनेछ ।’

प्रकाशित : आश्विन २, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?