कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोबाइल चार्ज गर्न सय रुपैयाँ

जेनेरेटर चलाएका पसलमा मोबाइल चार्ज गर्न कर्मचारी, विद्यार्थी र स्थानीयको भीड लाग्ने गरेको छ
छपाल लामा

हुम्ला — सदरमुकाम सिमकोट बजारमा झन्डै दुई सातादेखि विद्युत् अवरुद्ध हुँदा स्थानीयवासी १ सय रुपैयाँ तिरेर मोबाइल चार्ज गर्न बाध्य छन् । विद्युत् नभएको फाइदा उठाउँदै व्यापारीले जेनेरेटर र सोलारमार्फत मोबाइल चार्ज गरेको १ सय रुपैयाँ लिने गरेका हुन् । 

मोबाइल चार्ज गर्न सय रुपैयाँ

जेनेरेटर चलाएका पसलमा अहिले मोबाइल चार्ज गर्न कर्मचारी विद्यार्थी र स्थानीयको भीड लाग्ने गरेको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको नहर पहिरोले भत्किएका कारण सदरमुकाम सिमकोटमा विद्युत् सेवा अबरुद्ध भएको हो । मौसम परिर्वतन भई घाम नलाग्दा सौर्य ऊर्जा चार्ज गर्नसमेत समस्या भइरहेको स्थानीयको गुनासो छ । विद्युत् समस्याले जिल्ला अस्पतालको एक्सरे, भिडियो एक्सरे र ल्याब परीक्षण सेवा अवरुद्ध छ । ‘नहर भत्किएको लामो समय बित्दा पनि मर्मत भएन,’ स्थानीय परबहादुर थापाले भने, ‘यसरी कति दिन गुजारा चलाउने ? ’

उनले फुल चार्ज नभए पनि व्यापारीले १ सय रुपैयाँ चार्ज लिने गरेको बताए । अर्का युवा सुरेश कार्कीले विद्युत् आपूर्ति बन्द हुँदा सानो कामका लागि पनि ठूलो सास्ती भोग्नुपरेको बताए । ‘१ सय रुपैयाँ तिरेर पनि घण्टौं पालो बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यही पनि व्यापारीले फूल चार्ज गरिदिँदैनन् ।’ उनका अनुसार विद्युत्कै कारण बेलाबेलामा मोवाइल नेटवर्क जाने समस्या छ ।

व्यवसायीहरू भने ३ सय ५० रुपैयाँ तिरेर जेनेरेटर सञ्चालन गरिरहेको बताउँछन् । ‘घाम नलाग्दा सोलार चार्ज नहुने समस्या छ,’ स्थानीय व्यापारी कमल रोकायाले भने, ‘जेनेरेटर चलाउँदा बढी इन्धन खर्च हुने भएकाले १ सय रुपैयाँ लिने गरेका हौं ।’ नहर मर्मतको काम भइरहेकाले विद्युत् सेवा आपूर्ति हुन अझै केही दिन लाग्ने हिल्दुम विद्युत् आयोजनाका कर्मचारी धर्म लामाले बताए । उनका अनुसार पहिरो गएको ठाउँमा ग्याभिन राख्ने र पर्खाल लगाउने काम ५ दिनदेखि जारी छ ।

जेनेरेटर चलाएर सेवा प्रवाह

विद्युत् सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या भएपछि जिल्ला प्रशासन कार्यालयले कार्यालय समयमा जेनेरेटर चलाउन थालेको छ । विद्युत् समस्याका कारण नागरिकता वितरणमा समस्या भएपछि जेनेटर चलाउन थालिएको हो ।

कार्यालयबाट प्रवाह हुने सबै सेवाहरू कम्प्युटरबाट गर्नुपर्ने भएकाले दिनभर जेनेरेटर चलाउने गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘टाढाबाट आएका सेवाग्राहीलाई रित्तो हात फर्काउनुभएन,’ उनले भने, ‘त्यसैले आइतबार नेपालगन्जबाट जेनेरेटर खरिद गरी ल्याएर सेवा प्रवाह सुचारु गरेका छौं ।’ उनले नयाँ नागरिकता वितरण र प्रतिलिपिको काम कम्प्युटरबाटै भइरहेको जानकारी दिए । यसअघि जिल्ला प्रशासन कार्यालयमा जडान गरिएको सोलार सिस्टमले काम नगर्दा सेवा प्रवाह रोकिने अवस्था आएको थियो ।

प्रकाशित : भाद्र ३०, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?