मोबाइल चार्ज गर्न सय रुपैयाँ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोबाइल चार्ज गर्न सय रुपैयाँ

जेनेरेटर चलाएका पसलमा मोबाइल चार्ज गर्न कर्मचारी, विद्यार्थी र स्थानीयको भीड लाग्ने गरेको छ
छपाल लामा

हुम्ला — सदरमुकाम सिमकोट बजारमा झन्डै दुई सातादेखि विद्युत् अवरुद्ध हुँदा स्थानीयवासी १ सय रुपैयाँ तिरेर मोबाइल चार्ज गर्न बाध्य छन् । विद्युत् नभएको फाइदा उठाउँदै व्यापारीले जेनेरेटर र सोलारमार्फत मोबाइल चार्ज गरेको १ सय रुपैयाँ लिने गरेका हुन् । 

जेनेरेटर चलाएका पसलमा अहिले मोबाइल चार्ज गर्न कर्मचारी विद्यार्थी र स्थानीयको भीड लाग्ने गरेको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको नहर पहिरोले भत्किएका कारण सदरमुकाम सिमकोटमा विद्युत् सेवा अबरुद्ध भएको हो । मौसम परिर्वतन भई घाम नलाग्दा सौर्य ऊर्जा चार्ज गर्नसमेत समस्या भइरहेको स्थानीयको गुनासो छ । विद्युत् समस्याले जिल्ला अस्पतालको एक्सरे, भिडियो एक्सरे र ल्याब परीक्षण सेवा अवरुद्ध छ । ‘नहर भत्किएको लामो समय बित्दा पनि मर्मत भएन,’ स्थानीय परबहादुर थापाले भने, ‘यसरी कति दिन गुजारा चलाउने ? ’

उनले फुल चार्ज नभए पनि व्यापारीले १ सय रुपैयाँ चार्ज लिने गरेको बताए । अर्का युवा सुरेश कार्कीले विद्युत् आपूर्ति बन्द हुँदा सानो कामका लागि पनि ठूलो सास्ती भोग्नुपरेको बताए । ‘१ सय रुपैयाँ तिरेर पनि घण्टौं पालो बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यही पनि व्यापारीले फूल चार्ज गरिदिँदैनन् ।’ उनका अनुसार विद्युत्कै कारण बेलाबेलामा मोवाइल नेटवर्क जाने समस्या छ ।

व्यवसायीहरू भने ३ सय ५० रुपैयाँ तिरेर जेनेरेटर सञ्चालन गरिरहेको बताउँछन् । ‘घाम नलाग्दा सोलार चार्ज नहुने समस्या छ,’ स्थानीय व्यापारी कमल रोकायाले भने, ‘जेनेरेटर चलाउँदा बढी इन्धन खर्च हुने भएकाले १ सय रुपैयाँ लिने गरेका हौं ।’ नहर मर्मतको काम भइरहेकाले विद्युत् सेवा आपूर्ति हुन अझै केही दिन लाग्ने हिल्दुम विद्युत् आयोजनाका कर्मचारी धर्म लामाले बताए । उनका अनुसार पहिरो गएको ठाउँमा ग्याभिन राख्ने र पर्खाल लगाउने काम ५ दिनदेखि जारी छ ।

जेनेरेटर चलाएर सेवा प्रवाह

विद्युत् सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या भएपछि जिल्ला प्रशासन कार्यालयले कार्यालय समयमा जेनेरेटर चलाउन थालेको छ । विद्युत् समस्याका कारण नागरिकता वितरणमा समस्या भएपछि जेनेटर चलाउन थालिएको हो ।

कार्यालयबाट प्रवाह हुने सबै सेवाहरू कम्प्युटरबाट गर्नुपर्ने भएकाले दिनभर जेनेरेटर चलाउने गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘टाढाबाट आएका सेवाग्राहीलाई रित्तो हात फर्काउनुभएन,’ उनले भने, ‘त्यसैले आइतबार नेपालगन्जबाट जेनेरेटर खरिद गरी ल्याएर सेवा प्रवाह सुचारु गरेका छौं ।’ उनले नयाँ नागरिकता वितरण र प्रतिलिपिको काम कम्प्युटरबाटै भइरहेको जानकारी दिए । यसअघि जिल्ला प्रशासन कार्यालयमा जडान गरिएको सोलार सिस्टमले काम नगर्दा सेवा प्रवाह रोकिने अवस्था आएको थियो ।

प्रकाशित : भाद्र ३०, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

बुहारीहरूको शंकास्पद मृत्यु शृंखला

धेरैजसो घटनामा श्रीमान्‌को अनुपस्थिति वा असहयोगी व्यवहार मुख्य कारक देखिँदै आएको छ । यसरी मृत्युवरण गरेकामध्ये अधिकतर घरभित्रकै काममा सीमित हुनुपर्ने, स्वतन्त्रताको अभ्यास गर्न नपाउने र आर्थिक रुपमा अरुको मुख ताक्नुपर्ने परिबन्दमा परेका बुहारी छन् ।
जनकराज सापकोटा

काठमाडौँ — रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौड्याल भदौ २० मा घरभित्रै मृत फेला परिन् । प्रहरीले सीताका श्रीमान् टीका र आमाजू विष्णुलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनमा मुद्दा चलायो । तर, सीताको मृत्यु ‘शंकास्पद’ भन्दै फेसबुकमा ‘जस्टिस फर सीता भण्डारी’ ह्यासट्याग चलिरहेको छ । महिला अधिकारकर्मी र माइती पक्षले सीताको न्यायका निम्ति धर्ना र जुलुस जारी राखेका छन् ।  

सीताको जस्तै घटना चार महिनाअघि चितवनमा पनि भएको थियो । २८ वर्षीया सविता भण्डारी वैशाख ४ मा चितवनको शारदानगरस्थित घरमा मृत भेटिइन् । बाबु रामचन्द्र भण्डारीले छोरीको मृत्युमा ज्वाइँ योगेन्द्र र उनका परिवारका सदस्य जिम्मेवार रहेको भन्दै चितवन प्रहरीमा जाहेरी दिए । वैशाख १७ मा योगेन्द्र पक्राउ परे । जेठ ११ गते योगेन्द्रसहित ससुरा रमेश र दिदी भावाविरुद्ध सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनको अभियोगपत्र दर्ता गर्‍यो । जेठ १४ मा योगेन्द्र र रमेशलाई एक–एक लाख र भावनालाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दियो ।

करिब डेढ सय किलोमिटरको दूरीमा भएका यी दुई घटनाको प्रकृति मात्रै मिल्दैन, दुवै घटनापछि उब्जिएका शंका र न्यायको माग गर्दै सामाजिक सञ्जाल र सडकमा उर्लिएका स्वर पनि उस्तै सुनिन्छन् । दुवै घटनामा दृश्यमा देखिने समानता भनेको दुवै बुहारीको मृत्यु घरभित्रै हुनु, माइतीले हत्याको दाबी गर्नु र प्रहरीले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिनुमा मात्रै सीमित छैन ।

पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि योगेन्द्रले सवितासँग बिहे गरेका थिए । सीताको घटनामा पनि यस्तै खालका समानता देखिन्छ । पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि टीकाले २ वर्षअघि सीतालाई भित्र्याएका थिए । दुवै घटनामा माइती पक्षले आफ्नो छोरीको मृत्युमा श्रीमान् र परिवारका सदस्यलाई कारक ठानिरहेका छन् । बुहारीहरूको ‘शंकास्पद’ मृत्युको फेहरिस्त बुटवल र चितवनमा मात्रै सीमित छैन । उस्तै प्रकृतिका शृखलाबद्ध घटनाले नेपाली समाज बुहारीका निम्ति असुरक्षित बन्दै जान थालेको हो कि भन्ने पेचिलो प्रश्न पनि तेर्स्याएको छ ।

माइतीबाट फर्केकै दिन रहस्यमय मृत्यु

असार १७ मा नुवाकोट सूर्यगढी गाउँपालिका–५ की २३ वर्षीया सुष्मा तामाङ घरनजिकै रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परिन् । छोरीको मृत्यु ज्वाइँ दीपेन्द्र ढकाललगायत परिवारकै सदस्यका कारण भएको भन्दै सुष्माका बाबु चन्द्रबहादुर तामाङले प्रहरीमा आत्महत्या दुरुत्साहन ऐनअन्तर्गत कारबाही हुनुपर्ने भन्दै किटानी जाहेरी दिए । दीपेन्द्रले घरमा जेठी श्रीमती नम्रता राई ढकाल हुँदाहुँदै सुष्मासँग दोस्रो बिहे गरेका थिए । विवाहको तीन वर्ष बित्दा नबित्दै सम्बन्धमा दरार आयो । घटनाको अघिल्लो रात आफूसँग सामान्य विषयमा झगडा भएको दीपेन्द्रले प्रहरी बयानमा बताएका छन् । सुष्माको मृत्युको कारण पहिचान गर्न साउन ५ गते केन्द्रीय विधि विज्ञान प्रयोगशालामा भिसेरा पठाइएको थियो ।

बुहारीहरूको शंकास्पद मृत्युमा श्रीमान् र परिवारबाटै हुने यातनासँगै सम्पत्तिको लोभ पनि जोडिने गरेको देखिन्छ । २०७७ असार २ मा हेटौंडाकी २२ वर्षीया सुस्मिता थापाको शव घरमै फेला पर्‍यो । ससुरा प्रकाश थापा र नन्द सीता थापा पक्राउ परे । घटनाको ६ महिनाअघि सुस्मिताका पतिको सवारी दुर्घटनामा मृत्यु भएको थियो । प्रहरी अनुसन्धानले छोराको मृत्युपछि प्राप्त हुने बिमा रकमको लोभमा परिवारका सदस्यले सुस्मिताको हत्या गरेको देखाएको छ । धेरैजसो घटनामा श्रीमान्को अनुपस्थिति वा श्रीमान्को असहयोगी व्यवहार मुख्य कारक देखिँदै आएको छ । यसरी मृत्युवरण गरेकामध्ये धेरैजसो घरभित्रकै काममा सीमित हुनुपर्ने, स्वतन्त्रताको अभ्यास गर्न नपाउने र आर्थिक रूपमा अरूको मुख ताक्नुपर्ने परिबन्दमा परेका बुहारीहरू देखिन्छन् ।

रौतहट गुजरा नगरपालिका–८ मा २०७५ माघ दोस्रो साता १८ वर्षीया राहनी खातुनको रहस्यमय मृत्यु भयो । परिवारका सदस्य नै भागेपछि माइती पक्षले उनीहरूले नै हत्या गरेर फरार भएको आरोप लगायो । उनका श्रीमान् अजहरुद्दिन एक वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतारमा थिए । राहनीको मृत्युपछि उनका माइतीले ससुरा सोहेब मिया दर्जी र सासू सेरातुन खातुनले शारीरिक र मानसिक यातना दिएर हत्या गरेको आरोप लगाए । यस्तै, घटना २०७५ वैशाख १९ मा काभ्रेको चौरी देउरालीमा पनि देखियो । १८ वर्षीया विपना ढकालको मृत्यु आफ्नै ससुरा पदमलाल चौलागाईंले हानेको चिर्पटका कारण भयो । घर झगडा चर्कंदै गएका बेला ससुरा उनीमाथि जाइलागेका थिए । घटनाका बेला विपनाका श्रीमान् घरमा थिएनन् ।

यस्ता शंकास्पद मृत्युका घटनामा माईती पक्षले देखाएर आत्महत्या दुरुत्साहनको घटनामा मुद्दा दर्ता गर्ने क्रम भने बढेको छ । यस्तो सक्रियताले बुहारीले घरभित्र भोगिरहेका अनेक घटनालाई सतहमा ल्याएको छ । शंकास्पद मृत्युका घटनालाई कानुनी अनुसन्धानको दायरामा पनि खिचेको छ । महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन २०७६/७७ का अनुसार यो आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका ७३ र नयाँ दर्ता भएका १७७ गरी २ सय ५० वटा आत्महत्या दुरुत्साहनको मुद्दा अदालतमा पुगेको छ । जसमध्ये यो आवमा ९२ मुद्दामा फैसला भएको थियो । जसमा २५ वटा आत्महत्या दुरुत्साहनको घटनामा अदालतले दोषी ठहर गरेको थियो ।

सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी दाइजो प्रथा, घरेलु हिंसा र बुहारीलाई सताएपछि हुने घटनालाई केन्द्रमा राखेर यो कानुन निर्माण गरिएको बताउँछन् । उनको भनाइले पनि आत्महत्या दुरुत्साहनका अधिकांश मुद्दामा बुहारीको शंकास्पद मृत्युको घटना जोडिएको देखिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख छ । सोही दफाको उपदफा १ मा यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बुहारीहरूको मृत्युका अधिकांश घटनामा घरेलु हिंसाको कारण जोडिने गरेको बताए । ‘शंका, डिप्रेसन, श्रीमान्सँगको सम्बन्धमा देखिने उचारचढाव पनि बुहारीहरूको मृत्युको कारण बन्ने गरेको छ,’ उनले भने, ‘पहिलेजस्तो बुहारीको मृत्युका घटना गुपचुप नहुने बरु कथित इज्जत र प्रतिष्ठा नभनी न्यायका निम्ति प्रहरीकहाँ पुग्ने प्रवृत्ति भने बढेको छ ।’ बुहारी मृत्युका धेरैजसो घटनामा सामाजिक सञ्जाल, युट्युब र सडकबाट दबाब दिने प्रवृत्ति पनि देखिन थालेको उनको भनाइ छ । ‘विवाद नहोस् भनेरै हामीले बुहारीको मृत्युका घटनाको प्रारम्भिक अनुसन्धानदेखि नै माइती पक्षलाई अनिवार्य बोलाउन थालेका छौं,’ उनले भने ।

त्रिचन्द्र कलेजकी उपप्राध्यापक समाजशास्त्री मीना उप्रेती परिवारभित्र बुहारीहरूको स्थान सबैभन्दा पुछारमा रहेको बताउँछिन् । ‘बुहारीलाई पनि काम गर्दा थकाइ लाग्छ, उसका पनि रहरहरू छन् भनेर बुझ्ने पारिवारिक संरचना नभएसम्म यस्ता घटनामा कमी आउँदैन, बुहारीसँग जोडिएका सामाजिक मूल्य र मान्यता अत्यन्तै कठोर छन्,’ उनले भनिन् ।

प्रकाशित : भाद्र ३०, २०७८ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×