कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१० करोडको सिँचाइ योजना तहसनहस

७ वर्षसम्म मर्मत नहुँदा किसानलाई सिँचाइका लागि सास्ती भोग्नुपर्ने बाध्यता
विप्लव महर्जन

सल्यान — साविकको सिँचाइ डिभिजन कार्यालयको १० करोड रुपैयाँ बजेटबाट २०६३ मा निर्माण सुरु गरिएको कालीमाटी गाउँपालिका–६ काप्रेचौर सिँचाइ योजनाको अधिकांश भाग तहसनहस भएको छ । सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको बेला ०७१ साउन २८ गते बबई नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । तर ७ वर्षसम्म मर्मत नहुँदा किसानलाई सिँचाइका लागि सास्ती भोग्नुपर्ने बाध्यता छ । 

१० करोडको सिँचाइ योजना तहसनहस

कालीमाटी गाउँपालिका–६ स्थित काप्रेचौर, घुइयाबारी र र्‍याङमा सिँचाइ सुविधा पुर्‍याउन योजना सुरु गरिएको थियो । बबई नदीमा आएको बाढीले योजनाको झण्डै ६० प्रतिशत मागमा क्षति पुर्‍याएको थियो । योजना तहसनहस बनेपछि काप्रेचौरका ७ सय परिवार करिब ३ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ गर्नबाट बञ्चित भएका छन् । योजनामा करिब ५ सय मिटर सुरुङ खनी बिजुली उत्पादन गरेर बत्ती बाल्ने योजना अघि सारिएको थियो ।

साविक सिँचाइ कार्यालयले ५ खण्डमा विभाजन गरी ठेकेदारमार्फत योजनाको काम अघि बढाएको थियो । अहिले केही स्थानमा मात्र सिँचाइ नहरको पर्खाल देख्न सकिने स्थानीय नारायण सुनारले बताए । ‘सिँचाइ सुविधा भए गाउँ आसपासका जग्गामा वर्षमा ३ बाली लगाउन सकिन्थ्यो, अहिले सबै खेतहरू पाखोबारीमा परिणत भएका छन्,’ उनले भने, ‘लामो समयदेखि सिँचाइ हुन छाडेपछि अधिकांश खेतमा घाँस उम्रिन थालेको छ ।’ उनले आकाशे पानीको भरमा मात्र गाउँमा खेती भइरहेको बताए । सिँचाइकै कारण उर्वर फाँट बाँझो राख्नुपर्ने बाध्यता भएको उनको गुनासो छ ।

वर्षभरि खान पुग्ने खेत बाँझै भएपछि जीविकोपार्जनमा समस्या भएको अर्का किसान रेसम चनाराले बताए । ‘परम्परागत खेतीमा निर्भर भए पनि बर्षेनि जीविकोपार्जनको चिन्ता हुन्छ,’ उनले भने, ‘सिँचाइ भए व्यवसायिक तरकारी खेती पनि गर्न सकिन्थ्यो ।’ राजनीतिक पहुँच नहुँदा सिँचाइ योजना अलपत्र परेको उनको गुनासो छ । उनका अनुसार योजनामा स्थानीय किसानले झण्डै एक महिना श्रमदानसमेत गरेका थिए ।

जिल्लाको बिकट मानिने र हिउँदमा मात्र गाडी चल्ने घुइयाबारी क्षेत्रमा प्रसस्त मात्रामा खेतीयोग्य जग्गा छ । तर सिँचाइ असुविधाका कारण उब्जनी नहुँदा बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता भएको स्थानीय टेकबहादुर रानाले बताए । अहिले योजना नेताको चुनाबी एजेन्डा मात्र बनेको उनको भनाइ छ । ‘चुनावको बेला अधिकांश नेताले सिँचाइ योजना बनाउने बाचा गर्छन,’ उनले भने, ‘तर चुनाव जितेपछि फर्केर पनि हेर्दैनन् ।’ उनले योजना सम्पन्न नहुँदा बिजुली बाल्ने सपना पनि पूरा नभएको बताए । उनका अनुसार गाउँका अधिकांश परिवारमा सल्लेझर्रो र टुकी बाल्नुपर्ने बाध्यता छ । हुनेखानेले मात्र सोलार जडान गरी बिजुली बालेको उनले बताए ।

आफ्नै बालीमा लगाएको अन्नले वर्षभरि नपुग्दा जीविकोपार्जनका लागि युवालाई भारतमा मजदुरी गर्न पठाउनुपरेको चनाराले गुनासो गरे । ‘सिँचाइ नहुँदा खेतहरू बाँझिने क्रम बढेको छ,’ उनले भने, ‘खेतहरू पशुचौपायाको चरन क्षेत्र बन्न थालेका छन् ।’ खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका अनुसार आयोजनाको मर्मतका लागि रकम माग गरिए पनि केन्द्रले नै योजना रद्द गरेकाले समस्या भएको हो ।

जिल्लाका अन्य एक दर्जन ठूला सिँचाइ योजना पनि बजेट अभावका कारण अलपत्र परेको कार्यालयका प्रमुख पदमराज देवकोटाले बताए । कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले संघीय सरकारको बेवास्ताले सिँचाइ योजना मर्मतमा समस्या भएको बताए । ‘हामीकहाँ आउने सीमित बजेटले यत्रो योजना मर्मत र पुनःनिर्माण गर्न सकिँदैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारसँग पटकपटक योजना निर्माणका लागि माग गरिएको छ, तर माथिल्ला सरकारले बेवास्ता गरिरहेका छन् ।’ उनले चालु आर्थिक वर्षको बजेटबाट काप्रेचौर, घुइयाबारी र र्‍याङमा सिँचाइ सुविधा पुर्‍याउन योजना मर्मत गरिने जानकारी दिए ।

प्रकाशित : भाद्र २५, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×