कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकालाई वैकल्पिक सिकाइ सामग्री वितरण

कालीकोट — रास्कोट, नरहरिनाथ र सान्नीत्रिवेणी गाउँपालिकाका बालबालिकालाई वैकल्पिक सिकाइ सामग्री वितरण गरिएको छ । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइस्तर कमजोर भएपछि वैकल्पिक सिकाइ पुस्तिकाहरू वितरण गरिएको हो । 

बालबालिकालाई वैकल्पिक सिकाइ सामग्री वितरण

अहिले कालीकोटका सबै स्थानीय तहले विद्यालय सञ्चालन गरिसकेको भए पनि वैकल्पिक सिकाइ सामग्रीले बालबालिकाको छुटेको पढाइलाई निरन्तरता दिन सहयोग गर्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाले बताए । उनका अनुसार ३ गाउँपालिकाका ३४ विद्यालयमा सिकाइ पुस्तिकाहरू वितरण गरिएको छ ।

प्लान नेपालको सहयोगमा सञ्चालित कर्णाली शिक्षा परियोजनाले पुस्तक छपाइमा सहयोग गरेको हो । तिलागुफाका ३४ र शुभकालिकाका २९ विद्यालयलाई सहयात्रा परियोजनाले वैकल्पिक सामग्री सहयोग गरेको इकाइले जनाएको छ ।

अभिभावकको सहयोगमा घरमै गर्न सकिने सिकाइ क्रियाकलाप, अक्षर लेखन किताब, चित्र बनाउने र खेलका सामग्री विद्यार्थीलाई वितरण गरिएको संस्थाकी सिकाइ विशेषज्ञ जानुका घिमिरेले बताइन् । उनका अनुसार बाल विकास केन्द्रदेखि कक्षा ८ सम्मका ७ हजार ५ सय बालबालिकालाई सिकाइ सामग्री उपलब्ध गराइएको छ ।

शिक्षण सामग्रीले बालबालिकाको अतिरिक्त क्रियाकलापलाई पनि सहयोग पुर्‍याउने मेहेलमुडीस्थित पञ्चदेवल माविकी प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताइन् । ‘विद्यालय बिदा भएको बेला पनि बालबालिकाले यी सिकाइ सामग्रीबाट धेरै ज्ञान सिक्न सक्छन्,’ उनले भनिन्, ‘अभिभावकले पनि बालबालिकालाई सहजीकरण गर्न सक्ने गरी पुस्तकहरू तयार पारिएको छ ।’

प्रकाशित : भाद्र २३, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?