२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सेती खोलामा सर्भे भयो, बजेट आएन

२०३९ मा सर्भे गरिएको आयोजनाको २०७२ मा डीपीआर गरियो तर अहिलेसम्म बजेट छुट्याइएको छैन 
विप्लव मर्हजन

सल्यान — शारदा नदीमा बाँध बाँधेर निर्माण गर्ने भनिएको ९२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना अलपत्र परेको छ । कालीमाटी–३ मा डीपीआरसमेत भइसकेको उक्त आयोजनाका लागि बजेट नपर्दा लामो समयदेखि काम भएको छैन ।

सेती खोलामा सर्भे भयो, बजेट आएन

संघीय सरकारले शारदा नदीस्थित सेतीखोलामा बाँध बनाएर दाङको पुन्धारास्थित सल्लेरीमा पानी झारी त्यहीबाट बिजुली निकाल्ने गरी डीपीआर गरेको थियो । २०३९ मा सर्भे गरिएको आयोजनाका लागि २०७० देखि विशेष चासो दिइएको थियो । २०७२ मा डीपीआर गरिएको आयोजनामा अहिलेसम्म एक रुपैयाँ पनि छुट्याइएको छैन । आयोजनामा सरकारले बेवास्ता गरेको काल्चेका पुरुषोतम भट्टराईले बताए । ‘सरकारले डीपीआर पनि गरेको हो, जसका लागि लगत संकलन पनि गरिएको छ,’ उनले भने, ‘तर निर्माणका लागि बजेट भने छुट्याइएन ।’ उनले आयोजना बने जिल्लाको विकासले फड्को मार्ने बताए ।

डीपीआरअनुसार कालीमाटी गाउँपालिका–३ सेतीखोलास्थित शारदा नदीमा बाँध बाँध्दा सेतीखोला देखि कालीमाटी गाउँपालिका–१ चंखेनीसम्मको करिब ६ किमी क्षेत्रफल डुवानमा जनाइएको छ । डीपीआरमा ड्यामको गहिराइ १ सय २१ मिटर हुने उल्लेख छ । डुवान क्षेत्रमा पर्ने रामपुर आसपासका करिब ६ सय परिवारलाई मुआब्जा दिनुपर्ने प्राविधिक टोलीले निष्कर्ष निकालेको थियो ।

आयोजना कागजमा मात्र सीमित रहेपछि स्थानीस्तरकै बत्ती बाल्ने सपना अधुरो बनेको स्थानीय केशव घर्तीले बताए । ‘यही ठूलो लगानीको विद्युत् उत्पादन भए स्थानीयस्तरमा रोजगारी पाइन्थ्यो,’ उनले भने, ‘अन्य विकास निर्माणका ढोका पनि खुल्थे ।’ उनले विद्युत् आयोजना निर्माण भए स्थानीय स्तरमा ठूला कलकारखाना खोलेर युवालाई रोजगारी दिन सकिने बताए ।

जिल्लामा २०४० देखि केन्द्रीय प्रशारण लाइन जोडिएको हो । कालीमाटी गाउँपालिकाको केन्द्र यो वर्ष मात्र प्रशारण लाइनमा जोडिएको छ । तर अन्य ग्रामीण क्षेत्रका बासिन्दा अझै विद्युत् सुविधाबाट वञ्चित छन् । ‘गाउँमा अझै पनि सल्लाको झर्रो बाल्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हुनेखानेले मात्र सोलार जोड्न सकेका छन् ।’ आयोजनाबाट गाउँपालिकामा ठूलो धनजनको क्षति हुने देखिएपछि अनुमति नदिइएको कालीमाटी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?