गत वर्ष २५ रुपैयाँ प्रतिकिलो बिक्री भएपछि शारदा नगरपालिका–२ जोगदेखोलाका कृष्ण श्रेष्ठले यस वर्ष ६ रोपनी बारीमा बन्दा लगाए । बन्दा राम्रै फले पनि बजारको अभावमा बारीमै सुकेको छ । गत असोज र वैशाखमा उत्पादन भएको बन्दा नबिकेपछि उनले ६ लाखभन्दा बढीको नोक्सानी बेहोर्नु परेको छ ।
बिहीबार राति सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर वन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ७, लामसराकी ५३ वर्षीया रामकली कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सल्यान जिल्ला अस्पतालमा दुई सातादेखि बन्द रहेको शल्यक्रिया सेवा सुचारु भएको छ । अस्पतालमा नयाँ विशेषज्ञ चिकित्सक आएपछि शल्यक्रिया र जटिल प्रसूति सेवा पुनः सञ्चालनमा आएको हो ।
सल्यानको मुख्य पर्यटकीय गन्तव्य कुपिण्डेताल संरक्षणका लागि आसपासका खहरे खोलामा तटबन्ध गरिएको छ । खोलाले बगाएर ल्याएको ढुंगामाटोका कारण ताल पुरिँदै गएपछि तटबन्ध गरिएको हो ।
शारदा नदीमा बाँध बाँधेर निर्माण गर्ने भनिएको ९२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना अलपत्र परेको छ । कालीमाटी–३ मा डीपीआरसमेत भइसकेको उक्त आयोजनाका लागि बजेट नपर्दा लामो समयदेखि काम भएको छैन ।