बाघले सर्वसाधारणको ज्यान उच्च जोखिममा परेपछि जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको छलफलपछि नरभक्षी बाघ पक्रन तथा मार्न आदेश जारी गरिएको हो।
What you should know
सल्यान — सल्यानको कालिमाटीमा सातामा तीन जनाको ज्यान लिएर आतंक मच्चाइरहेको बाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ ।
बाघले सर्वसाधारणको ज्यान उच्च जोखिममा परेपछि जिल्ला सुरक्षा समितिका पदाधिकारीसँगको छलफलपछि नरभक्षी बाघ पक्रन तथा मार्न आदेश जारी गरिएको हो।
बाँके राष्ट्रिय निकुञ्जबाट निस्केको नरभक्षी बाघले सल्यानको कालिमाटी गाउँपालिका ७ घुईयाबारी र सुर्खेतको सिमानामा पर्ने गेरुवानीमा पुस २३ गते घाँस काटन घरनजिकैको जंगलमा गएका सुर्खेतको भेरीगंगा नगरपालिका ५ गेरुवानीकी ५७ वर्षीया गंगादेवी सारुमगरको ज्यान लिएको थियो।
पुस २५ गते दाउरा लिन घरनजिकै जंगलमा गएकी सल्यानको कालिमाटी गाउँपालिका ७ की ४२ वर्षीया धनसरी रावत र २८ गते घट्टबाट घर फर्कँदै गरेका वडा ६ को हात्तीढुंगाका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको ज्यान लिएको थियो । त्यत्ति मात्र नभई बाघले स्थानीयको चौपाया समेत मारेको थियो ।
बाघले आतंक मच्चाएपछि कालिमाटी गाउँपालिका ५, ६ र ७ का स्थानीय घरबाट बाहिर समेत निस्कन समेत डराएका छन्।
स्थानीयको ज्यान जोखिममा परेपछि वडा कार्यालय र कालिमाटी गाउँपालिकाले मान्छे मार्ने बाघलाई मार्न सिफारिस गरेको थियो। पालिकाले सिफारिस गरेपछि सुरक्षा समिति अनौपचारिक छलफलपछि बाँके राष्ट्रिय निकुन्जलाई पत्राचार गर्दै आदेश कार्यान्वयनका लागि अनुरोध गरिएको थियो ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० क र ख तथा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ क बमोजिम गठित समिसतिको सिफारिसको उक्त बाघ पक्रन तथा मार्न आदेश जारी गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए। आदेश अनुसार जिल्लाको सुरक्षा टोलीले बाघ पक्राउ तथा मार्न सक्ने उनले जानकारी दिए।
