कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले सल्यानका सडक ठाउँठाउँमा अवरुद्ध

विप्लव महर्जन

सल्यान — पहिरो जाँदा सल्यानका सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् । सल्यान खलंगादेखि कर्णाली प्रदेशको राजधानी सुर्खेत जाने खलंगा बालुवा संग्रही, मदन भण्डारी राजमार्ग अन्तर्गत कालीमाटी–बोटेचौर र छिन्चु–जाजरकोट र सल्लीबजार–चौरजहारी सडक बिहानैदेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् । अवरुद्ध सडक समयमै खुल्न नसक्दा बिरामी भएकालाई उपचार गर्न लैजान झनै कठिनाई भएको छ । 

पहिरोले सल्यानका सडक ठाउँठाउँमा अवरुद्ध

लगातार परेको वर्षातका कारण सडकमा खसेको पहिरो समयमै हटाउन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ गोविन्द थापाले बताए । खलंगा–बालुवा संग्रही सडक खण्डमा दुई स्थानमा र छिन्चु–जाजरकोट सडक खण्डको रैकर नजिकै र सल्लीबजार–चौरजहारी सडक खण्डको नाथेखोलामा झन्डै ५० मिटरमाथिबाट पहिरो खसेको उनले जानकारी दिए । उनका अनुसार पहिरो खसिरहेकाले यात्रुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

खलंगा–बालुवा संग्रही, छिन्चु–चौरजहारी सडकमा पहिरो हटाउन अहिले एक्सकाभेटर पठाइएको र कालीमाटी–बोटेचौर सडक खण्डमा निर्माणको काम गर्दै आएको कालिका जेभी कन्ट्रक्सनले एक्सकाभेटर लगाइरहेको उनले बताए । ‘लगातार दुई दिनदेखि भएको वर्षातका कारण हिलाम्मे भएपछि जिल्लाका अधिकांश कच्ची सडकमा नियमित गाडी संचालन हुन सकेका छैनन्,’ उनले भने ।

सडकमा खसेको पहिरो हटाउन सम्बन्धित निकायले ध्यान नदिएका कारण बिहानैदेखि चाउचाउको भरमा बाटैमा बस्नुपरेको चौरजहारीबाट नेपालगन्ज जाँदै गरेका २५ वर्षीय यात्रु निराजन खड्काले बताए । चौरजहारीबाट आइतबार हिँडेका उनले ठाँउ–ठाँउमा पहिरो गएको र हिलाम्मे भएका कारण अहिलेसम्म गन्तव्यमा पुग्न नसकेको बताए । सम्बन्धित निकायको लापरबाहीका कारण आफूहरुले वर्षातको समयमा विभिन्न किसिमका कष्ट उठाउँदै आएको उनको भनाइ छ ।

खलंगा–बालुवा संग्रही सडकमा ठेकेदार कम्पनीले सडक चौडा बनाउने काम गरिरहेकाले हल्का पानी परे पनि पहिरो खस्ने गरेकाले दैनिकजसो सडक अवरुद्ध हुँदै आएको हर्कबहादुर रोकाले बताए । ठेकेदार कम्पनीले सडक चौडा गराउने क्रममा निस्केको ढुंगा, माटो समयमै व्यवस्थापन नगर्दा आउजाउमा कठिनाइ हुने गरेको उनले बताए । माथिबाट खसेको पहिरो र हिलोले गर्दा स्थानीय सडकहरु झन्डै सातादेखि नै प्रयोगविहीन रहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १४, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?