कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कर्णालीमा नेपाल पक्षका नेता ढुलमुल

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेशमा एकीकृत अवस्थामा बलियो रहेको माधव नेपाल समूहले पार्टी विभाजनपछि आफ्नो सम्पूर्ण शक्ति लिन सकेको छैन । नेपाल समूहका केही नेताले धारणा बनाइ नसकेको बताएका छन् ।

कर्णालीमा नेपाल पक्षका नेता ढुलमुल

१०औं महाधिवेशनमा एमालेका निर्वाचित १० जिल्ला अध्यक्षमध्ये ७ जना नेपाल समूहमा थिए । नेपाल समूहमा रहेका मुगु, जुम्ला र रुकुमका अध्यक्षमात्र नेकपा एमाले (समाजवादी) मा खुलेर लागेका छन् । तत्कालीन अवस्थामा नेपाल समूहमा रहेका सुर्खेतका ध्रुवकुमार शाही, जाजरकोटका करवीर शाही र हुम्लाका दल रावल एमालेमै छन् ।

सुर्खेतका शाही संघीय र अन्य दुईजना प्रदेश सांसद हुन् । नेपाल समूहमा रहेका डोल्पाका जिल्ला अध्यक्ष दत्तबहादुर रोकायाको मृत्यु भइसकेको छ । केही महिना अघिसम्म नेपाल समूहमा रहेका सुर्खेतका जिल्ला अध्यक्ष शाहीले एमालेभित्र समूहगत विभाजित भए पनि पार्टी विभाजनपछि एमालेमै रहेको बताए ।

नेपाल समूहमा रहेका प्रदेशसभा सदस्य पनि केही ओलीतिर त केही तटस्थ बसेका छन् । एमालेबाट निर्वाचित २० सांसदमध्ये नेपाल समूहमा ९ र ओली समूहमा ११ जना थिए । तीमध्ये ४ जनालाई एमालेले यसअघि नै पार्टीबाट निष्कासन गरिसकेको छ । १६ सांसदमध्ये मुगुका चन्द्रबहादुर शाही र रुकुम पश्चिमकी देवी ओलीलाई एमाले समाजवादीको केन्द्रीय कमिटीमा राखिएको छ । शाहीले भने अहिले आफू कुनै पनि दलमा नरहेको बताए । नेपाल समूहमा रहेका सांसद जाजरकोटका करवीर शाही (जिल्ला अध्यक्षसमेत) र सुर्खेतकी पदमा खड्का एमालेमै रहेका छन् ।

यस हिसाबले कर्णाली प्रदेशसभामा एमालेमा स्पष्टत: १४ सांसद देखिएका छन् । एमालेद्वारा सांसदमुक्त भए पनि कर्णाली प्रदेश सरकारमा मन्त्री रहेका दैलेखका अम्मरबहादुर थापाले हिजो नेपाल समूहमा लाग्दा जनप्रतिनिमूलक पद जान्छ भन्ने डरले चुपचाप बसेकाहरु अब खुलेर एमाले समाजवादीतर्फ लाग्ने बताए । ‘हामी पार्टी निर्माणमा लागिसकेका छौं, हाम्रो हिजोको शक्ति थप बढेर जान्छ,’ उनले भने, ‘कर्णालीमा एमालेभन्दा एमाले समाजवादीको अवस्था मजबुत हुनेछ ।’

कर्णालीमा एमालेबाट निर्वाचित स्थानीय तहका ५९ (प्रमुख २७ र उपप्रमुख ३२) जनप्रतिनिधिमध्ये नेपाल समूहमा ३० र ओली समूहमा २९ जना थिए । पार्टी विभाजनपछि भने नेपाल समूहका अधिकांस जनप्रतिनिधिले आफ्नो कित्ता स्पष्ट पारिसकेका छैनन् । ‘भोलि नयाँ पार्टीको अवस्था के कस्तो हुने हो, कानुनी रुपमा कति कठिन हुने हो भन्ने अन्योल भएकोले पनि एमाले समाजवादीमा जान सहज छैन,’ नेपाल समूहमा रहेका स्थानीय तहका एक प्रमुखले भने, ‘हामी त अहिले हेर र पर्खको अवस्थामा छौं ।’

प्रकाशित : भाद्र २, २०७८ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×