३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

दिनहुँ पहिरो, यात्रुलाई सास्ती

विप्लव महर्जन

सल्यान — राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि एक किलोमिटर टाढा दैनिकजसो खस्ने गरेको पहिरोले यात्रुलाई सास्ती भएको छ । वर्षा हुनेबित्तिकै खस्ने पहिरोले सडक हिलाम्य मात्र नभई लामो समय अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो । 

दिनहुँ पहिरो, यात्रुलाई सास्ती

राप्ती राजमार्गको कपुरकोट क्षेत्रमा सडक साँघुरो भएकाले सडक डिभिजन कार्यालय दाङले डबल कटिङको काम गरिरहेको र वर्षातको समयमा पानी पर्नेबित्तिकै लगातार पहिलो खस्ने गरेको छ । सडक अवरुद्ध हुँदा यात्रु बाटोमै तीन/चार घण्टा अलपत्र पर्दै आएका छन् भने केही लामो समय हिँडेर आउजाउ गर्न बाध्य छन् ।

वर्षात भएमा ओत लाग्ने ठाउँ नहुँदा यात्रु पानीमै भिज्न बाध्य हुँदै आएका छन् । त्यत्ति मात्र नभई पहिरो ग्रस्त क्षेत्र नजिकै पसल नभएकाले यात्रुले भोकै बस्नुपर्ने अवस्था आएको छ भने रातिको समयमा यात्रुलाई झनै गाह्रो हुने गरेको छ । अवरुद्ध मात्र नभई पहिरोले हिलाम्य सडकका कारण दुर्घटना हुने खतरा बढेकाले आउजाउ गर्ने यात्रुहरू थप जोखिममा परेका छन् ।

दुई दिनदेखि वर्षा भइरहेकाले दैनिकजसो खस्ने पहिरोले सडक अवस्द्ध हुँदा कपुरकोटबाट तुलसीपुर पुग्न आधा घण्टा समय लाग्नेमा सात घण्टा लागेको कपुरकोट गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्रकुमार सेनले बताए । सडक अवरुद्ध हटाउन दुईवटा डोजर लागिरहे पनि पहिरोका कारण झन्डै ५ घण्टा एकै स्थानमा रोकिनुपरेको उनले जानकारी गराए । ‘हिलाम्य सडक भएकाले मोटरसाइकल चिप्लिएर दुर्घटना हुने भएकाले तीन/चार जनाको सहयोगमा झन्डै एक किलोमिटर डोर्‍याउनुपरेको थियो,’ उनले भने ।

जंगलको बीचमा पर्ने क्षेत्रमा दैनिक जसो हुने सडक अवरुद्ध तथा हिलाम्य भएकाले अति आवश्यक कामभन्दा अन्य समयमा निजी सवारीसाधन पनि रातिको समयमा गुड्न छाडेको कपुरकोटकै तीलक शर्माले बताए । पहिरोग्रस्त क्षेत्रमा सडक साँघुरो भएकाले वर्षा नभएका बेला पनि जाम हुने समस्याले सताइरहेको उनले जानकारी गराए । उनका अनुसार सडक डिभिजन कार्यालय दाङले सडक चौडा बनाउन लगाएको डोजरले जमिन खल्बलिएका कारण पहिरो जाने गरेको हो । कोही बिरामी भएमा बाहिर लैजानुपर्दा झनै गाह्रो भएको र लामो समय एकै ठाउँमा रोकिएर बस्नुपर्दा उपचारको अभावमा बिरामीको बाटैमा मृत्यु हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

एक महिनाअघि वर्षाका कारण खसेको पहिरोले कपुरकोटनजिकै चारवटा गाडी आधा पुरिएको यात्रु नवीन रोकाले बताए । अहिले पनि सडकको अवस्था उही रहेकाले जोखिम पनि त्यत्तिकै भएको उनले जानकारी गराए । ‘सम्बन्धित निकायले पहिरो पन्छाउन २४ सै घण्टा पहिरोग्रस्त क्षेत्रमा दुई डोजर राखे पनि खासै प्रभाव पर्न सकेको छैन ।

डोजर पहिरो हटाउनमै व्यस्त रहने गरेका छन् । डोजरले पहिरो हटाउँछ । आधा घण्टा नहुँदै फेरि खस्छ,’ उनले भने । रुकुम, सल्यान तथा रोल्पाबाट दाङको तुलसीपुर जान वैकल्पिक मार्ग नभएकाले समस्या भएको र यात्रुले विभिन्न किसिमका सास्ती भोग्नुपरेको उनको भनाइ छ ।

पहिरो गएको क्षेत्रमा डोजरले पन्छाए पनि सडक हिलाम्य भएकाले गाडीको टायर चिप्लने गर्दा दुर्घटना हुने खतरा रहेकाले धेरै सावधानीपूर्वक गाडी चलाउनुपरेको गाडी व्यवसायी निर्मल बोहराले बताए । पहिरोका कारण एकै स्थानमा दैनिक तीन–चार घण्टा सडक अवरुद्ध भइरहने गरेकाले आउजाउमा कठिनाइ भएको उनले जानकारी गराए ।

प्रकाशित : श्रावण ३२, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?