२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

छोरा नजन्माएको निहुँमा यातना

कान्तिपुर संवाददाता

दैलेख — छोरा नजन्माएको भन्दै चार महिनाकी सुत्केरीलाई उनका श्रीमान्ले नै यातना दिएका छन् । दैलेखको भैरवी गाउँपालिका–५ गौरीसल्लाकी २६ वर्षीया हस्तना नेपालीलाई उनका श्रीमान् दिपकले बोक्सीको आरोप लगाउँदै यातना दिएका हुन् । दीपकले कुटपिट गरी बेहोस बनाई आगोको गोलले मुख र ढाडमा पोलेपछि हस्तना गम्भीर घाइते भएकी छन् । 

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बिहीबार राति खाना पकाउँदै गरेको बेला श्रीमान्ले बोक्सी भन्दै कुटपिट गरी शरीरमा पोलेको उनले बताइन् । ‘धेरै पिटेपछि बेहोस भएछु,’ उनले भनिन्, ‘ढाड पोलेको त थाहा भएन, मुखमा आगो परेपछि होस आयो ।’ चार वर्षअघि विवाह गरेकी उनले पतिले दैनिकजसो यातना दिने गरेको बताइन् । उनीहरूका दुई छोरी छन् । हस्तनाको बायाँतिरको पुरै अनुहार जलेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार छाती र टाउकोमा ठूलो चोट लागेकाले उनलाई बोल्न समस्या छ ।

हस्तनाको शरीरको १२ प्रतिशत भाग पोलिएको अस्पतालका डा. जगत थापाले बताए । ‘ढाडमा धेरै पोलिएको छ,’ उनले भने, ‘टाउको थिचिएको रहेछ, उपचारपछि उनी क्रमशः निको भइरहेकी छिन् ।’ पीडितका दाजु रविन्द्र नेपालीले दैनिकजसोको यातनाले बहिनी लामो समयदेखि मानसिक समस्यामा परेको बताए । ‘अरु केटीसँग सम्बन्ध भएपछि छोरी जन्माएको निहुँमा बहिनीलाई दैनिकजसो यातना दिने गरेको रहेछ,’ उनले भने, ‘परिवारका अन्य सदस्यले पनि यातना दिने गरेको पाइयो ।’ दिपकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताए । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

दैलेखको भैरवी–५ गौरीसल्लाकी हस्तना नेपालीको जिल्ला अस्पतालमा उपचार गरिँदै । तस्बिर : ज्योति कटुवाल/कान्तिपुर

प्रकाशित : श्रावण २६, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?