मह उत्पादन घट्यो

कान्तिपुर संवाददाता

सल्यान — एक दशकदेखि मौरीपालन व्यवसाय गरिरहेका कालीमाटी गाउँपालिका–३ झिगानेका लोकेन्द्रबहादुर ओलीले गत वर्ष १४ क्विन्टल मह उत्पादन गरे । ७ सय रुपैयाँ प्रतिकिलो बिक्री गर्दा उनको कमाइ ९ लाख ८० हजार रुपैयाँ भयो । तर यो वर्ष २ क्विन्टल मात्र मह उत्पादन भएको छ । गत वर्ष महबाटै ४ लाख रुपैयाँ कमाएका उनका छिमेकी वेदबहादुर ओलीले यो वर्ष एक क्विन्टल मात्र मह उत्पादन गरे ।

मह उत्पादन घट्यो

कालीमाटी गाउँपालिकाका सामुदायिक र राष्ट्रिय वनमा झुसिलकिराको प्रकोप बढेपछि आसपासका क्षेत्रमा मह उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । चिउरीका फूलहरू फुल्न नपाउँदै किराले नष्ट गरेको कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए । उनका अनुसार मौरीपालनको पकेट क्षेत्र मानिएको कालीमाटीमा मह उत्पादन झन्डै ६० प्रतिशतले घटेको छ । गाउँपालिकामा मात्रै एक सय ५० किसानले व्यावसायिक मौरीपालन गरिरहेको उनले जानकारी दिए ।

मौरीका लागि चिउरीको फूल उत्तम आहारा मानिन्छ । मौरीलाई चरन क्षेत्रको अभाव भएपछि उत्पादनमा गिरावट आएको किसान लोकेन्द्रबहादुर ओलीले बताए । ‘यहाँका मौरीका लागि चिउरीको फूलको विकल्प छैन,’ उनले भने, ‘तर चिउरी नफुल्दै झुसिलकिराले नष्ट पारेपछि चरन क्षेत्रको अभाव भयो ।’ चरन क्षेत्रको अभावकै कारण यो वर्ष उत्पादन घटेको उनको भनाइ छ । गत वर्ष चार क्विन्टल मह उत्पादन गरेका उनले यो वर्ष मुस्किलले एक क्विन्टल मात्र मह उत्पादन भएको बताए ।

सल्यानमा गत वर्ष १२ मेट्रिक टन मह उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष करिब ७ मेट्रिक टन मात्र मह उत्पादन भएको छ । जिल्लाभरि झन्डै एक हजार किसान मौरीपालन व्यवसायमा आश्रित छन् । वनमा फैलिएको झुसिलकिराले मौरीपालन व्यवसाय नै संकटमा परेको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । उनका अनुसार गाउँपालिकामा झन्डै ३ हजार मौरीघार छन् । ‘मह उत्पादन घट्दा किसानलाई परिवार पाल्न भारत जानुपर्ने बाध्यता आएको छ,’ उनले भने, ‘अधिकांश किसान मौरीपालन व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् ।’

प्रकाशित : श्रावण २१, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?