कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनलाइन पढाइ न नियमित कक्षा

‘पढाइ भएको भए कम्तीमा गृहकार्यको बहानाले घरमा पढिन्थ्यो’
राजबहादुर शाही

मुगु — गमगढीस्थित महाकाली माविमा कक्षा ९ मा अध्ययनरत सुवास मल्ललाई आजभोलि दिन कटाउन मुस्किल भएको छ । कोरोना महामारीका कारण गत चैतदेखि विद्यालय बन्द भएपछि उनी लामो समय घरायसी काममा व्यस्त बने । विद्यालयले अनलाइन कक्षा सञ्चालन नगरेपछि उनलाई समय कटाउनै मुस्किल भएको हो । 

अनलाइन पढाइ न नियमित कक्षा

लामो समयदेखि पठनपाठन बन्द हुँदा दुर्गम गाउँका विद्यार्थी फुर्सदिला बनेका छन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार मुगुमा विद्यालय तहमा झन्डै १६ हजार विद्यार्थी अध्ययनरत छन् । ‘अहिले त गत वर्ष पढेको सबै कुरा बिर्सियो,’ मल्लले भने, ‘अनलाइन कक्षा पनि छैन, विद्यालय पनि खुल्दैन ।’

सदरमुकाममा रहेका केही विद्यालयका विद्यार्थीले अनलाइन कक्षा पढ्न सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका विद्यार्थी लामो समयदेखि पठनपाठनबाट वञ्चित छन् । ‘गाउँमा नेट चल्दैन, कसरी अनलाइन पढ्ने ?,’ उनले भने, ‘पढाइ भएको भए कम्तीमा गृहकार्यको बहानाले घरमा पढिन्थ्यो ।’ कोरोना महामारीका कारण दुई वर्षदेखि बालबालिकाको पढाइ बिग्रिएपछि अभिभावकसमेत चिन्तित छन् ।

पठनपाठन नभएपछि ग्रामीण क्षेत्रका अभिभावकले बालबालिकालाई घरायसी काममा लगाउन थालेका छन् । ‘कहिले स्कुल सञ्चालन होला भनेर दिन गन्दै बस्नुपरेको छ,’ छायानाथरारा नगरपालिका–४ का पदम रावलले भने, ‘बच्चाहरू घरमा पढ्न मान्दैनन्, स्कुल खुल्ने टुंगो अझै छैन ।’

विद्यालय नखुल्दा बालबालिकाको बानीसमेत बिग्रिएको उनले बताए । जिल्लामा गत वर्ष असार १ गतेदेखि नयाँ शैक्षिक शत्र सुरु भएको थियो । तर यो वर्ष जिल्लाका कुनै पनि स्थानीय तहले विद्यालय सञ्चालनको निर्णय गरेका छैनन् । सबै विद्यार्थी र शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाएर मात्र विद्यालय सञ्चालन गर्नुपर्ने शिक्षक संघका अध्यक्ष जंगबहादुर शाहीले बताए ।

पुगेन पाठ्यपुस्तक जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बित्दासमेत पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक ढुवानीको जिम्मा लिएको जयलक्ष्मी स्टेसनरीको लापरबाहीले विद्यार्थीहरू पाठ्यपुस्तकबाट वञ्चित भएका हुन् । पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको घरमा पढ्ने चाहना पूरा नभएको स्थानीय अभिभावक कमल शाहीले बताए । ‘पाठ्यपुस्तक आए विद्यार्थीले कम्तीमा घरमा पढ्न त पाउँथे,’ उनले भने, ‘लगातार दुई वर्षसम्म पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीको सिकाइस्तर खस्किएको छ ।’

मुगु आउने पुस्तक प्रादेशिक कार्यालय सुर्खेतमा तयारी अवस्थामा राखिएको स्टेसनरीका प्रोपराइटर जयलक्ष्मी भामले बताए । उनका अनुसार वर्षाले सडक अवरुद्ध हुँदा पुस्तक ढुवानीमा समस्या भएको हो । नयाँ पाठयपुस्तक ढुवानीका लागि गाउँपालिकाको शिक्षा शाखाले विद्यालयको खातामा बजेट पठाउने गरेको छ । स्टेसनरीले पुस्तक ढुवानी गरी जिल्लामा पुर्‍याएपछि विद्यालयले किनेर विद्यार्थीलाई वितरण गर्ने गरेका छन् । कोरोनाका कारण मुगुको शैक्षिक क्षेत्र थला परेको इकाइ प्रमुख सूर्य खत्रीले बताए । उनका अनुसार यो वर्ष असारबाट नयाँ शैक्षिक सत्र सुरु गरिएको थियो ।

दुर्गममा होम ट्युसन

मुगुमकार्मारोङ गाउँपालिका र छायानाथरारा नगरपालिकाले विद्यार्थीको सहजताका लागि होम ट्युसन सञ्चालन गरिरहेका छन् । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि घरमै गएर बालबालिकालाई पढाउने व्यवस्था मिलाइएको हो ।

विद्यार्थीका लागि वैकल्पिक पाठ्यपुस्तकको व्यवस्था गरेर पठनपाठन सञ्चालन गरिरहेको मुगुमकार्मारोङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रावलले बताए । उनका अनुसार कक्षा सञ्चालनका लागि शिक्षक नै विद्यार्थीको घरमा पुग्ने गरेका छन् ।

विद्यार्थीको घरमै गएर पढाउने व्यवस्था मिलाउन सामुदायिक विद्यालयलाई २९ हजारदेखि १ लाख रुपैयाँसम्म बजेट निकासा गरिएको उनले जानकारी दिए । १७ सामुदायिक विद्यालयमा वैकल्पिक कक्षा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

छायानाथरारा नगरपालिकाले पनि ३८ लाख रुपैयाँ विनियोजन गरी वैकिल्पक कक्षा सञ्चालन गरिरहेको छ । सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई २ सय रुपैयाँ उपलब्ध गराएर सिम खरिद गर्न लगाई पठनपाठन सञ्चालन गरिरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख खड्ग रोकायाले बताए ।

यसैबीच, कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय नखुल्दा जिल्लाका अधिकांश विद्यालय बाँझा बनेका छन् । लामो समयदेखि पठनपाठन नभएपछि भवन, खेलमैदान, पुस्तकाल, कम्प्युटर कक्षालगायतका संरचना बाँझिएका हुन् । विद्यालयमा विद्यार्थी जान छोडेपछि अधिकांश विद्यालयका चौरमा घाँस पलाएको सर्वोदय माविका प्रधानाध्यापक लोकेन्द्र कार्कीले बताए । ‘हरेक दिन चहलपहल हुने विद्यालय चरन क्षेत्रजस्तै बनेका छन्,’ उनले भने, ‘अधिकांश कक्षाकोठामा माकुराको जालो लागेको छ ।’

प्रकाशित : श्रावण १५, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?