गोठ गएकी महिला मृत फेला- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोठ गएकी महिला मृत फेला

हरि गौतम

रुकुम पश्चिम — घर नजिकैको गोठमा गएकी महिला मृत फेला परेकी छन् । त्रिवेणी गाउँपालिका–४ स्थित छरीखोलाकी अन्दाजी २५ वर्षीया कमला खत्री खड्काको शव घर नजिकै फेला परेको हो ।

सोमबार बेलुकी कुरलखोलामा रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी उनको हत्या भएको स्थानीयले बताएका छन् ।

घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हालेर लामो समय नफर्केपछि उनको खोजी गरिएको थियो । खोज्ने क्रममा सोमबार राति नै उनको शव भेटिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिए । उनको शव भेटिएको ठाउँ नजिकै मकै र घाँस कुच्चिएको अवस्थामा भेटिएको छ । घर फर्कने बाटोभन्दा केही तल उनको शव छ । घटनास्थलको अवस्था हेर्दा झगडा परेको जस्तो देखिने वडाध्यक्ष खड्काले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठ पनि पुगेका थिए । घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए । शव रातभर प्रहरीको निगरानीमा रहेको र अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाइएको डिएसपी श्रेष्ठले बताए ।

कुकुर पुगेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ । प्रारम्भिक चरणमा घटनास्थल वरपर सोधपुछको काम भइरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण १२, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्

तीन महिनापछि अस्पताल संक्रमितमुक्त

हरि गौतम

रुकुम पश्चिम — जिल्ला अस्पताल ९७ दिनपछि कोरोना संक्रमितमुक्त बनेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्ला अस्पतालमा गत वैशाख ४ गतेदेखि संक्रमितलाई भर्ना गरिएको थियो । 


अहिलेसम्म अस्पतालमा २ सय ३२ जना कोरोना संक्रमितको उपचार भएको छ । जसमध्ये २७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । उनका अनुसार केहीलाई जिल्लाबाहिर रेफर गरिएकामा अधिकांश निको भई घर फर्किएका छन् । जिल्लाभरिमा ३३ जनाको मृत्यु भएको उनले बताए ।

अस्पतालमा कुनै समय एक दिनमै १२ जना बढी कोभिडका बिरामीहरू भर्ना हुने गरेका थिए । कोरोना फैलिन थालेपछि रोकथाम र उपचारका लागि यसलाई कोभिड विशेष अस्पताल बनाइएको थियो । कुनै बेला एकै पटकमा अस्पतालमा ४७ संक्रमितको उपचार गर्नुपर्ने अवस्था रहेकामा अहिले भने शून्यमा झरेको रावलले बताए । तेस्रो लहरलाई लक्षित गरी केही समय अस्पताललाई कोभिड विशेष अस्पताल नै रहन दिइनेछ ।

अस्पतालले राप्ती समाज अस्पताललाई भाडामा लिएर अन्य सेवा प्रवाह सञ्चालन गरिरहेको हो । स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिले जिल्लामा ७८ जना सक्रिय संक्रमित छन् । ‘अझै पनि संक्रमणको जोखिम छ,’ निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले भने, ‘त्यसैले साउनसम्मै कोभिड अस्पताल राखिनेछ ।’ अरू बिरामी थपिन पनि सक्ने सम्भावना बढ्दै गएकाले कोभिड अस्पताललाई अहिल्यै नहटाइने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण १२, २०७८ १०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×