जाजरकोट–डोल्पा सडक : सास्ती झेल्दै यात्रा- कर्णाली - कान्तिपुर समाचार

जाजरकोट–डोल्पा सडक : सास्ती झेल्दै यात्रा

हरि गौतम

रुकुम पश्चिम — यसै त हिउँदमा पनि जाजरकोट–डोल्पा सडक असजिलो छ । माथिपट्टि भीर पहरा र तलपट्टि ठूलीभेरी नदी । अधिकांश खोलामा पुल नहुँदा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका यात्रुले विभिन्न सास्ती भोग्दै आएका छन् । 

जाजरकोट–डोल्पा सडकको नलगाडमा झोलुंगे पुलबाट मोटरसाइकल तारिँदै । तस्बिर : हरि/कान्तिपुर

कहिलेकाहीं बटुवाले समेत यो सडकमा हिँड्दा सास्ती व्यहोर्नुपर्छ । सडक बनेको लामो समयसम्म ठूलीभेरी नदी र अन्य खोलामा पुल नबनाउँदा यात्रुहरू दुःख भोग्न बाध्य छन् । सडकमा पर्ने खोलाहरू बढ्न थालेपछि दुईपांग्रे सवारीसाधन वारपार गर्नसमेत मुस्किल भएको छ । जाजरकोटबाट सुरु भएको जाजरकोट–डोल्पा सडकको सुरुमै रिम्नामाबाट रुकुम पश्चिम पुग्न मोटरेबल पुल तर्नुपर्छ । त्यसपछि फेरि चिसापानीमा रुकुम पश्चिमबाट जाजरकोट पुग्न मोटरेबल पुल तर्नुपर्छ । यो सडकमा ठूलीभेरी नदीमाथि यी दुई पुल मात्रै बनेका छन् ।

त्योभन्दा माथिको ठूलीभेरी नदी र अन्य खोलामा पुल नबन्दा ३ वटै जिल्लाका बासिन्दालाई सास्ती छ । सडकसँगै पुल नबनेपछि समस्या भएको आठबीसकोटका लंक मल्लले बताए । ‘हरेकपटक यात्रा गर्दा कहिले ठूलीभेरीमा पुल बन्ला भन्ने हुन्छ,’ उनले भने, ‘एक त हिउँदै समस्या छ, बर्खामा त दुःखको कुरै नगरौं ।’ उनका अनुसार वर्षामा राडी र बगराबीचको झोलुंगे पुल, जाजरकोट–नलगाड नगरपालिकाको तातरीगाड र चौखेबजारनजिकको खोलाले यात्रु रोक्छ । त्यसपछि जाजरकोटको नलगाडबाट रुकुम पश्चिमको आठबीसकोटस्थित छोटेबगर पुग्दा अर्को झोलुंगे पुल तर्नुपर्ने उनले बताए । अहिले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ रिजिगाड र दामाचौरखोला पनि चारपांग्रेले तर्न सक्दैनन् । हिउँदमा पनि आठबीसकोटको राडीदेखि जाजरकोटको बगरा र तल्लुदेखि छोटेबगर जोड्ने पुल नबन्दा यातायातका साधनलाई आउजाउमा समस्या छ । यी दुवै ठाउँमा ठूलीभेरी नदीमै पुल बनाउनुपर्ने छ । डोल्पा जोडिन खदाङमा पनि पुल बन्न नसकेको सल्लले बताए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका डिल्लीबहादुर रोकायले सडक खुले पनि ठाउँठाउँमा पिठ्युँमै बोकेर सामान ओसार्नुपर्ने बाध्यता रहेको बताए । ‘हरेक ठाउँमा गाडी फेर्नुपर्छ,’ उनले भने, ‘वर्षामा त भगवान् भरोसामै यात्रा गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार नेपालगन्ज र सुर्खेतबाट सडक बाटो भएर डोल्पा उक्लिनेहरू लामो समयदेखि सास्ती भोग्न बाध्य छन् ।

यो वर्ष डोल्पाको खदाङ–त्रिपुराकोट, छलगाड र रुपागाडमा पुल बनाउन ठेक्का लागेको छ । चौरजहारीस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख नेत्र पौडेलले चालु आर्थिक वर्षमा ती खोलामा पुल निर्माण सकिने दाबी गरे । ‘कोरोना महामारीका कारण काम पूरा हुन सकेन,’ उनले भने, ‘अहिले पुल बनाउन सव स्ट्रक्चरको काम भइसकेको छ ।’ उनका अनुसार जाजरकोटको तल्लु र रुकुम पश्चिमको गोतामकोट जोड्ने पुल नबन्दा यात्रुहरू ठूलो समस्यामा छन् । गोतामकोटका धनबहादुर विकले सबै खोला र ठूलीभेरीमा पुल नबन्दासम्म सडकका दुःख नहट्ने बताए । ‘ठेक्का लागेका पुल समयमै बन्नुपर्ने हो,’ उनले भने, ‘ठेकेदारको लापरबाहीले हामीले सास्ती भोगिरहेका छौं ।’

प्रकाशित : श्रावण ५, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

यातायातमा मनपरी भाडा

हरि गौतम

रुकुम पश्चिम — सदरमुकाम खलंगादेखि सल्यानको श्रीनगरसम्मको भाडा ३ सय रुपैयाँ हो । तर केही दिनदेखि यात्रुले त्यसको तेब्बर भाडा तिर्दै आएका छन् । खलंगादेखि श्रीनगरसम्म जाने यात्रुले अहिले १ हजार रुपैयाँसम्म भाडा तिरेका हुन् । मुसीकोटदेखि झन्डै ३७ किमिको दूरीको रुकुम पूर्वको रुकुमकोट जाने यात्रुलाई पनि ७ सय रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता छ । 

रुकुम पश्चिममा सञ्चालन हुने जिपहरू । तस्बिर : हरि/कान्तिपुर

कोरोना महामारीका कारण जिल्लामा निषेधाज्ञा लागेको छ । तर सवारीसाधन चलिरहेका छन् । जिल्लाभित्र चल्ने सवारीसाधनलाई बिनाअनुमति चलाउन भनिएको छ भने बाहिर जाने गाडीले अनुमति लिएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । कोरोना महामारी र निषेधाज्ञाको बहानामा यात्रुबाट चर्को भाडा असुल्न थालिएको हो । लागेको र तोकिएको भाडाभन्दा बढी भाडा तिर्नुपर्दा विपन्न यात्रु समस्यामा छन् । ‘धेरै दिन घर बस्न सकिन्न रोजीरोटीका लागि पनि बाहिर हिँड्नै पर्‍यो,’ स्थानीय संजोक केसीले भने, ‘तर कोरोना र निषेधाज्ञाको निहुँमा भाडादर निकै महँगो बनाइएको छ ।’ नियमन र अनुगमन नहुँदा यातायात व्यवसायीको मनपरी बढेको उनले बताए ।

स्थानीय प्रशासनको बेवास्ताले यात्रुहरू मर्कामा परेको अर्की यात्रु देउसरा पुनले बताइन् । ‘गाडी चलाउन भनियो तर त्यो कसरी चलिरहेको छ भन्नेबारे कतैबाट अनुगमन भइरहेको छैन,’ उनले भनिन्, ‘लकडाउनले मारमा परेका हामीलाई गाडीघोडाको मार पनि थपिएको छ ।’ धेरै गाडी नचल्ने भएकाले चर्को भाडा तिर्नुपर्ने बाध्यता भएको उनले बताइन् ।

चार महिनाअघि मात्रै जिल्ला यातायात व्यवस्था समितिले नयाँ भाडादर कायम गरेको थियो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भाडा चर्को लिएकोबारे गुनासो आएको बताए । ‘हामीकहाँ पनि त्यो गुनासो छ, प्रहरीमार्फत त्यसको निवारण गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘नियमभन्दा बाहिर गएर काम गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ ।’ गुनासो आएपछि केही सवारीसाधनलाई कारबाही गरिएको उनले बताए । उनका अनुसार प्रहरीले केही सवारीसाधनबाट जरिवाना लिएको छ भने र केहीलाई यात्रा गर्न नै रोक लगाएको छ ।

यसैबीच, सल्यान प्रहरीले बढी भाडा असुल्ने १० यात्रुबाहक गाडीलाई नियन्त्रणमा लिएको छ । सरकारले तोकेको भन्दा बढी भाडा लिएको र क्षमताभन्दा बढी यात्रु राखेको पाइएपछि सवारीसाधन नियन्त्रणमा लिइएको हो । कोरोना महामारीको फाइदा उठाउँदै यातायात व्यवसायीले बढी भाडा लिएपछि जिल्ला प्रहरीले अनुगमन थालेको थियो । बिहीबार ३ बस, २ जिप, १ भ्यान र ४ अटो रिक्सा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए ।

प्रकाशित : श्रावण १, २०७८ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×