कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३१ वर्षपछि बन्यो सिँचाइ योजना

२०४६ सुरू भएको योजनालाई बजेट नआउँदा अलपत्र परेको थियो
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–४ फोतुमा निर्माण सुरु भएको झन्डै ३१ वर्षपछि सिँचाइ योजना पूरा भएको छ । २०४६ मा ५ हजार रुपैयाँ बजेटबाट सुरु भएको योजनाले यो वर्ष पूर्णता पाएको हो ।

३१ वर्षपछि बन्यो सिँचाइ योजना

तत्कालीन जिल्ला पञ्चायतले ५ हजार रुपैयाँ बजेटबाट योजनाको काम सुरु गरेको थियो । त्यसपछि बजेट नआउँदा योजना अलपत्र परेको थियो ।

सिँचाइ सुविधा नहुँका फोतुका बासिन्दा वर्षमा एक बाली लगाउन बाध्य थिए । ‘सिँचाइकै लागि ठूलो दुःख भोगियो,’ स्थानीय लक्ष्मण शाहीले भने, ‘अब आफ्नै बारीको उब्जनीले खान पुग्ने भयो ।’ उनका अनुसार सिँचाइ सुविधा नहुँदा स्थानीय उत्पादनले मुस्किलले ४ महिना मात्र खान पुग्थ्यो । उनले सिँचाइ पुगेपछि वर्षमा ३ बाली लगाउन सकिने बताए ।

३१ वर्षपछि पक्की कुलो बनेपछि स्थानीय किसान खुसी छन् । सिँचाइ योजना सुरु हुँदा ५ रुपैयाँ ज्याला लिएर काम गरेको ७१ वर्षीय गोर्खबहादुर शाहीले बताए । ‘सुरुको वर्ष मात्र बजेट आयो, त्यसपछि आएन,’ उनले भने, ‘योजना सुचारु गर्न विभिन्न निकायमा पटकपटक धाए पनि कसैले वास्ता गरेनन् ।’ उनले वर्षौंपछि गाउँमा सिँचाइ सुविधा पुगेपछि विकासको अनुभूति भएको बताए । उनका अनुसार २०४६ मै स्थानीयले सिँचाइ योजनामा प्रतिघर झन्डै एक महिना श्रमदानसमेत गरेका थिए ।

कर्णाली प्रदेश सरकारको ३० लाख रुपैयाँ बजेटबाट फोतुमा सिँचाइ सुविधा पुगेको हो । योजनामा विश्व खाद्य कार्यक्रम र आरसीडीले २१ लाख रुपैयाँ थपेका थिए । अहिले ७ सय २० मिटरको कुलोलाई पक्की बनाइएको छ । ‘अब गाउँमै धान फलाउन सकिने भयो,’ स्थानीय कृषक बिर्खबहादुर कार्कीले भने, ‘व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर बन्न सक्छौं ।’ उनले सिँचाइ योजनामा काम गर्दा दुई महिनासम्म रोजगारीसमेत पाइएको बताए । उनका अनुसार योजनाबाट २५ घरमा सिँचाइ सुविधा पुगेको छ । यो वर्ष फोतु र हुम्लाको जैर जोड्ने झोलुंगे पुलको निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित : श्रावण २, २०७८ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?