कुमालगाउँ, कालीकोट — छोरा जन्मिएको खुसियालीमा नरहरिनाथ–३ भैसाखालका जैसिगे विकले पञ्चेबाजासहित हुड्के नचाउँदै नवजात शिशु र पत्नी अमनालाई घर ल्याए । अमनाले गत सोमबार कुमालगाउँस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा छोरा जन्माएकी थिइन् । उनीहरू कुमालगाउँ हुँदै घर फर्किने क्रममा अमनाको घाँटीमा समेत परिवारका अन्य सदस्यले रुपैयाँको माला लगाइदिएका थिए ।
कालीकोटका ग्रामीण क्षेत्रमा अझै पनि छोरालाई मान्यता दिने चलन कायमै छ । जति छोरी जन्मिए पनि छोरा नजन्मिदासम्म परिवार नियोजन गर्ने चलन छैन । दोस्रो विवाह गर्ने चलनमा कमी आए पनि छोरालाई प्राथमिकता दिने चलन अझै हटेको छैन । खाडाचक्र–४ का ३४ वर्षीय खड्क विश्वकर्माका ५ जना छोरी छन् । तर छोरा नजन्मिएको भन्दै उनले अझै परिवार नियोजन गरेका छैनन् । ‘वंश थाम्ने र अंश खाने छोरा त चाहियो नि,’ उनले भने, ‘हाम्रोमा त अझै पनि छोरा जन्मँदा खसी र छोरी जन्मिँदा फर्सी काट्ने चलन कायमै छ ।’
छोराछोरीबीचको विभेद हटाउन स्थानीय तहले विभिन्न अभियान थाले पनि सफल हुन सकेको छैन । शिक्षा, चेतना र गरिबीजस्ता समस्याले सामाजिक विभेद अझै हट्न नसकेको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । लैंगिक विभेद हटाउन छोरीको शिक्षामा जोड दिनुपर्ने उनको बुझाइ छ । ‘बालविवाह, बहुविवाह र अनमेल विवाहले महिला पीडित छन्,’ उनले भनिन्, ‘छोरा जन्माइनस् भनेर कुटपिट गर्ने, सौता हाल्ने र घरबाट निकाल्ने समस्या अझै हटेको छैन ।’
गत वर्ष खाडाचक्र नगरसभाले छोराछोरीबीचको विभेद हटाउन दुई छोरी मात्र जन्माएर स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई १ लाख रुपैयाँ पुरस्कार दिने नीति ल्याएको थियो । तर एक वर्षसम्म कोही पनि दाबी गर्न आएनन् । एक वर्षमा जिल्ला प्रहरी कार्यालयमा महिला हिंसाका ३६ वटा उजुरी परेका छन् । ‘झैगडा त दिनहुँ आउँछन्,’ प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भने, ‘शिक्षा र चेतनाकै अभाव बढी छ ।’ छोरा नजन्माएको निहुँमा महिलालाई हेला गर्ने र सम्बन्धविच्छेद गर्ने प्रवृत्ति रहेको उनले बताए ।
बालविवाह गर्ने छोरी नै बढी
कालीकोटमा २० वर्ष नपुग्दै विवाह गर्नेको संख्या अझै ६२ प्रतिशत छ । त्यसमा पनि ८० प्रतिशत बालिका रहेको तथ्यांक छ । गत वर्ष जिल्लामा यसबारे अध्ययन गरेको सेभ द चिल्ड्रेनका अनुसार कालीकोटमा १५ वर्षमुनि विवाह गर्ने थोरै भए पनि २० वर्ष नपुग्दै विवाह गर्नेको प्रतिशत बढी छ । पहिलेजस्तो घरपरिवारले मागेर बाजागाजा बजाउँदै बालविवाह गर्नेको संख्यामा कमी आए पनि आफैं भागेर ९२ प्रतिशत विवाह हुने गरेको संस्थाका बाल संरक्षण संयोजक बाले विश्वकर्माले बताए ।
यस्तै, गर्भावस्थादेखि नै छोरीलाई हेला गर्ने प्रवृत्तिका कारण छोरीमा कुपोषणको समस्या बढी छ । कुपोषित बालबालिकालाई उपचार गर्न धामीझाँक्रीको भर पर्दा मृत्युको जोखिमसमेत बढेको छ । छोरी जन्माउने आमालाई पनि हेला गर्ने र पोषणमा ध्यान नदिने अवस्था अझै कायमै रहेको मनोविमर्शकर्ता संगीता ओलीले बताइन् । ‘लैंगिक विभेदले उचित खानपिन र स्याहारसुसारमा ध्यान नपुर्याउँदा पनि छोरीमा बढी कुपोषण बढी देखिएको हो,’ उनले भनिन्, ‘बिरामी पर्दा स्वास्थ्य संस्था लैजानुको सट्टा धामीझाँक्रीमा भर पर्ने कुप्रथा छ ।’
गरिबी, सेवामा पहुँचको कमीजस्ता आधारभूत कारणले पनि विभेद हट्न नसकेको उनले बताइन् । उनका अनुसार गुणस्तरीय स्वास्थ्य सेवाको अभाव, चेतनाको कमी, लैंगिक विभेदजस्ता अन्तर्निहीत र खाना तथा आहारको कमी, रोगको संक्रमणजस्ता प्रत्यक्ष कारणले कुपोषित बालबालिका बढी भएका हुन् ।
कालीकोटमा ‘शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन’ कार्यक्रममार्फत केही समयअघि गरिएको अध्ययनअनुसार कुपोषितमध्ये झन्डै ३० प्रतिशत बालिका बढी छन् । कुपोषित हुनेमा बालकको तुलनामा बालिकाको संख्या अधिक रहेको खाडाचक्र नगर स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालले बताए ।
प्रकाशित : श्रावण १, २०७८ ०९:२०