सल्यानमा सातौं पटक निषेधाज्ञा थप 

विप्लव महर्जन

सल्यान — सल्यानमा सातौं पटक निषेधाज्ञा थप गरिएको छ । जिल्लाका सबै पालिकामा कोरोना संक्रमण तथा मृत्युदर कम भए पनि जोखिम उत्तिकै रहेको भन्दै अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि निषेधाज्ञा थप गरिएको हो । 

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सल्यानको बिहीबारको बैठकले साउन १ गते बिहान १ बजेदेखि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन् ।

सार्वजनिक एवम् निजी सवारी साधन संचालन, पसल तथा कार्यालय संचालनको हकमा भने पहिलाको तुलनामा खुकुलो गरिएको उनले जानकारी गराइन् । उनका अनुसार सार्वजनिक सवारी साधन उच्च स्वास्थ्य सतर्कता अपनाउँदै संचालन गरिने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् ।

तरकारी, फलफुल, माछामासु, दाना, एग्रोभेट, डेरी, खाना पकाउने ग्यास, खाद्यान्न लगायत अन्य पसल, होटल दैनिक बिहान ६ देखि बेलुकी ६ बजेसम्म संचालन हुने उनले जानकारी गराइन् । जिल्लामा रहेका बैंक तथा सरकारी कार्यालयहरु संचालनमा आएका र भीडभाड बढ्दै गएकाले भीडभाड नगर्न र अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न उनले आग्रह गरेकी छिन् ।

कोरोनाको संक्रमण बढदै गएपछि बैशाख १९ देखि जिल्लामा निषेधाज्ञा सुरु गरिएको थियो ।

प्रकाशित : असार ३१, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?