कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शिक्षक र कर्मचारीले ७ महिनादेखि तलब पाएनन्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा जाजरकोटमा फार्मेसी कार्यक्रमको पठनपाठन बन्द गर्ने तयारी
भीमबहादुर सिंह

जाजरकोट — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन भएको ‘डिप्लोमा इन फार्मेसी’ कार्यक्रमका शिक्षक तथा कर्मचारीले ७ महिनादेखि तलब पाएका छैनन् । फार्मेसी कार्यक्रमले शिक्षक र कर्मचारीहरूलाई ७ महिनाको झन्डै ३६ लाख रुपैयाँ तलब भुक्तानी दिन बाँकी छ । 

शिक्षक र कर्मचारीले ७ महिनादेखि तलब पाएनन्

भेरी ज्ञानोदय क्याम्पसमा २०७६ सालदेखि फार्मेसी कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त क्याम्पसमा ३१ जना विद्यार्थीले फार्मेसी अध्ययन गरिरहेका छन् । कार्यक्रमका लागि ९ शिक्षक र ४ कर्मचारी भर्ना गरिएको क्याम्पसले जनाएको छ । प्रतिष्ठानले पूर्णकालीन शिक्षकको व्यवस्था गर्न नसकेपछि आंशिकको भरमा कार्यक्रम चलिरहेको शिक्षक जनक केसीले बताए । ‘प्रथम वर्षको कोर्स पूरा गरेर विद्यार्थीले दोस्रो वर्ष प्रवेश गरिसके,’ उनले भने, ‘तर शिक्षक र कर्मचारीले अझै तलब पाएनौं ।’ विद्यार्थीबाट झन्डै ५०/६० लाख शुल्क रकम असुलेर पनि तलब नखुवाउनु प्रतिष्ठानको चरम लापरबाही भएको उनको भनाइ छ ।

फार्मेसी कार्यक्रमका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न नसक्दा शिक्षक र कर्मचारीलाई तलब भुक्तानी गर्न ढिलाइ भएको प्रिन्सिपल रवीन्द्रकुमार रोकायले बताए । कार्यक्रम सञ्चालन गर्नुअघि आवश्यक बजेट जिल्लाबाटै जुटाउने सहमति भए पनि सरोकारवालाले वास्ता नगर्दा समस्या भएको उनको भनाइ छ । ‘सञ्चालन तथा व्यवस्थापन खर्च र शिक्षक कर्मचारीको तलबलगायत खर्च जिल्लास्तरबाटै व्यहोर्ने गरी जाजरकोटमा डिप्लोमा इन फार्मेसी कार्यक्रम सुरु भएको हो,’ उनले भने, ‘तर विद्यार्थीको शुल्कबाहेक अरू रकम जुट्न सकेन ।’

सम्बन्धित संस्थामा बजेटको व्यवस्था हुन नसकेपछि प्रतिष्ठानमार्फत तलब खुवाउन पहल थालिएको रोकायले बताए । उनका अनुसार विद्यार्थीहरूबाट अहिलेसम्म ५० प्रतिशत मात्र शुल्क लिइएको छ । विद्यार्थीहरूले ३ वर्षे फार्मेसी कार्यक्रम अध्ययनका लागि करिब ४ लाख रुपैयाँ तिर्नुपर्ने उनले जानकारी दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने जाजरकोटमा फार्मेसी कार्यक्रमको पठनपाठन बन्द गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षा आयोगले सीटीईभीटीबाहेकका संस्थाले डिप्लोमा फार्मेसीलगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाउने नियम बनाएपछि प्रतिष्ठानले उक्त कार्यक्रम बन्द गर्ने तयारी गरेको हो । कार्यक्रम बन्द हुने भएपछि घर छेउमा डिप्लोमा तहको प्राविधिक विषय पढ्न पाउने आशा बोकेका विद्यार्थी निराश बनेका छन् । ‘जाजरकोटमा फार्मेसी कार्यक्रम हात्ती आयो, हात्ती आयो फुस्साजस्तै भयो,’ विद्यार्थी कल्पना बुढाले भनिन्, ‘एक ब्याजबाहेक अरू पढाइ नहुने भएपछि विद्यार्थीलाई मर्का परेको छ ।’

प्रकाशित : असार २९, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?