कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ महिनादेखि तलबविहीन

विप्लव महर्जन

सल्यान — वनगाडकुपिन्डे नगरपालिकाको वडा कार्यालयमा कार्यरत १२ कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन् । करार सेवामा भर्ना भएका उनीहरुले नगरपालिकाले विभिन्न बहाना बनाउँदै तलबबाट वञ्चित गरेको बताएका छन् ।

समयमै तलब नपाए वडाका कुनै पनि कामकाज नगरी आन्दोलन गर्ने र नगरपालिका तालाबन्दी गर्ने कर्मचारीले चेतावनी दिएका छन् । जागिर सुनिश्चित गर्न नगर प्रमुख गोविन्दकुमार पुनलाई ध्यानाकर्षण पत्र बुझाउनुका साथै पटकपटक छलफल गरे पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।

कर्मचारी डिल्ली विकले वडा कार्यालयमा लगातार काम गरिरहेको र तलबका लागि बारम्बार माग राख्दै आए पनि विभिन्न उल्झन देखाउँदै बेवास्ता गर्ने गरिएको बताए । ‘नगरपालिकाले सुरुमा सहायक लेखापाल भनेर नियुक्ति दियो, त्यसपछि सामाजिक परिचालक भनेर नियुक्ति दियो,’ उनले भने, ‘पछिल्लो ६ महिनामा त नियुक्तिसमेत दिइएको छैन ।’

अर्का कर्मचारी धनबहादुर सुनारले जनप्रतिनिधिभन्दा पनि प्रमुख प्रशासकीय अधिकृतले करार अवधि थप्न र तलब दिन अवरोध गरिरहेको बताए । तलब नदिए पनि काम भने गरिरहेको उनको भनाइ छ । ‘कोरोना महामारीको बेलासमेत हामी ज्यानको पर्वाह नगरी काममा खटियौं, अहिले त्यसको मूल्यांकन हुनु त टाढाको कुरा तलबसमेत दिइएन,’ उनले भने, ‘हामीसँगै काम गरेका अन्य कर्मचारीले जोखिम भत्ता पाएका छन्, हामी भने तलब नपाएर रुनुपरेको छ ।’ लामो समय तलब नपाउँदा पसलबाट उधारो रासन लिएर जीवन धान्नुपरेको उनले बताए ।

वनगाडकुपिन्डे नगरपालिका प्रमुख गोविन्द पुनले ६ महिनाअघि गरेको निर्णयमा केही गल्ती भएकाले कर्मचारीले तलब खान नपाए पनि कर्मचारी तलबबाट वञ्चित नहुने बताए । अब बस्ने बैठकले कर्मचारीको कामको मूल्यांकन गरेर उनीहरूको जागिरको सुनिश्चिततासमेत गर्ने उनको भनाइ छ ।

प्रकाशित : असार २८, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?