कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ वर्षदेखि बनेन स्वास्थ्यचौकी भवन

ठेकेदारले काम छाडेपछि स्वास्थ्यकर्मी जीर्ण भवनमा जोखिम मोलेर उपचार गर्न बाध्य
भीमबहादुर सिंह

जाजरकोट — जुनीचाँदे गाउपालिका–१ स्थित बडकुले स्वास्थ्यचौकीको भवन ९ वर्षदेखि अलपत्र परेको छ । ठेकेदारले बीचैमा काम छाडेपछि भवन अलपत्र भएको हो । 

९ वर्षदेखि बनेन स्वास्थ्यचौकी भवन

तोकेको समयमै स्वास्थ्यचौकी भवन नबन्दा दुर्गममा प्रसूति सेवा प्रवाहमा समस्या भएको छ । उक्त भवन निर्माणको जिम्मा फ्रेन्ड्स कन्स्ट्रक्सन काठमाडौंले लिएको छ । कम्पनीले डेढ वर्षभित्र काम सम्पन्न गर्न २०६९ वैशाखमा निर्माणको ठेक्का लिएको थियो । १ करोड २७ लाख रुपैयाँको लगानीमा निर्माणाधीन भवन अलपत्र परेपछि बिरामीले सास्ती भोग्नुपरेको स्वास्थ्य शाखा सहसंयोजक खेमराज बस्नेतले बताए । उनका अनुसार स्थानीय स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध नहुँदा अधिकांश महिला घरमै सुत्केरी हुन बाध्य छन् । ‘लामो समयदेखि बिरामीको उपचारमा समस्या भइरहेको छ,’ उनले भने, ‘ठेकेदारले काम छाडेपछि स्वास्थ्यकर्मी जीर्ण भवनमा जोखिम मोलेर उपचार गर्न बाध्य छन् ।’

सरकारी निकायको बेवास्ताले लामो समयदेखि स्वास्थ्यचौकी भवन अलपत्र परेको स्थानीय नमराज शाहीले वताए । उनका अनुसार दुई वर्ष काम गरेर ठेकेदार कम्पनीले घाटा लागेको भन्दै भवन निर्माणको काम छोडेको थियो । भवन अलपत्र हुँदा सामान्य बिरामीलाई पनि जिल्ला अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यता भएको उनले बताए ।

भवन अलपत्र परेपछि निर्माण गरिएका संरचनासमेत जीर्ण बनेका छन् । भवन निर्माणमा काम गरेका मजदुरले समेत ज्याला पाएका छैनन् । भवन निर्माणका लागि बालुवा, गिट्टी, ढुंगालगायत निर्माण सामग्री व्यवस्थापन गरेका स्थानीय गोरे बुढाले निर्माण कम्पनीबाट ५ लाख ४० हजार रुपैयाँ पाउन नसकेको गुनासो गरे ।

त्यस्तै, भवनको झ्याल र ढोका बनाउने काम गरेका अमरबहादुर बुढा र गोविन्द बुढाले पनि ३ लाख ८० हजार रुपैयाँ पारिश्रमिक पाउन बाँकी छ । ठेकेदारसँग पटकपटक ज्याला रकम माग्दासमेत नपाएको गोरेले बताए । ‘९ वर्ष बित्यो,’ उनले भने, ‘न ज्याला पाइन्छ, न त भवन निर्माणको काम सुरु हुन्छ ।’

ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणमा समस्या भएको संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका इन्जिनियर टीकाराम पोखरेलले बताए । उनका अनुसार कम्पनीले झन्डै १० प्रतिशत वित्तीय र २० प्रतिशत भौतिक कार्य मात्र सम्पन्न गरेको छ । फ्रेन्ड्स कन्स्ट्रक्सनका सञ्चालक पुष्प बजगाईंले पेटी ठेकेदार कर्णबहादुर थापालाई भवन निर्माणको जिम्मा दिएका छन् ।

कम्पनीलाई २५ लाख ४० हजार रुपैयाँ पेस्की दिइएको कार्यालयले जनाएको छ । ‘निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी जफत गरी सम्बन्धित ठेकेदारबाट क्षतिपूर्ति भराउनेलगायतको कारबाही प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा नयाँ टेन्डर गरी भवन निर्माणलाई पूर्णता दिनेछौं ।’

भवन निर्माण काम अलपत्र पार्ने कम्पनीलाई सम्बन्धित कार्यालयले कारबाही गर्न नसकेको वडाध्यक्ष चन्द्रबहादुर शाहीले बताए । ‘एउटा ठेकेदारका कारण सयौं महिलालाई दुःख भएको छ,’ उनले भने, ‘भवन नबन्दा उपचार र अन्य सेवा प्रवाह भाडाको घरबाट भइरहेको छ ।’


प्रकाशित : असार १४, २०७८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?