कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निलम्बित सांसद सहभागी भएपछि कर्णालीको संसद् बैठक फेरि अवरुद्ध

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको बैठक आइतबार पनि अवरुद्ध भएको छ । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशले निलम्बन गरेका ३ जना सांसद आइतबारको बैठकमा सहभागी भएपछि एमाले सांसदहरुले फेरि बैठक अवरुद्ध गरेका हुन् ।

निलम्बित सांसद सहभागी भएपछि कर्णालीको संसद् बैठक फेरि अवरुद्ध

बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री अम्मरबहादुर थापा सहभागी भएपछि एमालेले बैठक अवरुद्ध गरेको हो ।

बैठकको कार्यसूचीमा प्रवेश नगर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशसभामा निर्दलीय व्यवस्था सुरु गर्न खोजिएको भन्दै आपत्ति जनाए । एमालेले निलम्बित सांसदहरुलाई संसदीय काम र कारबाहीमा सहभागी गराउन नपाइने बताउँदै आएको छ । सर्वोच्चको आदेशलाई पालना गर्दै प्रदेशसभामा पनि बसाइँ व्यवस्थापन गर्नुपर्ने नेता कँडेलको भनाइ छ । ‘उहाँहरु सभाले व्यवस्था गरेअनुसार बस्नुपर्नेमा सरकारको रोमा गएर किन बस्नुभएको हो ?,’ उनले भने, ‘सभामा जहाँ बसेपनि हुँदैन, दलीय आचरण र व्यवहार त सबैले मान्नुपर्छ ।’ गत जेठ २७ गते सर्वोच्चले आदेश दिएपछि प्रकाश ज्वालाबाहेक अन्य ३ जना सांसद पार्टीमा नफर्किएको नेता कँडेलले बताए ।

एमालेले आइतबारको बैठक पनि अवरुद्ध गरेपछि कर्णाली प्रदेशसभाको बैठक असार १८ गते दिउँसो २ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । असार १ गते बजेट प्रस्तुत गरेको १३ दिनसम्म पनि प्रदेशसभामा बजेटमाथिको छलफल हुन सकेको छैन ।

प्रकाशित : असार १३, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?