कोरोनामा खेतीपातीको चटारो
मुगु — मुगुमकार्मारोङ गाउँपालिका तलमागीकी छिटोल तामाङको मनमा कोरोनाको डर त छ तर उनलाई खेती नगरी सुख छैन । त्यसैले उनी एकाबिहानै परिवारका सदस्य र छिमेकीसँग कुटोकोदालो बोकेर पाखोबारीतिर जान्छिन् । ‘कोरोनाको डर हुन्छ भन्छन्, तर काम नगरी खान पाइँदैन,’ उनी भन्छिन्, ‘खेतीको बेला जे रोग आए पनि हामी बस्न पाइँदैन ।’
उनीजस्तै अन्य गाउँलेहरू अहिले खेतबारीमा लागेका छन् । पुरुषहरू खेतबारी खनजोत गरी सिमी, फापर, आलु लगाउन व्यस्त छन् । महिलाहरू कोदो, कागुनो, चिनु गोडमेल गर्न व्यस्त देखिन्छन् । सोही गाउँपालिकाअन्तर्गत पापु गाउँका कन्नबिरे बुढाले रोगभन्दा पनि भोकको चिन्ताले सताउने गरेको बताए ।
उनका अनुसार गाउँका केही व्यक्तिहरू ज्वरो आउने, टाउको दुख्ने समस्याले बिरामी परेका छन् । स्थानीयवासीहरू बिरामी परे पनि खेतीपातीमा जाने गरेका उनको भनाइ छ । ‘बिरामी मान्छेहरू ज्वरो अलिकति कम हुनेबित्तिकै उठेर बारीतिर गइहाल्छन्,’ उनले भने, ‘कोरोना हो कि अरू रोग हो औषधिमूलो पनि हुँदैन ।’ सोरु गाउँपालिका–४ की धनसरा मल्ल र उनका श्रीमान् ज्वरोको बिरामी हुन् । तर उनीहरू पानीमा भिज्दै रोपाइँ गर्न खेतमा गइरहेका छन् । ‘कोरोनाको डरले पहिलाजस्तो गाउँका मान्छेहरू खेतमा सहयोग गर्न आउँदैनन्,’ उनले भनिन्, ‘आफैं खेतमा नगए त बाली लाग्दैन, पछि के खाने ?’