कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरी–बबईमा ४७ प्रतिशत काम

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ४७ प्रतिशत काम गरेको छ । आयोजनाले २०७८ वैशाख मसान्तसम्म ४७ प्रतिशत भौतिक प्रगति हासिल गरेको हो भने वित्तीय प्रगति ३७.५७ प्रतिशत छ । 

भेरी–बबईमा ४७ प्रतिशत काम

आर्थिक वर्ष २०७९/८० सम्म आयोजना सम्पन्न गरी बाँके र बर्दियाको ५१ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने र ६४.८ मेगावाट जलविद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । पहिलो र दोस्रो चरणको कामको प्रगति हेर्ने हो भने आयोजनाले सम्झौता अवधिमै काम सक्ने देखिन्छ ।

चालु आर्थिक वर्षमा झन्डै ५० प्रतिशत काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको आयोजनाका निर्देशक हरिनारायण यादवले बताए । ‘यही रफ्तारमा काम गर्न पाए २ वर्षभित्रै आयोजना सम्पन्न गर्न सकिन्छ,’ उनले भने, ‘जग्गाबाट रोकावट नभएकाले काम तीव्र गतिमा भइरहेको हो ।’ उनका अनुसार प्रभावित क्षेत्रका ९७ प्रतिशत परिवारले मुआब्जा पाइसकेका छन् ।

आयोजनामा पहिलो चरणमा झन्डै ९ अर्ब ८८ करोड रुपैयाँको काम भएको थियो भने दोस्रो चरणमा ६ अर्ब १६ करोड रुपैयाँको काम भइरहेको छ । आयोजनाको लागत ३३ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ । अहिले आयोजना क्षेत्रमा हेडवर्कस्, सर्ज साफ्ट, पेनस्टक, पावरहाउस निर्माणजस्ता काम भइरहेका छन् । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल निर्माण तथा जडान कार्यमा अलि समय लाग्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर ईश्वरी तिवारीले बताए । उनले दरबन्दीअनुसारको प्राविधिक नहुँदा काममा केही ढिलाइ भएको बताए । उनका अनुसार आयोजनामा ९ जना सिभिल इन्जिनियर हुनुपर्नेमा ३ जना कार्यरत छन् । ‘आफ्नो क्षेत्र हेर्ने प्राविधिकको कमी छ,’ उनले भने, ‘तर पनि लक्ष्यअनुरूपको काम गरिरहेका छौं ।’

आयोजनामा ४९ जना कर्मचारीको दरबन्दी छ । तर अहिले ३४ जना कार्यरत छन् । पहिलो चरणमा नेपालमा पहिलो पटक टीबीएम मेसिन प्रयोग गरी आयोजनाको सुरुङ निर्माण गरिएको हो । १० अर्ब ५६ करोड रुपैयाँमा १२.२० किलोमिटरको सुरुङ निर्माण भइसकेको छ । अहिले बाँध तथा पावर हाउस निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा सिभिल निर्माण कार्यको ३० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तिवारीले बताए । लुम्बिनी र कर्णाली प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको आयोजनामा अहिले तीव्र गतिमा काम भइरहेको कर्णाली प्रदेशका जनस्रोत तथा सिँचाइमन्त्री दीनबन्धु श्रेष्ठले बताए । शनिबार आयोजनाको अनुगमनमा पुगेका उनले कुनै पनि बहानमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘यो आयोजना समयमै सम्पन्न भए कर्णालीको विकासले फड्को मार्नेछ,’ उनले भने ।


प्रकाशित : असार ७, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?