कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी भर्ना अभियान सुरु

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णालीमा शैक्षिक सत्र सुरु भए पनि नियमित पठनपाठन कहिलेदेखि हुने भन्नेमा यहाँका विद्यालय अन्योलमा छन् । अधिकांश विद्यालयले आन्तरिक मूल्यांकनको आधारमा अघिल्लो शैक्षिक सत्रको नतिजा निकालेर भर्ना अभियान सुरु गरिसकेका छन् ।

विद्यार्थी भर्ना अभियान सुरु

यसअघि कर्णालीका हिमाली जिल्लाबाहेक अन्य जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु हुने गरेकामा यो वर्ष कोरोनाका कारण शैक्षिक सत्र असार १ गतेदेखि सुरु भएको हो ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयहरूले भर्ना अभियान पनि सुरु गरेका छन् । तर सहज रूपमा पठनपाठन कहिलेदेखि हुने भन्नेमा अन्योलता देखिएको सुर्खेतको नेवारेस्थित जनज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । ‘केही विद्यार्थी र शिक्षक संक्रमित भएका छन्, भौतिक रूपमा त पढाउन सकिने अवस्था छैन,’ उनले भने, ‘निषेधाज्ञापछि विगतमा गरेको अभ्यासजस्तै आलोपालो गरे पढाउन पनि सकिन्छ कि भनेर हेरिरहेका छौं ।’ बहुवैकल्पिक विधि अवलम्बन गरेर पढाउनेबारे योजना बनाइरहेको उनले बताए ।

कर्णालीका अधिकांश सामुदायिक तथा निजी विद्यालयले विद्यार्थी भर्ना अभियान पनि सुरु गरेका छन् । सुर्खेतको लेकबेंसी नगरपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयले पनि भर्ना अभियान सुरु गरेको छ । विद्यार्थी भर्ना गर्न सुरु गरे पनि नियमित कक्षा सञ्चालनका लागि नगरपालिकाको निर्णय कुरिरहेको शिक्षक देउरूपा केसीले बताइन् । उनका अनुसार ग्रामीण भेग भएकाले विद्यार्थीलाई अनलाइन माध्यमद्वारा पढाउन सक्ने अवस्था पनि छैन । ‘भर्ना त स्वास्थ्य मापदण्ड अपनाएर सुरु गरेका छौं,’ उनले भनिन्, ‘अब पढाइ कहिलेदेखि हुने भन्ने अन्योल छ ।’

विद्यालयले अघिल्लो वर्षको नतिजा पनि त्रैमासिक परीक्षालाई आधार मानेर प्रकाशित गरेको उनले बताइन् । दैलेखको भैरवी गाउँपालिकास्थित पञ्चदेवल माविले असार २ गतेदेखि १६ गतेसम्म भर्ना अभियान सुरु गरेको छ । पठनपाठन भने अन्योलमै रहेको विद्यालयका कर्मचारी सोविनकुमार थापाले बताए । ‘पहिला भर्ना अभियान सकेपछि पुस्तक वितरण गर्नेछौं,’ उनले भने, ‘लकडाउन खुलेन भने विद्यार्थी आफैंले घरमै बसेर स्वअध्ययन गर्नेछन्, अनलाइन कक्षा त पढाउन सकिने अवस्था नै छैन ।’

हुम्लाको मानसरोवर माविले नयाँ शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियानको कामलाई मोबाइलबाट निरन्तरता दिने जनाएको छ । विद्यालयका शिक्षक दानबहादुर ऐडीले निषेधाज्ञा भएकाले विद्यालय सबै बन्द भएकाले मोबाइलबाट कुराकानी गरी अगाडि बढाइने बताए । ‘सदरमुकामकै विद्यालयको हालत यस्तो छ भने विकट ठाउँका विद्यालयको अवस्था झन् कस्तो होला ?’ उनले भने, ‘भौतिकबाहेक अन्य विधिबाट पढाइ सम्भव हुने कुरै भएन ।’

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित जनप्रभा माध्यमिक विद्यालयका प्रधानाध्यापक यामप्रसाद शर्माले भर्ना अभियान सुरु भए पनि पठनपाठन अन्योल भएको बताए । वैकल्पिक माध्यमबाट पठनपाठन गराउन नसकिने भएकाले निषेधाज्ञा खुलेपछि मात्रै पढाइ सुरु कहिले गर्ने भन्नेबारे टुंगो लाग्ने उनको भनाइ छ ।

कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका सबै सामुदायिक विद्यालयले भर्ना अभियान सुरु गरिसकेका छन् । कोरोना संक्रमणको दर न्यून नहुन्जेल तत्कालका लागि वैकल्पिक विधिबाटै पठनपाठन अघि बढाउन निर्देशन दिइएको भए पनि कर्णालीको भौगोलिक विकटताको कारण चुनौती भइरहेको निर्देशनालयको भनाइ छ ।

प्रकाशित : असार ६, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?