कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिमीमा हट्यो निषेधाज्ञा

छपाल लामा

हुम्ला — नाम्खा गाउँपालिका–६ लिमीमा झन्डै एक महिनादेखि लगाइएको निषेधाज्ञा हटेको छ । गाउँपालिकास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हटाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सदरमुकामसहित जिल्लाका मुख्य व्यापारिक केन्द्रमा भने चौथो पटक जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरेको छ । लिमीमा संक्रमणको जोखिम नभएकाले निषेधाज्ञा खुला गरिएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार वैशाख दोस्रो सातादेखि कोरोना संक्रमणको जोखिम बढेको भन्दै लिमीलाई सिल गरिएको थियो । ‘नयाँ मानिस गाउँ प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम हुने देखिएपछि गाउँ सिल गरेका थियौं,’ उनले भने, ‘असार महिना सुरु हुन लागेसँगै खेतीपाती र विभिन्न संघसंस्थाका कामको चाप बढेकाले प्रतिबन्ध फुकुवा गरिएको छ ।’

गाउँमा प्रतिबन्ध खुलेसँगै खेतीपातीका कामहरू सुचारु हुन थालेको स्थानीय डिचिन लामाले बताइन् । बिहीबारदेखि सरकारी र गैरसरकारी संघसंस्थाले विकास निर्माणका कामहरू पनि सुचारु गरेका छन् । कात्तिकबाट हिमपात सुरु हुने र झन्डै ६ महिनाका लागि आउजाउ बन्द हुने भएकाले पनि खेतीका कामको चटारो सुरु भएको उनको भनाइ छ ।

वडाध्यक्ष तामाङका अनुसार अब लिमीका तिल, हल्जी र जाङमा गाउँका मुखियाको अनुमतिमा बाहिरबाट आएका व्यक्तिलाई प्रवेश गर्न दिइनेछ । लिमीमा लामो समयदेखि मुखिया प्रथा कायम छ । बाह्य पर्यटकलाई भने गाउँ प्रवेशमा रोक लगाइएको उनले जानकारी दिए । ‘तीनवटै गाउँका बासिन्दा अबदेखि एउटा गाउँबाट अर्को गाउँमा जान पाउनेछन्,’ उनले भने, ‘गाउँ आउजाउ गर्ने स्थानीयलाई अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेका छौं ।’ जिल्ला सदरमुकाम सिमकोट आसपासका गाउँमा भने कोरोना संक्रमणको जोखिम घटेको छैन ।

प्रकाशित : जेष्ठ २९, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?