कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञामा विकासका काम

वर्षा र आर्थिक वर्षको अन्तिम महिना सुरु हुन लागेकाले पनि कामलाई तीव्रता
विप्लव महर्जन

सल्यान — कोरोना संक्रमण फैलिएको भन्दै स्थानीय प्रशासनले झन्डै एक महिनादेखि निषेधाज्ञा जारी गरे पनि जिल्लामा विकास निर्माणका काम रोकिएका छैनन् । विभिन्न सरकारी निकायले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी विकास निर्माणका कामलाई तीव्रता दिएका हुन् । 

आर्थिक वर्ष सकिन लागेको भन्दै बजेट फ्रिज हुन नदिन स्थानीय तह र विकासे कार्यालयमार्फत विकासका काम भइरहेका हुन् । बन्गाडकुपिण्डे नगरपालिकामा निषेधाज्ञायता करिब ४० वटा विकास योजना सम्पन्न भएका छन् ।

अहिले पनि करिब ५० योजनामा काम चलिरहेको नगरप्रमुख गोविन्दकुमार पुनले बताए । ‘निषेधाज्ञाकै कारण निर्माणका काम रोक्दा ठूलो रकम फ्रिज हुने देखियो,’ उनले भने, ‘संघीय र प्रदेश सरकारका ठूला योजनालाई पनि निरन्तरता दिएका छौं, गाउँगाउँमा उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।’ उनले उपभोक्ता र ठेकेदारमार्फत अहिले सिँचाइ, खानेपानी, विद्यालय भवन, सडकलगायत योजनामा काम भइरहेको बताए । नगरपालिकाले निषेधाज्ञाअघि करिब ४० प्रतिशत योजना मात्र सम्पन्न गरेको थियो ।

कोरोना महामारीका कारण भारत तथा अन्य मुलुकबाट फर्किएका नागरिकलाई प्राथमिकता दिई विकास योजना सञ्चालन गरिरहेको शारदा नगरपालिकाले जनाएको छ । ‘कोरोनाबाट बच्न विभिन्न उपाय अवलम्बन गरी विभिन्न निर्माणका काम अघि बढाएका छौं,’ नगरप्रमुख सुरेश अधिकारीले भने, ‘वर्षा र आर्थिक वर्षको अन्तिम महिना सुरु हुन लागेकाले पनि कामलाई तीव्रता दिइएको हो ।’ उनले चालु आर्थिक वर्षमा विनियोजन गरिएका ९० प्रतिशत योजनाको निर्माण सक्ने गरी उपभोक्ता समिति र ठेकेदारमार्फत काम भइरहेको बताए ।

चालु आवमा नगरपालिकाले करिब ३ सय योजना छनोट गरेकोमा ६० प्रतिशत योजना वैशाख पहिलो साताअघि नै सकिएका थिए । गाउँमा निषेधाज्ञाको असर नहुँदा निर्माणका काम गर्न सजिलो भएको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । उनका अनुसार गाउँमा अहिले सञ्चालन गरिएका योजनामार्फत दैनिक एक हजार जनाले रोजगारी पाइरहेका छन् । ‘गाउँको विकास भएको छ, स्थानीयले नियमित रोजगारी पनि पाएका छन्,’ उनले भने, ‘विकास निर्माणले भारतबाट फर्किएका नागरिकको जीविकोपार्जनमा सहयोग गरेको छ ।’ उनका अनुसार पालिकाले छनोट गरेका करिब ३ सय ५० योजनामध्ये ७० प्रतिशत सम्पन्न भएका छन् भने २० प्रतिशतको काम जारी छ ।

स्थानीय तहसँगै विकासे कार्यालयले पनि झोलुंगे पुल, पक्की पुल, सडकलगायत पूर्वाधार निर्माणका काम जारी राखेका छन् । दक्ष मजदुरी नपाउँदा केही समस्या भए पनि स्थानीय जनशक्तिको प्रयोग गरी निर्माणका काम गरिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख विनोदकुमार पुनले बताए । ‘गत वर्ष महामारीको निहुँ बनाएर काम नगरेका ठेकेदारले यो वर्ष उन्मुक्ति पाएका छैनन्,’ उनले भने, ‘ठेकेदारलाई समयमै काम गर्न ताकेता गरेका छौं, लकडाउनमा काम नगरेका ठेकेदारको म्याद थपिने छैन ।’

खानेपानी कार्यालयले पनि लकडाउनकै समयमा ७० वटा योजना निर्माणको काम भइरहेको जनाएको छ । प्राविधिक समस्याका कारण १० योजनाको काम रोकिए पनि अन्य योजनाको काम भइरहेको कार्यालय प्रमुख पदमराज देवकोटाले बताए । उनका अनुसार असार मसान्तभित्र निर्माणाधीन सबै योजना सक्ने कार्यालयको लक्ष्य छ । ‘लकडाउनका कारण निर्माण सामग्रीको ढुवानी र दक्ष कामदार पाउन भने मुस्किल भयो,’ उनले भने, ‘तर अधिकांश योजना सक्ने गरी कामलाई तीव्र बनाएका छौं ।’

प्रकाशित : जेष्ठ २६, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?