कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहुलियतको चामल लिन घुइँचो

कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गरेको छ
तुलाराम पाण्डे

कालीकोट — सरकारले निषेधाज्ञा अवधिभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लाग्न थालेको छ । झन्डै एक महिनादेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि चामल लिनेको भीड लागेको हो ।

सहुलियतको चामल लिन घुइँचो

कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गरेको छ । सहुलियतको चामल लिन सदरमुकाम मान्मसहितका गाउँबाट आइतबार २ सय ८० जना आएको कम्पनीले जनाएको छ । आइतबार मान्मस्थित खाद्य गोदामबाट ७६ क्विन्टल चामल बिक्री भएको शाखा प्रमुख शरण लामिछानेले बताए । ‘कोरोनापीडित नागरिकलाई छुटले विशेष राहत भएको छ,’ उनले भने, ‘काम गर्न नपाएर मर्कामा परेका नागरिकले अहिले धमाधम सहुलियतको चामल लिइरहेका छन् ।’ उनले स्थानीय प्रशासनको सल्लाहमा सोमबारदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र चामल बिक्री गर्न थालिएको बताए । उनका अनुसार सोमबार पनि ३ सय १२ जनाले ८४ क्विन्टल चामल लिएका छन् ।

सरकारले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई राहत मिलेको नरहरिनाथ–८ लालुका मानबहादुर विकले बताए । उनका अनुसार खाद्यले प्रतिपरिवार एक जनालाई नागरिकताको आधारमा २५ किलोको १ बोरा चामल दिने गरेको छ ।

सरकारले छुटको घोषणा नगर्दासम्म मान्मस्थित खाद्य गोदामबाट दैनिक २०/२५ जनाले मात्र चामल लिने गरेका थिए । अहिले थेगी नसक्नुको भीड लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनले कोरोना कहरमा भीड कम गर्न बिहान चामल बिक्री गर्ने नियम बनाइएको बताए । सोमबारसम्म मान्म शाखामा १ हजार ३ सय, पादमघाट डिपोमा ४ सय २३, खल्लागाडमा १ सय १०, थिर्पूमा ८६ क्विन्टल चामल मौज्दात छ ।

त्यस्तै खीन र धौलागोह बिक्री केन्द्रमा ठेकेदारले खाद्य संस्थानबाट चामल खरिद गरेर बिक्री गरिरहेका छन् । लकडाउनले बजार क्षेत्रका खाद्य पसल बन्द भएकाले आफूहरूलाई धेरै ठूलो राहत भएको खाडाचक्र–२ की जमुना दमाइले बताइन् । ‘बजारका पसल खुले पनि महँगो पर्ने,’ उनले भनिन्, ‘बजारको भन्दा सरकारी चामलको भात मीठो पनि छ ।’ उनका अनुसार गत वर्षको लकडाउनमा गाउँमा पर्याप्त खाद्यान्न नहुँदा काँचो बाली काटेर खानुपर्ने बाध्यता थियो । उनले ग्रामीण क्षेत्रका डिपोमा पनि पर्याप्त चामल पुग्न सके विपन्न नागरिकले राहतको महसुस गर्ने बताइन् ।

कम्पनीले २० प्रतिशत छुट हुनुअघि २५ किलोको अरुवा मोटा चामल प्रतिबोरा १ हजार १ सय ८७ रुपैयाँमा बिक्री गरिरहेको थियो । अहिले ९ सय ५० रुपैयाँमा चामल बिक्री भइरहेको छ । त्यस्तै १ हजार ५ सय पर्ने अरुवा मध्यम चामल १ हजार २ सय, १ हजार ६ सय ५० पर्ने जिरा मसिनो चामल छुटपछि १ हजार ३ सय २० र यसअघि १ हजार ४ सय ४० मा बिक्री हुने मकावनपुर चामल १ हजार १ सय ५२ रुपैयाँमा बिक्री भइरहेको छ ।

चामल खपत बढ्यो

सरकारले कर्णालीका बासिन्दाका लागि लागू गरेको जन्ममरण संस्कारको चामल कालीकोटमा बढी खपत हुने गरेको छ । सरकारले कर्णालीका हिमाली जिल्लामा जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने घोषणा गरेको छ ।

कम्पनीले ढुवानी ज्यालासहित यो वर्ष २ सय ७० क्विन्टल चामल जन्म र मृत्यु संस्कारमा वितरण गरेको छ । गत वर्ष मान्म डिपोबाट १५ लाख ९२ हजार रुपैयाँको चामल र ११ लाख २३ हजार रुपैयाँ ढुवानी खर्चबापत वितरण भएको शाखा प्रमुख लामिछानेले बताए । उनका अनुसार निषेधाज्ञाको समयमा समेत जन्म र मृत्युको निःशुल्क चामल लिन एक/दुई दिनको पैदल बाटो हिँडेर ग्रामीण भेगका बासिन्दा सदरमुकाम आउने गरेका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जन्मबापत १ हजार ४ सय ५२ जनाले २० किलोको दरले २ सय ९० क्विन्टल र मृत्युबापत ४७ जनाले ९ क्विन्टल चामल पाएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?