कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

कालीकोटमा राष्ट्रिय प्रसारण

कालीकोट — ठेक्का अवधि सकिएको दुई वर्षपछि सदरमुकाम मान्ममा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । लोडसेडिङको चर्को मारमा रहेका स्थानीयले सोमबार रातिदेखि राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न पाएका हुन् । 

कालीकोटमा राष्ट्रिय प्रसारण

दैलेखको दुल्लुबाट कालीकोटको मान्मसम्मको ६५ किमि प्रसारण लाइनमा बिजुली बलेको हो । लाइन जडानको ठेक्का पाएको त्रिपुरेश्वर/नवदुर्गा जेभीले ३ वर्षभित्र सबै काम सक्ने गरी आर्थिक वर्ष २०७३/७४ ठेक्का सम्झौता गरेको थियो । तर कम्पनीको ढिलाइले मान्ममा बल्ल बिजुली बलेको हो । अहिले सान्नीगाड साना जलविद्युत् केन्द्रबाट विद्युतीकरण भएका करिब २ हजार ८ सय घरधुरीमा बत्ती बलेको छ ।

मान्म, ताडी, रकु, मेहेलमुडी, मुम्रा, स्युना, सिप्खा र फुकोटमा पहिलो चरणमा बिजुली बलेको वितरण केन्द्र प्रमुख मेघराज जोशीले बताए । उनका अनुसार ३३ केभीको पुरै काम नसकिएकाले तत्काल ११ केभी लाइन मात्र आएको छ । उनले मान्ममा सबस्टेसन बनाउन बाँकी भएकाले पहिले मिटर जडान भएका घरमा सिधै बत्ती पठाइएको जानकारी दिए । जिल्लामा पहिलोपल्ट राष्ट्रिय प्रसारण लाइन जोडिएपछि स्थानीय खुसी छन् । ‘अब नियमित बत्ती बाल्न पाइने भयो,’ स्थानीय नर विकले भने, ‘बल्ल अँध्यारोबाट मुक्ति पाइयो ।’

कालीकोट र जुम्लालाई राष्ट्रिय प्रसारणसँग जोड्न दैलेखको दुल्लुबाट मान्मसम्म पोल खरिद, गाड्ने र लाइन तान्ने कामका लागि करिब १३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । अहिले मान्मभन्दा अगाडिको काम भइरहेको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जामन्त्री भएका बेला नीतिगत निर्णय गरेर कर्णालीमा राष्ट्रिय प्रसारण लाइन जडानको काम अघि बढाएका थिए ।


प्रकाशित : जेष्ठ २६, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?