कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाले भत्कायो पानी ट्यांकी

दुई गाउँका ७६ घरधुरी खानेपानी समस्या भोग्न बाध्य
छपाल लामा

हुम्ला — एक सातादेखि परेको अविरल वर्षाका कारण उनापानी खानेपानी योजनाको मूल ट्यांकी भत्किएपछि सर्कर्गोड गाउँपालिका–३ उनापानी र लेकगाउँमा पानी अभाव भएको छ । ट्यांकी भत्किएपछि दुई गाउँका ७६ घरधुरी खानेपानी समस्या भोग्न बाध्य छन् । एक महिनाअघि निर्मित ट्यांकी बिहीबार भत्किएको हो । 

यसअघि जीर्ण बनेको ट्यांकी भत्काएर गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनाले नयाँ ट्यांकी निर्माण गरेका थिए । २५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको ट्यांकी भत्किएपछि स्थानीयलाई पानीका लागि मुहानमै आउनुपर्ने बाध्यता भएको हो । ‘एक घण्टा हिँडेर पानी लिन मुहानमै जानुको विकल्प छैन,’ स्थानीय महेश थापाले भने, ‘मुहानमा पनि घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।’

पालो नपाउने डरले स्थानीयबासी राति उठेरै पानी भर्न मुहानमा जान्छन् । मुहानमा गएर पानी ल्याउन नसक्नेले कर्णाली नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष गगन थापाले बताए । ‘सक्नेहरूले मुहानमै गएर पानी ल्याएर उपभोग गरिरहेका छन्,’ उनले भने, ‘तर ज्येष्ठ नागरिक र अशक्त मात्रै भएका घरमा कर्णालीको धमिलो पानी प्रयोग गर्नुको विकल्प छैन ।’ उनका अनुसार वर्षा रोकिए पनि कर्णालीको पानी सङ्लो नहुँदा स्थानीयलाई धमिलो पानी पिउनुपर्ने बाध्यता भएको हो ।

गाउँ नजिकका अरू खानेपानी मुहान पनि खडेरीले सुकेपछि खानेपानीको हाहाकार भएको स्थानीय बेलु फडेराले बताइन् । ‘पशुचौपायालाई पानी खुवाउन खोलामै झार्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘चार दिनयता जतिखेर पनि पानीकै चिन्ता हुन्छ ।’ उनका अनुसार खानेपानी अभावका कारण सरसफाइका काम प्रभावित बनेका छन् भने गाउँका अधिकांश शौचालय प्रयोगविहीन बन्न थालेका छन् । मुहान टाढा भएकाले बालबालिका र वृद्ध बढी समस्यामा परेको उनको भनाइ छ ।

अविरल वर्षाका कारण सिमकोट गाउँपालिका–५ का राइसिंगे भण्डारीको घर भत्किएको छ । घर भत्किएपछि झण्डै ५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । अविरल वर्षाकै कारण ताजाकोट गाउँपालिकामा एक किसानको गोठ भत्किँदा १२ वटा बाख्रा मरेका छन् । वर्षाका कारण विभिन्न सरकारी संरचना, सडक र खेतबारीमा असर पुगेको स्थानीय लक्ष्मी भण्डारीले बताइन् ।

प्रकाशित : जेष्ठ १०, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?