कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला अस्पतालमा कोभिड उपचारमात्रै

हरि गौतम

रुकुम पश्चिम — जिल्ला अस्पतालमा अब कोरोना संक्रमितको मात्रै उपचार गरिने भएको छ । लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शय्यामा कोरोना संक्रमितको उपचार गरिन लागेको हो । यसअघि केही बेडमा मात्रै संक्रमितको उपचार भइरहेको थियो ।

संक्रमितको संख्या बढ्दै गएपछि अरू शय्या थपिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । उनका अनुसार स्वास्थ्य सेवा कार्यालय, स्टोर, आयुर्वेदिक शाखा, अस्पताल व्यवस्थापन समितिको कार्यालय, कार्यकक्ष सबैमा कोरोना संक्रमितको उपचारका लागि शय्या मिलाउन थालिएको हो ।

ती ठाउँमा सञ्चालित कार्यालयलाई केही समय बाहिरै राखेर सञ्चालन गरिने बताए । ‘फरकफरक ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्दा समस्या आउने देखियो,’ उनले भने, ‘अब संक्रमितलाई उपचार र हेरचाह गर्न पनि सजिलो हुनेछ ।’

अहिले झन्डै डेढ दुई किमिको दूरीका दुई ठाउँमा कोरोना संक्रमितलाई राखिएको छ । यसअघि जिल्ला अस्पताल र र मुसीकोट नगरपालिकाले भाडामा लिएको निजी अस्पतालमा कोरोना संक्रमितलाई उपचारका लागि राखिएको थियो । नियमित तथा अरू रोगका बिरामीको उपचार भने नगरपालिकाले भाडामा लिएको भवनमा गर्ने जिल्ला अस्पतालका डा.राजकुमार भुजेलले बताए । उनका अनुसार त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले डाक्टर तथा स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको छ । ‘अरू नियमित बिरामीको पनि उपचार गर्ने गरी वैकल्पिक व्यवस्था मिलाइएको हो,’ उनले भने, ‘यसअघि दुई ठाउँमा कोरोना संक्रमित राखे पनि डाक्टर तथा स्वास्थ्यकर्मीको पनि अभाव देखिएको थियो ।’

अहिले जिल्ला अस्पतालमा आठ शय्याको आइसोलेसन सञ्चालनमा छ । अब कोरोना संक्रमितको उपचारका लागि मात्रै आइसोलेसनसहित जिल्ला अस्पतालभित्र ७२ शय्या हुनेछन् । अस्पतालले एम्बुलेन्स र शववाहन पनि खरिद गर्ने तयारी गरेको डा. भुजेलले बताए । अहिले जिल्ला अस्पतालको एम्बुलेन्स छैन । जिल्लाभरि नै शववाहन छैन । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले अस्पतालमा पुगेर स्वास्थ्य सेवा कार्यालयको बैठकमा अपुग स्रोतसाधन पूर्ति गर्न र बिरामीको उपचारमा सजिलो बनाउन निर्देशन दिएका छन् । हालसम्म जिल्लामा पाँचजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । करिब ३ सय जनामा संक्रमण पुष्टि भएको छ ।

वीरेन्द्रनगरमा २५ शय्याको अस्पताल

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अक्सिजनसहितको २५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कटकुवा स्वास्थ्यचौकीलाई शुक्रबारदेखि कोभिड अस्पतालमा रूपान्तरण गरिएको हो । अस्पतालको २५ शय्यामध्ये १० वटामा अक्सिजनको सुविधा छ । अस्पताललाई ५० शय्याको बनाउने तयारी गरिएको नगरप्रमुख देवकुमार सुवेदीले बताए । ‘कोभिडका बिरामीलाई अब अक्सिजन नपाएर मर्न दिँदैनौं,’ उनले भने, ‘कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेकाले सहज उपचारका लागि अस्पताल सञ्चालन गरिएको हो ।’

संक्रमितलाई निःशुल्क एम्बुलेन्स

जुम्लाको सिंजा गाउँपालिकाले कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको एउटा एम्बुलेन्स अपुग भएपछि अध्यक्ष देवलसिंह रावलले प्रयोग गर्दै आइरहेको गाडीलाई पनि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने तयारी गरिएको हो ।

संक्रमित ओसार्न अर्को गाडी पनि भाडामा लिने गाउँपालिकाको तयारी छ । जुम्लामा दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उनीहरूलाई अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको हो । सिंजाबाट खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालसम्म गाडीले र त्यहाँबाट गाउँसम्म एम्बुलेन्सले संक्रमित ओसार्ने व्यवस्था मिलाइएको अध्यक्ष रावलले बताए । सिंजामा अहिलेसम्म ३ जना सक्रिय संक्रमित फेला परेका छन् । अघिल्लो वर्ष जिल्लाका सबै स्थानीय तहले रकम संकलन गरेर जिल्लाभरिका कोरोना संक्रमितको ओसारपसारका लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरेका थिए ।

प्रकाशित : वैशाख २५, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?