कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेर जाने काठबाटै आम्दानी

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकामा खेर गएका काठको उपयोग हुने भएको छ । विभिन्न सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा काठ खेर गएको भन्दै नगरपालिकाले सदुपयोग गर्न लागेको हो ।

उद्योगमार्फत काठको उपयोग गरी खेर गइरहेका काठबाट आम्दानी गर्ने योजना अघि सारिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । ‘वनबाट हरेक वर्ष बूढा रुख, ढलापडा, हटाउनै पर्ने रुख र कुकाठ खेर जाने गरेको छ,’ उनले भने, ‘ती काठ प्रयोग गरी फर्निचर निर्माण गर्न खोजेका हौं ।’ यसबाट खेर जाने काठको प्रयोग सँगै रोजगारी पनि सिर्जना हुने उनले बताए । उनका अनुसार हरेक सामुदायिक वन र त्यसमा आवद्ध उपभोक्ताको आम्दानी बढाउन र वन व्यवस्थापन गर्न यो योजना ल्याइएको हो ।

आठबीसकोट नगरपालिका–१० झिन्चौरमा काठ उद्योग स्थापना गरिएको हो । फर्निचर निर्माण र प्लाइउडको कच्चा पदार्थ बनाउनको लागि उद्योग स्थापना गरिएको हो । उद्योगमा सामुदायिक वन उपभोक्ता समितिहरूको २५ प्रतिशत लगानी छ । ७५ प्रतिशत रकम स्थानीय सरकार र प्रदेश सरकारले व्यहोरेको नगरपालिकाले जनाएको छ । उद्योगको परीक्षण पनि सफल भइसकेको नगरप्रमुख केसीले बताए ।

उद्योगका लागि भवन निर्माण, उद्योगको क्षेत्र परिसर तारबार र मेसिन खरिद गरी सकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म उद्योगमा झन्डै दुई करोड रुपैयाँ खर्च भइसकेको छ । १ करोड २७ लाखमा मेसिन खरिद गरिएको केसीले बताए । सबै मेसिन चीनबाट ल्याइएको हो । ‘गत वर्ष नै उद्योग सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण समस्या भएको थियो,’ उनले भने, ‘निजी–साझेदारी अवधारणाअनुसार उद्योग स्थापना गरिएको हो ।’

वनबाट निकालिएका काठबाट फर्निचरका सामग्री तथा प्लाइउडको कच्चा पदार्थ बनाइनेछ । १४ वडाका सबै सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापन गर्दा वार्षिक करिब २० हजार रूख उद्योगका लागि प्रयोगमा आउने अनुमान गरिएको छ । ‘एक वर्षमा २० हजार रूख उद्योगमा हाल्दा त्यसको मूल्य झन्डै दुई अर्ब हुन जान्छ, उद्योगले वार्षिक चार अर्बको कारोबार गर्ने लक्ष्य राखेका छौं,’ नगरप्रमुख केसीले भने, ‘उत्पादित फर्निचर कर्णाली प्रदेशभरि बिक्री गर्ने र प्लाइउडको कच्चा पदार्थ दाङ र नेपालगन्ज पठाउने तयारी गरेका छौं ।’

प्रकाशित : वैशाख २५, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?