कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल बनाउन स्थानीय तहको बेवास्ता

राजबहादुर शाही

मुगु — संघीय सरकारले हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउन बजेट विनियोजन गरे पनि स्थानीय तहले बेवास्ता गरेका छन् । अस्पताल नहुँदा स्थानीयवासी उपचारका लागि सास्ती भोग्न बाध्य छन् ।

अस्पताल बनाउन स्थानीय तहको बेवास्ता

सदरमुकामस्थित छायानाथरारा नगरपालिकामा मात्र २५ शय्याको अस्पताल छ । सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाले अस्पताल स्थापनमा ढिलाइ गरेका छन् । खत्याड गाउँपालिकाको रातापानीमा प्राथमिक स्वास्थ्य केन्द्र र मुगुमकार्मारोङको रिउसबगरमा ६ शय्याको अस्पताल छ । तर उपचार भरपर्दो नहुँदा सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको स्थानीय जन्मदेव विकले बताए । सोरुको नेर, फोतु, भीई, धैनकोटलगायत गाउँका बिरामी दुई दिन हिँडेर सदरमुकाम गई उपचार गराउन बाध्य छन् । ‘सानो बिराम देखिए पनि ज्यान गुमाउनुपर्ने बाध्यता छ,’ सोरु गाउँपालिका–७ का टेकबहादुर विष्टले भने, ‘तर पनि गाउँपालिकाले अस्पताल निर्माणमा बेवास्ता गरिरहेको छ ।’

खत्याड गाउँपालिकाको तल्लो भेगका बिरामीलाई उपचारका लागि एक दिन हिँडेर बाजुराको कोल्टी जानुपर्ने बाध्यता रहेको स्थानीय कमल शाहीले बताए । ‘गाउँको स्वास्थ्यचौकीमा न औषधि हुन्छ, न स्वास्थ्यकर्मी नै,’ उनले भने, ‘त्यसैले जडीबुटीको भरमा उपचार गर्न बाध्य छौं ।’ उनले गाउँपालिकाको माथिल्लो भेगका बिरामी जुम्लाको गोठीज्युला हुँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाने गरेको बताए । खत्याड गाउँपालिको रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नै १५ शय्याको अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले परिपत्र गरे पनि जनप्रतिनिधि नै विभाजित हुँदा थप प्रक्रिया अघि बढेको छैन । माथिल्लो भेगका जनप्रतिनिधिले माझचौर र तल्लो भेगका जनप्रतिनिधिले रातापानीमै अस्पताल बनाउने अडान लिएपछि प्रक्रिया रोकिएको हो ।

सोरु गाउँपालिकाले भने तारापानीमा १५ शय्याको अस्पताल निर्माणको टुंगो लगाइसकेको छ । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लका अनुसार अस्पताल निर्माणका लागि १० करोड रुपैयाँको बजेटबाट ठेक्का प्रक्रिया अघि बढिसकेको छ । मुगमकार्मारोङको रिउसबगरमा पालिकास्तरीय १५ शय्या अस्पताल बनाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

संघीय सरकारको नीतिअनुसार स्थानीय तहले १५ शय्याको अस्पताल निर्माणमा ढिलाइ गर्दा उपचारमा समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानसिंह वुढाले सुनाए । ‘जिल्लाभरिका बिरामीको उपचारको जिम्मा जिल्ला अस्पतालले मात्रै लिएको छ,’ उनले भने, ‘संघीय सरकारबाट आएको बजेट पनि स्थानीय तहले सदुपयोग गर्न सकेका छैनन् ।’

प्रकाशित : वैशाख २४, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?