कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसीकोटमा ५० सय्याको आइसोलेसन

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिकाले ५० शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको छ । मुसीकोट–१ सल्लेस्थित राप्ती समाज अस्पताललाई भाडामा लिएर नगरपालिकाले आइसोलेसन बनाएको हो ।

मुसीकोटमा ५० सय्याको आइसोलेसन

अस्पतालमा ५० शय्या तयार छन् । थप शय्या राख्ने ठाउँसमेत अस्पतालमा छ । पहिलो चरणमा ५ वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए । उनका अनुसार प्रतिमहिना २ लाख २५ हजार रुपैयाँ भाडा तिर्ने गरी अस्पताल भाडामा लिइएको हो । ‘नयाँ व्यवस्थापन गर्न समय र बजेट धेरै चाहिने भएपछि अस्पताललाई भाडामा लिएका हौं,’ उनले भने, ‘जिल्ला अस्पतालमा पनि आइसोलेसन भएकाले अहिले नगरपालिकाभित्र खासै ठूलो समस्या छैन ।’

जिल्ला अस्पतालमा ७ शय्याको मात्रै आइसोलेसन छ । त्यसमा १२ संक्रमितको उपचार भइरहेको थियो । अस्पतालमा शय्या नभएपछि बाहिर र भुइँमै राखेर उपचार थालिएको थियो । ५० बेडको अस्पताल सञ्चालनमा आएपछि ३ जना बिरामीको उपचार पनि सुरु भइसकेको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए । उनका अनुसार तत्कालका लागि ४ जना स्वास्थ्यकर्मी खटाइएको छ । दोस्रो तलामा स्वास्थ्यकर्मी बस्ने व्यवस्था मिलाइएको छ भने पहिलो र भुइँ तलामा संक्रमितको उपचार गरिनेछ । यही अस्पताललाई गत वर्ष नगरपालिकाले क्वारेन्टाइनको रूपमा प्रयोग गरेको थियो ।

पहिलो चरणमा ५ वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिए पनि थप अक्सिजन खरिद प्रक्रिया अघि बढाइएको नगरप्रमुख देवीलाल गौतमले बताए । उनका अनुसार एकैपटक ५० जनाको उपचार गर्न मिल्ने गरी अस्पताल भाडामा लिइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हरेक स्थानीय तहमा २० शय्याको आइसोलेसन बनाउने निर्णय गरेको थियो । चौरजहारीमा पनि १८ शय्याको आइसोलेसन तयारी अवस्थामा छ । चौरजहारी अस्पतालमा एक सय बेडको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख विशाल शर्माले बताए ।

आठबीसकोट नगरपालिकाले गत वर्ष नै निर्माण गरेको आइसोलेसन भवनलाई व्यवस्थित गर्दैछ । अहिले १५ देखि २० जना संक्रमितको एकैपटक उपचार गर्न सकिने नगरप्रमुख गोर्खबहादुर केसीले बताए । उनका अनुसार आइसोलेसनका लागि अक्सिजनको व्यवस्था भइरहेको छ । सानीभेरी र त्रिवेणी गाउँपालिकाले पनि २०/२० शय्याको आइसोलेसन बनाउने तयारी थालेका छन् । त्रिवेणीमा पहिल्यै भएको १२ बेडको अस्पतालमा ८ शय्या थप्न लागिएको छ । सानीभेरीले पनि १० शय्याको अस्पताललाई २० बेडको बनाउन थालेको छ । बाँफिकोट गाउँ कार्यपालिका बैठकले १५ बेडको अस्पताल बनाउने निर्णय गरेर व्यवस्थापनको काम अघि बढाएको छ । केन्द्रको निर्णयअनुसार २० बेडको अस्पताल बनाउने काम सुरु भइसकेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए ।

हरेक पालिकामा २० संक्रमितको एकै पटक उपचार गर्न सकेको खण्डमा जिल्लामा जटिल समस्या नआउने जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए । ‘सबैतिर अक्सिजनको व्यवस्थापन गर्न लागेका छौं,’ उनले भने, ‘अक्सिजन प्राप्त हुनेबित्तिकै सबै स्थानीय तहमा संक्रमितको उपचार सुरु हुनेछ ।’

प्रकाशित : वैशाख २३, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?