तुइनकै भरमा भेरी वारपार

तुइनबाट वारपार गर्दा मोबाइल, घडी, किताब, नगद, खाद्य सामग्रीलगायत खस्ने गरेका छन्
भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका–१ ठूलाबगरका हरि पुन दैनिक तुइनकै भरमा आउजाउ गर्छन् । उनी खाद्यवस्तु ल्याउन र अन्य घरायसी कामकाजका लागि जोखिमपूर्ण तुइन प्रयोग गर्न बाध्य छन् । उनका छिमेकी दले पुनलाई पनि गाउँ बाहिर जानुपर्दा तुइनको प्रयोग नगरी सुखै छैन ।

ठूलाबगरका ६ देखि १० कक्षा पढ्ने बालबालिकालाई पनि माध्यमिक तहको पढाइका लागि रिम्नास्थित विद्यालय पुग्न तुइन चढ्नुको विकल्प छैन । नलगाड नगरपालिका–१ ठूलाबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ छोटेतराबीचको सम्बन्ध पनि तुइनले नै जोडिएको छ । भेरी नदीमा पुल नहुँदा र अन्यत्रबाट पनि आवतजावत गर्ने बाटो नहुँदा वर्षौंदेखि दुवै गाउँका बासिन्दा तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

रुकुम पश्चिमको भल्मा, पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेलालगायत ठाउँका बासिन्दालाई पनि तुइन प्रयोग गर्नुपर्ने बाध्यता छ । स्कुले बालबालिकादेखि ज्येष्ठ नागरिकलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता भएको हो । ठूलाबगर, खर्चा, दम्सिला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका झन्डै एक सय परिवारले स्थानीय प्रविधिबाट निर्मित तुइन प्रयोग गरिरहेका छन् ।

स्थानीय प्रविधिबाट काठले बनेको ढुंग्रोमा बसी फलामको डोरीमा झुन्डिएर एक सय मिटर चौडा भेरी नदी वारपार गर्नुपर्ने ६५ वर्षीय झुपलाल घर्तीले बताए । ‘तुइन तरेरै जिन्दगी बित्न लाग्यो । भेरीमा पुल बनाइदिन आग्रह गर्दा कसैले नसुनेन्,’ उनले भने, ‘पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भीरको बाटो छ ।’ उनका अनुसार भीरको बाटोबाट लडेर ३ वर्षको अवधिमा झन्डै १० जनाको ज्यान गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाती भएको उनले जनाए ।

वर्षौंदेखि एउटै तुइनको सहायताले नदी वारपार गर्दै आएको उनी बताउँछन् । स्थानीयका अनुसार २०/३० बर्ष अघिसम्म नदी वारपार गर्दा चिन्डा र ढुंगा (नाउ) को प्रयोग गरिएको थियो । चिन्डाको माध्यमले वारपार गर्ने क्रममा नदी बगेर ज्यान गुमाउनेको संख्या बढेपछि तत्कालीन जिल्ला विकास समितिले फलामे लट्ठा दिएर तुइन बनाउन लगाएको थियो ।

२० वर्षअघि बनेको उक्त तुइनकै भर दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न, औषधि उपचार गर्न र अन्य कामकाजका लागि आवतजावत गर्नुको विकल्प नभएको स्थानीय वीरबहादुर पुनले बताए । भेरी नदीमा पुल बनाउन विभिन्न निकायमा पटकपटक आग्रह गरे पनि राजनीतिक पहुँच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको उनको गुनासो छ । ‘विकासे कार्यकर्ता र राजनीतिक दलका स्थानीय नेता पनि तुइनको सहायताले नदी वारपार गर्छन्,’ उनले भने, ‘हामी पुल निर्माणका लागि पहल गर्छौं भन्न थालेको वर्षौं बित्यो तर पुल निर्माण हुन सकेन ।’ तुइनबाट यो वर्ष तीन जना नदीमा खस्दा पनि स्थानीयले पौडी खेलेर बचाउन सफल भएको उनले बताए ।

तुइनबाट वारपार गर्ने क्रममा मोबाइल, घडी, किताब, नगद, खाद्य सामग्रीलगायत खस्ने गरेको उनले गुनासो गरे । तुइनको पोल, घिर्नी र मान्छे बस्ने ढ्वांग्रो काठबाट बनेकाले झन् जोखिम भएको स्थानीयको भनाइ छ । बर्सेनि उक्त काठ बदल्न स्थानीयबाट चन्दा उठाएर मर्मत गर्ने पुनले बताए । उनका अनुसार यो वर्ष ३० हजार रुपैयाँ खर्चेर तुइन मर्मत गरिएको छ । जनजाति र दलितको बाहुल्यता रहेको ठूलाबगरलगायत ठाउँका बासिन्दाको पुलद्वारा नदी वारपार गर्ने धोको सपनामा सीमित भएको छ । नलगाड नगरपालिकाको दुई स्थानमा तुइन सञ्चालनमा रहेको भन्दै नगरप्रमुख टेकबहादुर रावलले स्थानीय तहको बजेटले पुल बनाउन सम्भव नहुँदा संघीय सरकारसँग माग गरिएको बताए ।

प्रकाशित : वैशाख १८, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

९ वर्षदेखि भेरी पुल अलपत्र

अहिलेसम्म पुलको जग निर्माणसमेत पूरा भएन
पुलको बजेट १३ करोड ४७ लाख
भीमबहादुर सिंह

जाजरकोट — मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीस्थित रुकुम पश्चिम र जाजरकोट जोड्ने पुल ९ वर्षदेखि अलपत्र परेको छ । अहिलेसम्म पुलको जग निर्माणसमेत पूरा भएको छैन ।

ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डको निर्माण पनि अधुरो बनेको छ । ठेक्का सम्झौता भएको तीन वर्षभित्र काम सक्ने गरी पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले लिएको थियो । कम्पनीले एक सय मिटरको पुल निर्माण गर्न २०६९ मा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । पुल निर्माणका लागि सरकारले १३ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ ।

पुल नबन्दा सडक स्तरोन्नतिको काममा समस्या भएको छ । व्यापार व्यवसाय गर्न कठिन भएको स्थानीय बासिन्दाको गुनासो छ । पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुंगे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीय कमल केसीले बताए । उनका अनुसार पुलकै कारण चौरजहारी नयाँ सहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ ।

ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरवाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ‘ठेकेदारले जग पनि निर्माण नगरी पुल निर्माणको काम अलपत्र छाडेका छन्,’ उनले भने, ‘पुल नबन्दा दुई जिल्लाको सडक सम्बन्ध अझै जोडिएको छैन ।’ पुल निर्माणका लागि आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई ताकेता गर्दा पनि बेवास्ता भएको उनले गुनासो गरे ।

पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय, दैलेखका इन्जिनियर होमनाथ पौडेलले बताए । उनका अनुसार पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउन्डेसन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन । ‘पुलको सबस्टक्चरकै काम पूरा भएको छैन,’ उनले भने, ‘सुपर स्टक्चरको काम झन कहिले होला ?’ कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ । पुल निर्माणको तत्काल अघि बढाउन ताकेता गर्दै यो वर्ष दुईपल्ट पत्राचार गरिसकेको कार्यालयले जनाएको छ ।

इन्जिनियर पौडेलका अनुसार पुल निर्माणका लागि सुरुका वर्षमा जग बनाउन समस्या थियो । तर अहिले कुनै समस्या नभए पनि ठेकेदारले काममा ढिलाइ गरिरहेको उनले बताए । ‘भेरी नदीको बहाव सुरु भइसक्यो, त्यसैले सबस्टक्चरको काम गर्न चुनौती छ,’ उनले भने, ‘ठेकेदारले पुल निर्माणमा चासो नदिएकाले ठेक्का तोडेर कारवाही अगाडि बढाउने प्रक्रिया थालेका छौं ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेललगायतको टोलीले एक महिनाअघि आयोजनाको अनुगमन गरी ठेकेदारलाई तत्काल काम अघि बढाउन निर्देशन दिएको थियो । ठेकेदारले पहुँचको आडमा कार्यालयको ताकेतालाई बेवास्ता गर्दा पुल निर्माणमा समस्या भएको आयोजनाका सुपरभाइजर प्रशान्त यादवले बताए । ‘पुल निर्माणका लागि ल्याएका डोजर, टिपर, मिक्चरलगायत मेसिन निर्माणस्थलमा अलपत्र छन्,’ उनले भने, ‘अधिकांश उपकरण काम नलाग्ने अवस्थाका छन् ।’ उनका अनुसार पुल निर्माणका लागि ल्याएको छड, गिट्टी बालुवालगायत निर्माण सामग्री पनि निर्माणस्थलमा अलपत्र छ । उनले चाल् ुआर्थिक वर्षमा कुनै काम नभएको बताए ।

सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाईपी कन्स्ट्रक्सनका प्रोपाइटर श्रेष्ठले बताए । ‘पुल निर्माण सुरु भएको दुई वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेको हो,’ उनले भने, ‘समयमै डिजाइन भएको भए पुलको काम यतिबेला सकिन्थ्यो ।’

बनेन पासागाड पुल

छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाड खोलाको पुल पनि आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभागको लापरबाहीका कारण पुल निर्माणको काम अधुरो बनेको हो । छिन्चु–जाजरकोट सडकको अधिकांश खोला र नदीमा पक्की पुल निर्माण भइसकेका छन् । तर गलत डिजाइनका कारण ठेक्का सम्झौता भएको आठ वर्ष बित्दासमेत पासागाड खोलाको पुलको निर्माण सुरु हुन सकेको छैन । सडक विभाग र आइएमई आरसी कन्सलटेन्सी, ललितपुरको लापरवाहीले पुल निर्माण अलपत्र परेको हो ।

कन्सल्टेन्सीले हचुवाको भरमा पुलको डिजाइन गर्दा निर्माण अलपत्र परेको सडक डिभिजन कार्यालय, चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए । उनका अनुसार पुल निर्माणका लागि आठ वर्षअघि ३ करोड रुपैयाँमा लुम्बिनी/आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको छ । ‘सुरुमा पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल मिलेन,’ उनले भने, ‘पुलको डिजाइन एक र निर्माणस्थलको लोकेसन अर्को हुँदा काम गर्न समस्या भएको हो ।’

आइएमई आरसी कन्सलटेन्सीले ७ लाख रुपैयाँमा पुलको डिजाइन गरेको थियो । कम्पनीले ४६ मिटर लम्बाइको पुलको डिजाइन गरे पनि पासागाडमा पुल बनाउने दुरी २५ मिटरभन्दा बढी छैन । आठ वर्षअघि डिभिजन कार्यालयका प्राविधिकले निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो ।

डिभिजन प्रमुख झाका अनुसार सडक विभागले उक्त डिजाइनलाई रद्द गरी नयाँ डिजाइन गरिसकेको छ । नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दररेटअनुसार निर्माण गर्न ठेकेदारले नमानेपछि पुलको काम अलपत्र परेको उनले बताए । ‘पुरानो दररेटअनुसार लागत घट्दा निर्माण कम्पनीले काम गर्न सक्ने अवस्था देखिएन,’ उनले भने, ‘नयाँ डिजाइनअनुसार करिब ३ करोड रुपैयाँको लगानीमा २५ मिटरको पुल बन्नेछ ।’

प्रकाशित : वैशाख १५, २०७८ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×