कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्वरोका बिरामी बढे

जनकबहादुर शाही

सिमकोट — मौसमी परिवर्तनसँगै गाउँगाउँमा ज्वरोका बिरामी बढेका छन् । बिरामी बढेसँगै जिल्लाका स्वास्थ्य संस्थामा आउनेको चाप बढेको छ ।

ज्वरोका बिरामी बढे

जिल्ला अस्पतालमा पनि दैनिक ८० सम्म बिरामी उपचारका लागि आएका छन् । बिरामी बढेसँगै उच्च सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । ‘एकातिर कोरोनाको त्रास छ, अर्कोतिर ज्वरोका बिरामी बढिरहेका छन्,’ उनले भने, ‘उपचारका लागि आउनेहरू बढेपछि स्वास्थ्य संस्थाहरूमा औषधिको मौज्दात सकिन थालेको छ ।’

पछिल्लो पटक परेको हिउँका कारण चिसो बढेपछि बिरामी बढेको उनले बताए । हुम्लामा एक साताअघि हिमपात भएको थियो । उपचारका लागि आउने बिरामीमा ज्वरो आउने, घाँटी र शरीर दुख्ने, पखाला लाग्ने, सास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

खार्पुनाथ गाउँपालिका–५ की कमला शाहीले गाउँमा धमाधम बिरामी बढिरहेको बताइन् । उनी पनि एक सातादेखि ज्वरोले थला परेकी छिन् । ‘धुँवा–धुलोका कारण पनि घरघरमा बिरामी बढेका छन्,’ उनले भनिन्, ‘सबैतिर कोरोनाको डर भएपछि घरेलु विधिबाट उपचार गरिरहेका छौं ।’

मौसम परिवर्तन आएसँगै ज्वरोका बिरामी बढेको जिल्ला अस्पतालका डा. नवीन रोकायाले बताए । ‘ज्वरोले बालबालिका बढी प्रभावित छन्,’ उनले भने, ‘ज्येष्ठ नागरिकमा दमको समस्या देखिएको छ ।’ चेकजाँचका लागि अस्पताल आएका बिरामीमा शंकास्पद लक्षण देखिए कोरोना परीक्षण गरिने उनले जानकारी दिए । उनका अनुसार एन्टिजीन किटबाट अहिलेसम्म कोरोना परीक्षण गरिएका सबै बिरामीको रिपोर्ट नेगेटिभ देखिएको छ ।

सिमकोटका विद्यालय बन्द

कोरोनाको जोखिम बढेपछि सिमकोट गाउँपालिकाका सबै विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरिएको छ । केही विद्यार्थीमा स्वासप्रस्वासको समस्या देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए । सिमकोटमा २३ सामुदायिक र ५ निजी विद्यालय छन् ।

प्रकाशित : वैशाख १५, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?