कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

स्यार्पुमा अर्को विद्युत् आयोजना बन्दै

हरि गौतम

रुकुम पश्चिम — २ सय ५० किलोवाट बिजुली उत्पादन भइरहेको बाँफिकोट गाउँपालिकास्थित स्यार्पु तालबाट अर्को विद्युत् आयोजना निर्माण हुने भएको छ । ३.३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको आधारभूत काम सकिएको छ ।

स्यार्पुमा अर्को विद्युत् आयोजना बन्दै

आयोजनामा स्यार्पु तालबाट पानी निकालेर ४ नम्बर वडाको बालुवाचौरमा बन्ने विद्युत् गृहमा पठाइनेछ । स्यार्पु पावर कम्पनीले आयोजनाका लागि ‘फिजिबिलिटी’ अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनको काम सकेको छ भने विस्तृत डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । विद्युत् विभागसँग विद्युत् खरिद–बिक्रीको सम्झौतासमेत गरिसकेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रदीप ओलीले बताए । उनका अनुसार कम्पनीले २ वर्षको सर्भे लाइसेन्स लिएको थियो । ‘अब उत्पादन लाइसेन्स लिने तयारीमा छौं,’

उनले भने, ‘लाइसेन्स पाउनेबित्तिकै पूर्वाधार निर्माणको काम सुरु हुनेछ ।’ भौतिक पूर्वाधार निर्माणका लागि ठेक्का खोल्ने तयारी भइरहेको उनले जानकारी दिए । विद्युत् उत्पादनमार्फत उज्यालो र आम्दानी गर्ने उद्देश्यसहित आयोजनाको निर्माण थालिएको हो । यसमा स्थानीय सरकार र सर्वसाधारणको लगानी हुनेछ । करिब ५० करोड रुपैयाँ खर्चेर बनाइने आयोजनाको विद्युत् बाहिर पठाउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत ओलीले बताए । उनका अनुसार आयोजनामा जिल्लाका ६ स्थानीय तहले ५५ प्रतिशत लगानी गर्नेछन् भने ४५ प्रतिशत लगानी स्थानीयको हुनेछ । उनले भौतिक संरचना निर्माणको काम ५० प्रतिशत सकिएपछि सर्वसाधारणले लगानी गर्ने जानकारी दिए ।

कम्पनीका अध्यक्ष धनवीर ओलीले जिल्ला समन्वय समितिबाट ६५ लाख, मुसीकोट नगरपालिकाबाट ३० लाख, चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकाबाट १०/१० लाख रुपैयाँ प्राप्त भएको बताए । उनका अनुसार बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले पनि १०/१० लाखको सेयर खरिद गरेका छन् । आठबिसकोट नगरपालिकाले ६० र अरू स्थानीय तहले ३०/३० लाख रुपैयाँ सेयर किन्ने घोषणा गरेको उनले बताए ।

प्रकाशित : वैशाख १०, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x