१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

हट्यो दियालो, बिजुलीले झिलिमिली

हरि गौतम

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–३ खदीका रवीन्द्र बोहरा तीन महिनायता दियालो लिन जंगल गएका छैनन् । उनका छिमेकी मनबहादुर नेपालीले पनि दियालो खोज्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

हट्यो दियालो, बिजुलीले झिलिमिली

केही समययता अँगेनामा आगो सल्काउँदाबाहेक उनीहरूको घरमा दियालो प्रयोग भएको छैन । नेपाल विद्युत् प्राधिकरणले जिल्लाको दुर्गम गाउँ खदीमा केन्द्रीय लाइन विस्तार गरेपछि खदीवासीले दियालोबाट मुक्ति पाएका हुन् । तीन महिनाअघि खदीका बासिन्दालाई उज्यालोका लागि दियालो बाल्नुपर्ने बाध्यता थियो । नगरपालिकाका १४ वडामध्ये ३ नम्बर वडाको खदीमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । ‘बाजेको पालादेखि नै उज्यालोका लागि सल्लाको दियालो प्रयोग गरिरहेका थियौं,’ बोहराले भने, ‘गाउँमा बिजुली बल्न थालेपछि उज्यालो युगको महसुस गरेका छौं ।’ बत्तीले घर–आँगन मात्र होइन, मन पनि उज्यालो भएको नेपालीले बताए । ‘गाउँसँगै मन पनि झलमल्ल भएको छ,’ उनले भने, ‘वर्षौंदेखिको अँध्यारोको सास्तीबाट बल्ल मुक्ति पायौं ।’

अहिलेसम्म खदीका ५४ घरमा मिटरबक्स जडान गरी बिजुली बालिएको छ । २ सय ५७ घरमा विद्युत् पुर्‍याउने गरी केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको वडाध्यक्ष केशरमान विकले बताए । ‘अरू घरमा पनि मिटर जडान गरिरहेका छौं,’ उनले भने, ‘एक महिनाभित्र सबै घरमा बिजुली बल्नेछ ।’ सडकको पहुँच नभएको गाउँमा पनि बिजुली बलेपछि स्थानीयवासी खुसी भएको उनको भनाइ छ ।

पुस २५ गते खदीको ट्रान्सफर्मरमा बिजुली बलेको थियो । नेपाल विद्युत् प्राधिकरणको लाइन विस्तार परियोजनाअन्तर्गत जिल्लाका अन्य ठाउँमा पनि विद्युत् विस्तार तीव्र पारिएको छ । हाइड्रो इनर्जी/महाशक्ति जेभीले जिल्लामा विद्युत् विस्तारको काम गरिरहेको हो । निर्माण कम्पनीका प्रतिनिधि हरि चन्दका अनुसार १९ करोड ३७ लाख रुपैयाँको लागतमा विद्युत् विस्तारको काम भइरहेको छ । जिल्लामा प्राधिकरणका झन्डै १२ हजार उपभोक्ता छन् ।

दुई सबस्टेसनबाट बिजुली आपूर्ति

रुकुम पश्चिममा सल्यान र जाजरकोटका सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएको छ । सल्यानको शीतलपाटी र जाजरकोटको कुदु सबस्टेसनबाट बिहीबारदेखि विद्युत् आपूर्ति थालिएको हो ।

यसअघि सल्यानको शीतलपाटीबाट मात्र विद्युत् आपूर्ति भइरहेको थियो । कुदु सबस्टेसनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा विद्युत् आपूर्ति सुरु गरिएको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए । ‘शीतलपाटीदेखि रुकुम पश्चिमसम्मको लामो लाइनमा बेलाबेला खराबी आउँदा विद्युत् अनियमित भइरहेको थियो,’ उनले भने, ‘अब जिल्लाभरि विद्युत् नियमित हुने अपेक्षा छ ।’ उनका अनुसार दुवै सबस्टेसनबाट ११ केभी विद्युत् लाइन आपूर्ति भएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ धैरनीचौरमा पनि विद्युत् सबस्टेसन बन्दै छ । यसै महिनाभित्र उक्त सबस्टेसनबाट पनि विद्युत् आपूर्ति थालिने भट्टराईले बताए । उनका अनुसार धैरेनीचौरमा ३३ केभी क्षमताको विद्युत् आपूर्ति हुने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो । कुदु सबस्टेसनको विद्युत्लाई जिल्लाका झन्डै १२ हजार ग्राहकसँग लिंक गरिएको छ ।

लामो सबस्टेसनबाट आपूर्ति भएको विद्युत्का कारण सर्वसाधारण तथा उद्योगी–व्यवसायीले मार खेप्दै आएका थिए । ‘दुई ठाउँबाट विद्युत् सप्लाई हुने भएपछि केही राहत भएको छ,’ स्थानीय व्यवसायी शैलेन्द्र ओलीले भने, ‘यसअघि हरेक दिनजस्तो विद्युत्ले धोका दिँदा व्यवसाय चौपट थियो ।’

प्रकाशित : वैशाख ९, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?