कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अफिम खेती नष्ट

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला प्रहरी कार्यालयले गत वर्ष झन्डै ५० रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गर्‍यो । यो वर्ष करिब एक सय रोपनीमा लगाइएको अफिम नष्ट गरेको प्रहरीको तथ्यांक छ । तर खेतीमा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

अफिम खेती नष्ट

जिल्ला प्रहरी कार्यालयले बर्सेनि यही सिजनमा अफिम नष्ट गर्न अभियान चलाउने गरेको छ । तर खेती गर्नेको पहिचान नहुँदा संलग्नहरू पक्राउ नपरेका हुन् । जिल्लामा सबैभन्दा बढी नलगाड नगरपालिकामा अफिमको खेती भइरहेको कार्यालयको तथ्यांक छ । गाउँमा व्यावसायिक रूपमा अफिम खेती हुन थाले पनि संलग्नमाथि कारबाही नहुँदा मनोमानी बढिरहेको स्थानीय कमल केसीले बताए ।

उनका अनुसार कम लगानीमा धेरै आम्दानी हुने प्रलोभनमा किसानले अफिम खेती गरिरहेका हुन् । ‘अधिकांशलाई अफिम अवैध हो भन्नेसमेत थाहा छैन,’ उनले भने, ‘धेरैले बढी कमाउने आशामै अफिमको व्यावसायिक खेती गरिरहेका छन् ।’

प्रहरीले अफिम खेती नष्ट गरेर लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रण गर्न खोजे पनि बर्सेनि खेती बढिरहेको सक्लाका प्रेम विकले बताए । ‘अफिम नष्ट भए पनि संलग्नलाई कुनै पनि सजाय नहुँदा मनोमानी बढिरहेको छ,’ उनले भने, ‘वर्षमा १/२ जनालाई कारबाही भए पनि खेती रोकिन्थ्यो ।’

प्रहरीले यो वर्ष मात्र २५ किलो अफिमसहित १२ जना कारोबारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । धेरै आम्दानीको आशामा स्थानीयले अन्नबालीको खेती छोडेर अफिम लगाउने गरेको पाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए । उनका अनुसार सिँचाइ सुविधा नभएका जग्गामा अफिम खेती हुने गरेको पाइएको छ । ‘बर्सेनि अभियान चलाइरहेका छौं, तर पनि खेती रोकिएको छैन,’ उनले भने, ‘मातहतका सबै प्रहरी एकाइलाई नियमित गस्ती गरी खेती नष्ट गर्न निर्देशन दिइएको छ ।’

स्थानीयले उत्पादन गरेको अफिम किन्न व्यापारीहरू गाउँमै पुग्ने गरेकाले पनि खेती मौलाएको नलगाड–३ का दीपक पुनले बताए ।

प्रकाशित : वैशाख ३, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?