खाता नखोल्दा भत्ता रोकियो- कर्णाली - कान्तिपुर समाचार

खाता नखोल्दा भत्ता रोकियो

कान्तिपुर संवाददाता

मुगु — खत्याड गाउँपालिका–४ पैखुका ८३ वर्षीय लालचन्द थापाले साउनदेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । ९ महिना बित्दासमेत भत्ता नपाएपछि जीविकोपार्जनमा समस्या भएको उनको गुनासो छ । उनका छिमेकी ७० वर्षीय असारे टमटाले पनि भत्ता नपाउँदा नियमित औषधि सेवन गर्न सकेका छैनन् ।

मुगुको खत्याड गाउँपालिकाका ज्येष्ठ नागरिक । तस्बिर : कान्तिपुर

गाउँपालिकाले ९ महिनादेखि सामाजिक सुरक्षा भत्ता निकासा नगर्दा ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन् । भत्ता नपाउँदा खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री खरिद गर्न समस्या भएको थापाले बताए । टमटा दमका रोगी हुन् । ‘नियमित औषधि सेवन गर्नुपर्छ,’ उनले भने, ‘अरू आम्दानीको बाटो छैन, भत्ता नपाएपछि घरेलु उपचारको भर पर्नुपरेको छ ।’

गाउँपालिकाका अनुसार ११ वडामा ६० देखि ७० वर्षसम्मका करिब २ हजार र ७० वर्षमाथिका ३ हजार ज्येष्ठ नागरिक छन् । मासिक रूपमा भत्ता वितरण नहुँदा अधिकांश ज्येष्ठ नागरिक मर्कामा परेको श्रीकोटका गोकर्ण शाहीले बताए । ‘लामो समयदेखि भत्ता रोकियो, कर्जा कारेर परिवारको खर्च चलाउनु परेको छ,’ उनले भने, ‘अरू स्रोत नहुँदा भत्ताकै भर थियो, नपाएपछि विपन्न नागरिकले ठूलो सास्ती भोगिरहेका छौं ।’

अधिकांश ज्येष्ठ नागरिकले बैंक खाता नखोलेकाले सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष उब्जन शाहीले बताए । उनका अनुसार सुरक्षा भत्ता लिन यो वर्षदेखि बैंक खाता अनिवार्य गरिएको छ ।


प्रकाशित : वैशाख २, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्

कुम्भ रणनीति र ज्ञानेन्द्र

चेसको खेलमा झैं कुन बेला कुन प्यादा काम लाग्छ भन्नेमा भारत निकै चनाखो रहने गरेको छ ।
मल्ल के सुन्दर

भारतको उत्तराखण्डस्थित हरिद्वारमा सुरु भएको महाकुम्भ मेला पछिल्लो सातादेखि नेपाली राजनीतिक वृत्तमा विशेष चासोको विषय बनिरहेको छ । प्रत्येक बाह्र वर्षमा लाग्ने यस मेलाको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा विशेष स्थान छ ।

समुद्रमन्थन गर्दा निस्केको अमृत घडा (कुम्भ)माथिको स्वामित्वलाई लिएर देवगण तथा दैत्यगणबीच भीषण संघर्ष हुँदा उक्त घडामा रहेको अमृत केहीकेही अंश प्रयाग(इलाहाबाद), गोदावरी (नासिक), सिपरा(उज्जैन) तथा गंगा(हरिद्वार)मा झरेको उल्लेख हिन्दु आख्यानहरुमा पाइन्छ । सोही अमृत–आस्थासँगजोडेर ती चारै स्थानमा समयसमयमा कुम्भ मेला लाग्ने गर्छ । हरिद्वारमा अहिले लागिरहेको महाकुम्भतिनैमध्ये एक हो ।

आआफ्ना आस्था र विश्वासअनुसार मोक्षको कामना लिएर मानिसहरु यस्ता पर्व/अवसरतिर जानु स्वाभाविक होला । साथै धर्मभीरुहरुमाझ यी सन्दर्भलाई लिएर आ–आफ्नै किसिमको चेवा र चर्चा हुँदो हो । तर हरिद्वारको अहिलेको महाकुम्भसँगै जोडेर नेपाली समाजमा तरङ्गित पछिल्लो चासो अलिक भिन्न र गम्भीर प्रकृतिको देखियो । विशेषत: महाकुम्भमा पूर्वराजा ज्ञानेन्द्रको सहभागिता र उनलाई गरिएको स्वागत–सत्कार, सम्मान अनि औपचारिक मान्यताका प्रसङ्ग खास सरोकारका विषय बने । कतिपय भारतीय सञ्चारमाध्यममा पनि यसले विशेषस्थान पायो ।

नेपालको नयाँ संविधान जारीपछि राजाबाट नागरिकमा रूपान्तरित भइसकेयता ज्ञानेन्द्रले भारतका विभिन्न क्षेत्रमा निजी स्तरका भ्रमणहरु गरे,तीमध्ये कुनै पारिवारिक कारोबारसम्बद्ध थिए त कुनै धार्मिक वा स्वास्थ्य उपचार प्रकृतिका । भारतीय समाजमा विद्यमान इकाइ, संस्था तथा धार्मिक प्रतिष्ठानहरुबाट पूर्वराजा ज्ञानेन्द्रका त्यस्ता भ्रमणहरुमा आ–आफ्नै खालका व्यवहार, शिष्टाचार र सम्मान प्रकट गरिन्थ्यो, जसको बेलामौकामा आफ्नै खालको चर्चा हुन्थ्यो र त्यहीँ टुंगिन्थ्यो । तर पछिल्लो भ्रमण त्यतिमै सीमित रहेन ।

निरञ्जन अखडा, दक्षिणकाली मन्दिरका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरि महाराजको औपचारिक निम्तोमा हरिद्वार पुगेका ज्ञानेन्द्रलाई धार्मिक अभिषेक गरियो, रथमा राखेर परिक्रमा गराइयो,अनि हरिद्वारको गंगामा साधु–सन्तहरुसँग शाही स्नान पनि गराइयो । धार्मिक आस्थाबाट अभिप्रेरित भारतीय समाजको एक तप्काका लागि ज्ञानेन्द्र परम्परा र संस्कृतिका प्रतीक ठहरिए होलान्, उनीहरुले आफ्नो विश्वास प्रकट गर्दै हरिद्वारमा सोही अनुरूपकोव्यवहार गरे होलान् । यो कुरा बुझ्न सकिन्छ । विगतमा पनि यस्तै कर्मकाण्डहरू हुने गर्थे, जसबारे नेपाली समाज अनभिज्ञ छैन ।

पछिल्लोपटक हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रलाई आरम्भदेखि अन्त्यसम्म, सबै खाले घटनाक्रममा नेपालको गद्दीनसीन शासककै रूपमा श्री ५ महाराजाधिराजको हैसियत दिइयो । औपचारिक कार्यक्रमहरूमा उनलाई गरिने सम्बोधनमा पनि पटकपटक श्री ५ नै भनियो । गम्भीर कुरा, उत्तराखण्ड राज्यका मुख्यमन्त्री तीर्थ सिंह रावतबाट ज्ञानेन्द्रको स्वागत गरिँदासमेत श्री ५ महाराजाधिराजकै रूपमा औपचारिक ओहदामा राखेर अभिव्यक्ति दिइयो। बुझ्न सकिन्छ, पूर्वराजा ज्ञानेन्द्रलाई महाकुम्भको शाही स्नानका अवसरमा विशेष अतिथिका रूपमा हरिद्वारमा उपस्थित गराई मुख्यमन्त्रीसम्मको तहबाट नेपालका शासक श्री ५ को हैसियतमा राखेर आधिकारिकता नै दिन खोजिएको छ । महत्त्वपूर्ण कुरा, मुख्यमन्त्री रावत केन्द्रमा सत्तारूढ भाजपाकै नेता हुन् । त्यस अर्थमा पनि हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रप्रति भारतीय राजनीतिज्ञहरुको व्यवहार सामान्य होइन । कूटनीतिका विभिन्न कोण र मोडहरुमा यस्ता चलखेलका अनेक अन्तर्य हुन्छन् । तर जनमानसमा ज्ञानेन्द्र अद्यापि नेपालका शासक श्री ५ नै हुन् भनेर धार्मिक माध्यमबाट मानसिक प्रभाव स्थापित गराउने भारतको एक खेमाको अभीष्ट रहेको अनुमान गर्न सकिन्छ ।

गम्भीर प्रश्न छ, आफू नेपालको संविधान–२०७२ लाई आत्मसात् गर्दै नारायणहिटी दरबारबाट अभिनिष्क्रमण भएको र शासकबाट सामान्य नागरिकमा रूपान्तरित भइसकेकोबारे ज्ञानेन्द्र अनभिज्ञ छैनन् । वर्तमान संवैधानिक व्यवस्था अनुरूप नेपालमा कोही पनि श्री ५ को हैसियतमा छैन, त्यो संस्था निर्मूल गरिसकिएको छ । संविधानले परिकल्पना नै नगरेको पद र हैसियतश्री ५ का रूपमा कसैले कसलाई भन्छ र जबर्जस्ती स्थापित गराउन खोज्छ भने, त्यो गैरसंवैधानिक हुन्छ । भारतीय गणतन्त्रको एउटा अङ्ग उत्तराखण्ड राज्य सरकारद्वारा नेपालको वर्तमान संवैधानिक व्यवस्थाकोबर्खिलाफ औपचारिक रूपमै किन यस्तो व्यवहार गरियो ?श्री ५ नरहेका ज्ञानेन्द्रले फेरि पनि विदेश भूमिमा आफूलाई श्री ५ कारूपमा प्रस्तुत गर्दै किन नपाएको पगरी पाएजस्तो आपत्तिजनक आचरण देखाए ? यसमा नेपाली राज्यपक्षको मौनता, भारतीय केन्द्र सरकारको अनदेखा सुखद संकेत होइन ।

यसलाई लिएर यता नेपालमा कतिपय राजावादी तथा कट्टर हिन्दुवादी नेपालीहरुले सन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीहरु ठान्छन्— यो नेपालका शाहवंशीय हिन्दु राजाहरुप्रति भारतीयहरुको आदर–सम्मान हो । सिंगो नेपालकै लागि गर्वको कुरा हो । भारतीय भूमिमा ज्ञानेन्द्रप्रति राजनीतिकस्तरबाटै देखाइएका यावत्व्यवहारहरुबाट राजावादी, हिन्दु खेमाका मानिसहरु हौसिएका होलान्; मनमनै उत्साहित बन्दै भारतीय शासकहरुको आशीर्वचनबाट राजतन्त्र पुन:स्थापित हुने सपना पनि देखिरहेका होलान् । तर सत्य के हो भने, नेपालमा ज्ञानेन्द्रभन्दा पहिला पनि शाहवंशीय हिन्दु राजाहरु थिए र तिनीहरुप्रति भारतीय शासकहरुकोव्यवहार कस्तो थियो भन्ने वस्तुपरक इतिहास सबैका सामु छ । अहिले, सन्दर्भ संयोगले दलाई लामा उचित दृष्टान्त भइदिएका छन् ।

दलाई लामा तिब्बती भूमिमा सत्रौं शताब्दीदेखि धर्माधिकारीका रूपमा थिए । पाँचौं दलाई लामाको कार्यकालदेखि निरन्तर रहेको धार्मिक शासनसत्तासन् १९५० मा चिनियाँ लाल सेनाको ह्लासा प्रवेशपछि अन्त्य भयो । हुन त चिनियाँ शासक रचौधौं दलाई लामाबीच सन् १९५१ मा सत्रबुँदे शान्ति सम्झौता भएको थियो तर अमेरिकी गुप्तचर संस्था सीआईएको चीनलाई घेराबन्दी गर्ने ग्रान्ड डिजाइनबमोजिम दलाई लामालाईसन् १९५९मा ह्लासाबाट भगाएर भारत पुर्‍याइयो । त्यसमा भारत सहयोगी बन्यो ।त्यसउप्रान्त दलाई लामा तिब्बतको शासकका रूपमा रहेनन्, शरणार्थी भए । कूटनीतिक अध्येताहरु भन्छन्— दलाई लामालाई तिब्बतबाट भारतमा शरणार्थीकारूपमा पुर्‍याउन तत्कालीन अमेरिकी शासक र भारतीय प्रधानमन्त्रीबीच गोप्य सहमति बनेको थियो । त्यसको पुरस्कारस्वरूप अमेरिकाले नेहरु प्रशासनलाई अणुबम निर्माणसम्बन्धी सूत्र उपलब्ध गराइदिएको थियो ।

दलाई लामा तिब्बतकाशासक त रहेनन्, तर भारतीय शासकहरुले उनी र उनीसँगै निर्वासनमा हिँडेका तिब्बतीहरुलाई शरणार्थीका रूपमा आश्रय दियो । चीनसँंगको सीमा विवादपछि दलाई लामालाई भारत सरकारद्वारा तिब्बत–प्रमुखको सम्मान मात्र दिइएन, हिमाचल प्रदेशको धर्मशालामा तिब्बतीहरुको निर्वासित सरकार सञ्चालन गर्नसमेत छुट दिइयो । त्यहाँतिब्बती निर्वासित सरकारका मन्त्रालयहरु छन्, निर्वासित तिब्बती संसद् त्यहीँ क्रियाशील छ । साथै आवधिक रूपमा निर्वासित तिब्बती संसद्को चुनाव सञ्चालन गर्न र जनप्रतिनिध छान्न भारत सरकारले छुट दिँदै आइरहेकोछ । यसका अतिरिक्त निर्वासित तिब्बती सरकारका प्रमुखदेखि अन्य पदाधिकारीका लागि भारतले सुरक्षाकर्मी तथा आर्थिक अनुदानको व्यवस्था गरिदिएको छ । तिब्बती शरणार्थीहरुले यसलाई भारत सरकारको ठूलो अनुग्रहका रूपमा लिने गरेका छन् ।

अर्कातिर, भारत सरकार कूटनीतिकस्तरमा दौत्यसम्बन्ध दिगो बनाउन, उत्तरी सीमा सुरक्षा सुनिश्चित गर्न र अन्य बहुआयामिक सहयोग बढाउने दिशामा चीनसँग हातेमालो गर्नमा चनाखो छ । व्यवहारमा एक–चीन–नीतिको मान्यताबाट भारत कति पनि विचलित हुन चाहन्न । औपचारिक रूपमै भारत सरकारलेतिब्बतलाई चीनको अभिन्न अङ्गका रूपमा सदर गरेको छ । बुझ्न गाह्रो छ्रैन, दलाई लामालाई एउटा सन्दर्भमा तिब्बती शासकका रूपमा सम्मान प्रकट गर्दैगर्दा र आफ्नै भूमिमा निर्वासित तिब्बती सरकारको गतिविधि सञ्चालन गर्न दिइरहँदा भारतीय सुरक्षा तथा राष्ट्रिय स्वार्थका लागि उनी चीनसँगको लेनदेनमा एउटा प्रभावकारी तुरूप कार्ड हुन् भनी भारतीय नेताहरुले राम्ररी बुझेका छन् । जतिसुकै कूटनीतिक अप्ठयारो भए पनि भारत दलाई लामाको तुरूप छाड्न तयार छैन । त्यसैले भारतमा दलाई लामाको विशेष स्थान छ ।

हरिद्वारको बसाइमा यसपटक श्री ५ को मान पाएर ज्ञानेन्द्र आत्मविभोर मात्र होइन, साँच्चै आफ्नो दिन फर्कनै लागेको हो कि भन्ने दिग्भ्रममा परिरहेका पनि होलान् । नेपालभित्र राजनीति धमिलो र तरल भएको अवस्थामा अबको विकल्प आफैं हुन र त्यसमा दक्षिणतिरको पछिल्लो व्यवहार मंगलको संकेत होला भनेर ज्ञानेन्द्रले सोचेका पनि हुनसक्छन् ।

नबिर्सौं, भारतले आजसम्म नेपालभित्र जेजति भूमिका निर्वाह गर्दै आइरहेको छ, त्यो केवल उसकै अनुकूलताका लागि हुने गरेको छ । नेपालका शासक वा राजनीतिक नेताहरुप्रति उताको उदात्तताको अन्तर्य आफ्नो प्रभुत्व र प्रभाव कायम राख्नु मात्र हो । ज्ञानेन्द्रले धेरै पर होइन,आफ्नै दाजु राजा वीरेन्द्रसम्म फर्केर हेर्दा पनि हुन्छ । राजा वीरेन्द्रप्रति भारतीय शासकहरुकोव्यवहार कस्तो रह्यो ?

चेसको खेलमा झैं कुन बेला कुन प्यादा काम लाग्छ भन्नेमा दक्षिण निकै चनाखो रहने गरेको छ । सुगौली सन्धिपश्चात् नेपालको आन्तरिक राजनीतिलाई आफूअनुकूल पार्न भारतलेयस्तै अभ्यास गर्दै आइरहेको छ । अन्तत:, अहिले भारतमा श्री ५ को हैसियतमा ज्ञानेन्द्रलाई दिइँदै गरेको सम्मानले ठेल्दै पुर्‍याउने भनेको दलाई लामा उभिँदै गरेको धरातलसम्म मात्र हो । उनमा सायद यति चेत होला ।

(शुक्रबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट )

प्रकाशित : वैशाख २, २०७८ १८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×