हुम्लाको सल्लीसल्लामा पुग्यो बस

कान्तिपुर संवाददाता

हुम्ला — कर्णाली करिडोर हुँदै हुम्लाको सल्लीसल्लामा पहिलोपटक यात्रुवाहक बस पुगेको छ । यसअघि सर्केगाडको बालुकुनासम्म बस चल्ने गरेको थियो । बसधनी दन्तबहादुर शाहीले मंगलबार चंखेलीको सल्लीसल्लामा बस पुगेको जानकारी दिए ।

उनका अनुसार फागुन १५ गते सुर्खेतबाट अछामको मंगलसेन हुँदै बस बालुकुना पुर्‍याइएको थियो ।

सोही बस सल्लीसल्ला पुगेपछि स्थानीयवासीले बाजागाजासहित स्वागत गरेका थिए । ‘बस पुगेपछि गाउँमा खुसी छाएको छ,’ उनले भने, ‘अब सरकारले छिट्टै नियमित बस चल्ने व्यवस्था गरोस् ।’

कर्णाली प्रदेश ००१ ख ०४०२ नम्बरको बस कालीकोटको जितेमा पुल नहुँदा अछामको मंगलसेन हुँदै बाजुराबाट हुम्ला पुर्‍याइएको थियो । बस चल्न थालेपछि हुम्लाका ताजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिका कर्णाली करिडोरले राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । जितेमा पुल बनेपछि सुर्खेतबाट सिधै बस सञ्चालन हुनेछ ।

नेपाली सेनाले ६ वर्षअघि कर्णाली करिडोर निर्माणको जिम्मा लिएको थियो । यसअघि सर्केगाडको बालुकुनासम्म साना सवारी साधनहरू चल्ने गरेका थिए । बस भने बालुकुनाभन्दा अझ अगाडि पर्ने सल्लीसल्लासम्म पुगेको हो ।

जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवालासँग समन्वय गरी नियमित रुपमा बस सञ्चालन गर्ने उनको भनाइ छ । हुम्लाको उत्तरी भेकमा पर्ने नाम्खा र सिमकोटमा हिल्साबाट सडक पुगेको छ । कर्णाली करिडोरले ताजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिकालाई छोएपछि अब खार्पुनाथ गाउँपालिकामात्र सडक सञ्जालले जोडिन बाँकी छ ।

प्रकाशित : चैत्र १३, २०७७ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

डेढ महिनापछि ६ संक्रमित आइसोलेसनमा

प्रकाश बराल

बागलुङ — डेढ महिना खाली भएको धौलागिरि अस्पतालको आइसोलेसनमा ६ जना कोरोना संक्रमित भर्ना भएका छन् । बहिरंग कक्ष (ओपीडी) मा आएका बिरामीलाई शंका लागेर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म ज्वरो र रुघाखोकीका बिरामी उपचारका लागि आइरहेका मेसु डा. शैलेन्द्र पोखरेलले बताए । लक्षणसहितका संक्रमित बढ्न थाले पनि जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना र संक्रमण नियन्त्रणको तयारी भने देखिँदैन ।

बढी भीडभाड हुने सरकारी कार्यालय, सार्वजनिक सवारीसधान मात्रै होइन, अस्पतालमा समेत सुरक्षा सावधानी अपनाइएको छैन । ‘भीडमा पनि मास्क लगाएको देखिँदैन, फेरि जोखिम बढ्ने भयो,’ बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने, ‘प्रशासनकै कडाइ आवश्यक देखियो ।’

डा. पोखरेलले हरेक व्यक्ति आफैं सचेत हुनुपर्नेमा जोड दिए । अस्पतालमा सबै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिने पनि उनले बताए । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्ला भित्रिने व्यक्तिको नामावली उतार्ने, विदेशबाट आएको भए अनिवार्य पीसीआर गर्ने, भीड गर्न नदिने काम पुनः थालेको बताए ।

‘यसअघिका सबै क्वारेन्टाइन सक्रिय बनाउने भनेका छौं,’ कार्कीले भने, ‘विकल्पको खोजी पनि भइरहेको छ ।’ संक्रमण बढ्ने जोखिमका बीच होलीमा भीडभाड गर्न रोक लगाइएको पनि उनले बताए । ‘मास्क नलगाए संक्रामक रोग ऐनअनुसार कारबाही हुनेछ,’ उनले भने, ‘पछिल्लो पटकको कोरोना लहरमा मृत्युदर पनि उच्च भएकोले यसपटक हेलचेक्र्याइँ गर्न दिँदैनौं ।’ भारत र तेस्रो मुलुकमा आउनेलाई जिल्ला प्रवेशद्वारमा जाँच गरी अनिवार्य क्वारेन्टाइनमा राखिने पनि कार्कीले बताए ।

धौलागिरि अस्पतालमा ३० शय्याको मात्रै आइसोलेसन केन्द्र छ । यसअघि आइसोलेसन बनाइएका धौलागिरि बहुमुखी क्याम्पस र बहिरा विद्यालयमा कक्षा सञ्चालन भइरहेको छ । नियमित परीक्षासमेत चलेकोले संक्रमण बढ्नासाथ आइसोलेसन राख्ने स्थानको समेत अभाव हुन सक्ने स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ बताउँछन् ।

‘बागलुङमा क्षयरोगका बिरामी पनि धेरै देखिएकाले कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ,’ गुरौले भने, ‘त्यस्ता बिरामीलाई कोरोना संक्रमण बढी हुन्छ ।’ हरेक स्वास्थ्य चौकी तहमै कम्तीमा २ सय शय्याको आइसोलेसन बनाइने उनले जनाए ।

प्रकाशित : चैत्र १३, २०७७ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×