कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली नदीमा डिजाइनविपरीत पुल

तुलाराम पाण्डे

कालीकोट — कर्णाली करिडोरअन्तर्गतको खुलालुस्थित कर्णाली नदीमा डिजाइन स्टिमेटविपरीत पुल निर्माण थालिएको छ । नदीमा ‘ग्याबोनाइज’ (जिंक कोटेड) नगरेरै पुल निर्माण हुन थालेको हो । ‘ग्याबोनाइज’ नहुँदा फलामे पातमा छिटो खिया लाग्ने र पुल टिकाउ नहुने भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

कर्णाली नदीमा डिजाइनविपरीत पुल

कर्णाली करिडोरको मुख्य पुलको स्टिलपार्ट कम्पनीबाट पठाउने बेला नै खिया नलाग्ने ग्याबोनाइज नगरिएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । ‘स्टिलपार्ट ग्याबोनाइज गरिएको छैन,’ सबइन्जिनियरसमेत रहेका स्थानीय युवा कम्मरबहादुर बमले भने, ‘डिजाइन स्टिमेटविपरीत पुल निर्माण गर्न थालियो, पछि पेन्टिङ गरे पनि पुल दिगो हुँदैन ।’ पुल बनाउने क्रममै कमसल खालको स्टिमेट गरेर कर्णालीवासीप्रति अन्याय गरिएको उनको गुनासो छ ।

दुई पटक शिलान्यास गरिएपछि मात्र खुलालु पुल निर्माणको कामले गति लिएको छ । १० वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले पुलको शिलान्यास गरेका थिए । ठेकेदारको लापरबाहीका कारण लामो समय पुल बन्न सकेन । आठ वर्षअघि कालीकोटको खाडाचक्र–२ कालेखोला र नरहरिनाथको खुलालु जोड्न कर्णाली नदीमा पक्की पुल निर्माणको ठेक्का भएको थियो । तर निर्माणको काममा ढिलाइ हुँदा स्थानीयले सास्ती भोगिरहेको बमले बताए ।

कालीकोटका पाँच वटा स्थानीय तहसहित बाजुरा, मुगुको पश्चिम भेग र हुम्ला हुँदै तिब्बत जोड्ने सडकका लागि खुलालुस्थित कर्णाली नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ । २०६९ मा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी कन्काई जेभीले ठेक्का लिए पनि काम सुरु भएको थिएन । सुरुमा १३ करोड रुपैयाँ लागत रहेको पुलको लगानी बढेर १५ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

कन्काई जेभीले अर्को ठेकेदारलाई निर्माणको जिम्मा दिएकाले काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीको भनाइ छ । ‘काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएपछि पुनः सम्झौता गरेर काम सुरु गरेका छन्,’ उनले भने, ‘अहिले कामले गति लिएको छ ।’ डिजाइन स्टिमेटअनुसार नै काम भइरहेको उनको दाबी छ । ट्रसब्रिज बनाउने दुई प्रविधि छन् ।

‘स्टिलपार्ट जडान भएपछि हावा र बालुवाले हानेर खिया सफा गरी पेन्टिङ गर्ने प्रविधि यो पुलमा प्रयोग भइरहेको छ,’ उनले भने, ‘डिजाइन फेरियो भनेर बेकारको हल्ला चलाइएको छ ।’ ट्रस जडान भएपछि पेन्टिङको काम हुने उनले बताए । नदीमा स्टिल ट्रससहितको ७५ मिटर लम्बाइ र ९ मिटर चौडाइको पुल निर्माण भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुलको म्याद गत माघ ३ मा सकिएपछि फेरि ६ महिना थपिएको छ । पुल असारसम्म सम्पन्न गर्ने गरी काम भइरहेको भण्डारीले बताए ।

भारतको रुपैडियादेखि चीनको मानसरोवर जोड्ने लक्ष्यसहित कर्णाली करिडोरको निर्माण भइरहेको हो । कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माणको जिम्मा सेनालाई दिइएको छ भने अन्य खण्डमा डिभिजनले काम गरिरहेको छ ।

कालीकोटको जितेदेखि हुम्लाको कुवाडी खोलासम्म ९४ किमिमा गाडी गुड्न थालेको कार्यदल प्रमुख मिलन कार्कीले जानकारी दिए । खुलालुमा पुल नहुँदा नदी घटेको बेला जितेमा फेरी सञ्चालन गर्ने गरिएको छ । ‘नदी बढेको बेला फेरी बन्द हुन्छ,’ उनले भने, ‘त्यसैले स्थानीयले सास्ती भोगिरहेका छन् ।’ पुल नहुँदा निर्माण सामग्री ढुवानी गर्न पनि कठिनाइ भएको उनले बताए ।

प्रकाशित : चैत्र ५, २०७७ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?