१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कर्णाली उत्सव : योजना, कृषि र पूर्वाधारको बहस

कृष्णप्रसाद गौतम

सुर्खेत — वीरेन्द्रनगरको बुलबुले उद्यानमा जारी कर्णाली उत्सवको तेस्रो दिन शुक्रबार कर्णालीका विभिन्न योजना, शैक्षिक जागरण, आर्थिक समृद्धि र पूर्वाधारबारे बहस गरिएको छ ।

कर्णाली उत्सव : योजना, कृषि र पूर्वाधारको बहस

तेस्रो दिनको पहिलो सत्रमा ‘कर्णाली घुमाउटो पड्यो’ शीर्षकमा योजनाविद् दिनेशचन्द्र देवकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र कर्णाली योजना आयोगका सदस्य योगेन्द्र शाहीले कर्णालीको विकास र योजनाबारे छलफल गरे ।

शाहीले कर्णालीसँग प्रशस्त सम्भावना रहेको बताए । ‘अहिले पनि कर्णालीले करोडौंका उत्पादनहरु निर्यात गरिरहेको छ,’ उनले भने, ‘अब हामी यो विकासलाई कर्णालीका जनताको शिक्षा, स्वास्थ्यलगायतका कुराहरुसँग जोड्ने अभियानमा तल्लीन छौं ।’ देवकोटाले समृद्ध नेपालको सपना साकार पार्न कर्णालीले ठूलो योगदान दिन सक्ने औंल्याए । कर्णालीले प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढे समृद्धिमार्फत विश्वभरि चिनाउन सकिने कँडेलले बताए । ‘कर्णालीमा भविष्य राम्रो छ,’ उनले भने, ‘अब यसको घुम्टो उठाउन मात्रै बाँकी छ ।’

यस्तै ‘पूर्वाधार विकास : समृद्ध कर्णालीको पूर्व आधार’ सत्रमा सहसचिव घनश्याम उपाध्यायले योजनामा योजनाकारको भन्दा राजनीतिज्ञको बोलवाला धेरै भएको बताए । ‘योजनालाई राजनीतिकरण नगरे समृद्धि धेरै टाढा छैन,’ उनले भने, ‘कर्णालीमा सार्वजनिक लगानीमा पनि जोड दिन जरुरी छ ।’ अर्का सहसचिव धनिराम शर्माले केही समय आफै जुटे बाह्य लगानी जुटाउन गाह्रो नहुने बताए । पूर्वाधारविद् शंकरप्रसाद शर्माले सुविधासम्पन्न पर्यटकीय स्थलको विकास कर्णालीको एउटा मात्रै प्राथमिकता हुनुपर्ने औल्याए ।

उत्सवमा ‘पुईंसाका कुडा’ बारे पनि छलफल गरियो । जसमा वक्ताहरु थिए– प्रमुख कार्यकारी अधिकृतहरु राष्ट्रिय वाणिज्य बैंकका किरणकुमार श्रेष्ठ, प्रभु बैंकका अशोक शेरचन, नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली र सनराइज बैंककी प्रबन्धक सुष्मा गिरी । टिकाराम यात्रीले सहजीकरण गरेको सत्रमा ज्ञवालीले उद्यम गर्नेलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताए । गिरीले वित्तीय संस्थाहरुको पहुँच बढेपछि कर्णालीमा उद्यमशीलताको विकास हुन लागेको बताइन् भने शेरचनले कर्णालीले आफै उद्यमी बन्ने अभियान थाल्नुपर्नेमा जोड दिए । ‘यहाँका उत्पादनलाई विश्वभरि पठाउने र बाहिरका उद्यमी भित्र्याउने गतिविधि थाल्नुपर्छ,’ उनले भने, ‘त्यसो गर्दा रोजगारीसँगै आर्थिक गतिविधि बढ्छ ।’ श्रेष्ठले कर्णालीका गाउँमा बैंकका शाखा खुलेर मात्रै वित्तीय पहुँच पुगेको मान्न नहुने जनाए ।

कार्यक्रममै कर्णालीलाई कसरी अर्गानिक बनाउने भन्नेबारे पनि छलफल गरियो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कृषि उत्पादनको हकमा कर्णालीले ‘भोल्युम’ हैन ‘भ्यालु’ बेच्ने अभियान सुरु गरेको बताए । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले कर्णालीले आफै जडिबुटीको व्यवसायिक खेती, प्रशोधन र निर्यात गर्न थालेको बताए ।

अर्गानिक अभियानकै सन्दर्भमा खाद्य अधिकारकर्मी सुरेशकुमार गौतमले रैथाने बिउहरु हराउँदै गएको चिन्ता व्यक्त गरे । कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले सोच र व्यवहारमा परिवर्तन गरे कर्णाली अर्गानिक बन्दै जाने बताइन् ।

साक्षर, शिक्षित र प्राज्ञिक कर्णालीबारेको बहसमा वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकाल र शिक्षा अभियन्ता शान्ता दाहालले छलफल गरे भने ‘पैकेलो’ अर्थात् हिरो शीर्षकमा हरित अभियन्ता किरण सापकोटा आफ्नो अनुभव सुनाए । ‘कुडा कर्णालीका’ नारासहित बुधबारदेखि सुरु भएको उत्सव शनिबार सकिनेछ ।

प्रकाशित : फाल्गुन २८, २०७७ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?