कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा डढेलोका कारण तीन घर जलेर नष्ट 

विप्लव महर्जन

काठमाडौँ — वनमा लागेको डढेलोका कारण छत्रेस्वरी गाउँपालिका ४ झिम्पेको दुदिल्य बस्तीका तीन घर जलेर नष्ट भएका छन् । 

सल्यानमा डढेलोका कारण तीन घर जलेर नष्ट 

रैजेखोला, चौखेढुंगा वनबाट सुरु भएको डढेलो बस्तीमा पुगेपछि स्थानीय दधिराम खत्रीका दुई र मोहलाल शर्माका एक गरी तीन घर जलेर नष्ट भएका हुन् ।

डढेलोका कारण बस्ती दुदिल्य बस्ती समेत जोखिममा परेको छ । आगोका कारण खत्री र शर्माका घरमा भएका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री जलेर नष्ट भएका छन् भने स्थानीय ज्ञानबहादुर ओलीका घर बाहिर बाँधेका दुई बाख्रासमेत जलेर मरेका छन् । आगलागीबाट घर जलेर नष्ट हुँदा ५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ गोविन्द थापाका अनुसार वनमा लागेको डढेलो बस्तीमा क्षति पुर्‍याएपछि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीको टोली र स्थानीयको सहयोगमा घरमा लागेको आगो र जंगलमा लागेको डढेलो नियन्त्रण गरिएको छ । बस्ती अझै जोखिममा परेकाले पुन: आगलागी भएमा तत्काल खबर गर्न उनले स्थानीयलाई आग्रह गरे ।

आगलागीका कारण घर जलेपछि बिचल्लीमा परेका खत्री र शर्माका परिवार अहिले छिमेकीको घरमा बस्दै आएका वडाध्यक्ष नेबबहादुर खड्काले बताए । । नेपाली सेना, प्रहरी र सशस्त्रले डढेलो निभाउने प्रयास गरे पनि पूर्ण रुपमा नियन्त्रणमा नआई जंगलमा फैलिएकाले बस्ती अझै जोखिममा रहेको उनले बताए । उनका अनुसार दुई दिनदेखि लागेको डढेलोका कारण ५ सय हेक्टरभन्दा बढी वनमा क्षति पुर्‍याएको छ । उनले स्थानीयलाई सजग रहनसमेत आग्रह गरेका छन् ।

प्रकाशित : फाल्गुन १९, २०७७ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?