खलंगामा प्रदर्शनकारी र प्रहरीबीच झडप- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खलंगामा प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको आफन्तको दाबी
एलपी देवकोटा

जुम्ला — प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्ला घेराउ गर्दा खलंगामा तनावग्रस्त भएको छ ।

गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

उनलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । ‘जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल र सोधपुछ पछि उनलाई छोडिएको हो’, उनले भने, ‘मृतकका आफन्तले भने प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ गर्न आएपछि स्थिति तनावग्रस्त भएको हो । भीडलाई तितरबितर गर्न लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको हो ।’

१४ वर्षीय पदम बुढा उपचारका लागि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेका थिए । उनको खुट्टामा चोट लागेर सुन्निएको अवस्थामा उपचारका लागि अभिभावकसँग अस्पताल पुगेका थिए ।

ओपीडीमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसीयूमा राखेर उपचार थालिएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक अनुपमंगल समालले बताए । अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए । ‘उनको श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आईसियुमा राखेर उपचार थालिएको थियो’, उनले भने, ‘जमेको रगतका टुक्राहरु फोक्सामा पुगेका कारण बिरामीलाई बचाउन सकिएन । अस्पतालले बिरामीलाई बचाउन अथक प्रयास गरेको हो ।’

मोबाइल चोरी गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर निर्मम तरिकाले कुटपिट गरेका कारण बुढाको मृत्यु भएको आफन्तले बताइरहेका छन् ।

गुठिचौर गाउँपालिका–३ गज्याङकोटका स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोलन गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो । झडपमा मृतकका आधा दर्जन भन्दा बढी आफन्त घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्

खुँखार वन्यजन्तु तस्कर कुञ्‍जोक समात्ने दुई प्रहरीलाई राष्ट्रसंघको अवार्ड

अब्दुल्लाह मियाँ

काठमाडौँ — पाटे बाघलगायतका वन्यजन्तुका अंग (आखेटोपहार) को तस्करीमा संलग्न कुञ्जोक लामा (कुन्जोक छिरिङ तामाङ) लाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का दुई प्रहरी अधिकृतलाई संयुक्त राष्ट्र संघ(यृएन)को वातावरण कार्यक्रमले अन्तर्राष्ट्रिय अवार्ड दिएको छ ।

यूएनको वातावरण कार्यक्रमले सीआईबीका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीलाई २०२० को पाँचौँ एसिया इन्भारोमेन्टल इन्फोर्समेन्ट अवार्ड दिएको हो । यूएनले उनीहरुलाई प्रभाव (ईम्प्याक्ट) शीर्षकमा पुरस्कृत गरेको हो ।

आफ्ना निर्देशक र पिलर प्रमुखको निर्देशन र सहकार्यमा एकैपटक भारत, चीन र नेपालमा अपरेशन चलाएर खुँखार वन्यजन्तु तस्कर समात्न सफल भएको भन्दै यूएनले पन्थी र जोहरीलाई अवार्ड दिएको हो ।

सीआईबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले अवार्डले वन्यजन्तु तस्करीमा अन्तर्राष्ट्रिय गिरोहहरुसँग प्रत्यक्ष जोडिएका कुन्जोकजस्ता अन्यलाई समेत खोज्न र पक्राउ गर्न थप उत्साह मिलेको प्रतिक्रिया दिए ।

नेपाल प्रहरी र इन्टरपोलको सर्वाधिक खोजी सूचीमा समेत रहेका लामालाई सीआईबीले गत असार ११ मा काठमाडौं–६ सिमलटारबाट पक्राउ गरेर लामटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । उनी अहिले रसुवा कारागारमा छन् । सीआईबीले वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा लामाको अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएका धेरै प्रमाण हात पारेको छ ।

नेपाली सेनाको दुर्गा बक्स गणले २०६२ भदौ १६ मा रसुवाको साविक स्याफ्रु गाविस–९ मा बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुका अंग बरामद गरेको थियो । ती वन्यजन्तु ओसारपसार र बेचबिखनमा लामा संलग्न भएको दाबी गरिएको छ ।

लामाले रसुवागढीबाट ती वन्यजन्तुका अंग केरुङ हुँदै तिब्बत तस्करी गराउन खोजेको सीआईबीको दाबी छ । उनीसँग तिब्बतको परिचयपत्रसमेत भएकाले आउजाउ गर्न उनलाई सहज थियो ।

पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओंतको छाला २ सय ३८ थान र बाघको १ सय १३ किलोग्राम हड्डीसहित ५ जनालाई पक्राउ गरेको थियो । उक्त घटनाका प्रमुख योजनाकार भनिएका कुञ्जोक लामा भनिने कुञ्जोक छिरिङ तामाङ फरार थिए । अरू आरोपितलाई भने लामटाङ राष्ट्रिय निकुञ्ज, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतले मुद्दा टुंग्याइदिएको थियो । एक जनाबाहेक अरू सबै कसुरदार ठहरिए । लामा फरार रहेकाले मुद्दा मुल्तबीमा थियो । पक्राउ परेका तीन जनाले उक्त घटनामा उनी नै संलग्न रहेको बयान दिएका थिए । उक्त घटनामा मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भनिने रिसाङ लामालाई सर्वोच्चले सात वर्ष कैद र एक लाख रुपैयाँका दरले जरिवाना तोकेको थियो ।

को हुन् कुञ्जोक?

कुञ्जोकको अन्तर्राष्ट्रिय कनेक्सन लामा नेपालमा मात्र नभएर भारतका बाघलगायत वन्यजन्तुका ठूला तस्करीमा समेत जोडिएका छन् । सीआईबी स्रोतका अनुसार सन् १९९९ मा भारतको गाजियाबादमा भएको वन्यजन्तुका अंगहरूको बरामदमा समेत उनको नाम जोडिएको छ । सन् २००० मा भारतकै खागा भन्ने स्थानमा वन्यजन्तुका अंगहरू बरामद हुँदा पनि उनको नाम जोडिएको सीआईबीले जनाएको छ । ‘बाघ मार्ने र तिनका अंगहरूको कारोबार गर्ने बाबरिया समूहको नेटवर्कसँग पनि लामाको सम्बन्ध पाइएको छ,’ सीआईबी स्रोतले भन्यो, ‘इन्टरपोल र भारतको डब्लूसीसीबी र सीबीआईले दिएका प्रमाणहरूको आधारमा यी व्यक्तिको अन्तर्राष्ट्रिय खुँखार व्यापारीसँग सम्पर्क रहेको देखिन्छ ।’

पक्राउ परेका कुञ्जोक लामा र सेनाको दुर्गा बक्स गणले २०६२ भदौ १६ मा रसुवाको साबिक स्याफ्रु गाविस–९ मा बरामद गरेका वन्यजन्तुका अंगहरू । तस्बिर सौजन्य : दिवाकर चापागाईं

केही समयअघि बाबरिया नेटवर्कका भिमा बाबरिया भारतमा पक्राउ परेका थिए । त्यो नेटवर्कसँग पनि लामाको सम्बन्ध रहेको पाइएको छ । त्यस्तै, सन् २००८ मा भारतको हरियाणामा भएको वन्यजन्तुका अंगहरूको बरामद केसमा पनि उनको सम्बन्ध देखिन्छ । ‘भारतमा अहिलेसम्म भएका सबैजसो वन्यजन्तु बरामदका केसमा उनको नाम जोडिनुले त्यहाँका तस्करहरूको समूहसँग कनेक्सन पुष्टि हुन्छ,’ सीआईबीका एक अधिकारीले भने ।

१५वर्षयता वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा भएका सबैजसो बैठकमा लामाको नाम चर्चामा आउने गरेको थियो । नेपाल र भारतका सरकारी अधिकारी र सुरक्षा निकायसहित इन्टरपोलले उनलाई पक्राउ गर्न सके नेटवर्कमा रहेका अरूलाई पनि समात्न सकिने भनेर चर्चा हुने गरेको थियो । स्रोतका अनुसार लामको चर्चित वन्यजन्तु अपराधी संसार चन्दको नेटवर्कमा रहेका व्यक्तिहरूसँग समेत पहुँच रहेको पाइएको इन्टरपोलले प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै, डान्डुक लामा र नुटुप लामासँग पनि उनको सम्बन्ध रहेको देखिएको छ । यी दुवै वन्यजन्तु तस्करीमा प्रख्यात नाम हुन् । दुवैसँग भारत, नेपाल र तिब्बतको नागरिक पुष्टि हुने प्रमाणपत्र (परिचय) छ । कुञ्जोकसँग पनि तीनवटै देशको नागरिक पहिचान हुने प्रमाणपत्र छ ।

सीआईबीका अनुसार कुञ्जोक लामाको सम्बन्ध नुवाकोटमा ८ वर्षअघि बरामद गरिएको आखेटोपहार तस्करीमा मुछिएका जिमी शेर्पा भनिने लोडु डिमेसँग पनि रहेको देखिन्छ । २०६९ सालमा काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा २ ख ७५०४ नम्बरको गाडी नुवाकोटमा खानतलासी गर्ने क्रममा प्रहरीले बाघको छाला पाँचथान र विभिन्न वन्यजन्तुका हड्डी बरामद गरेको थियो ।

भारतको डब्लूसीसीबीले पनि वन्यजन्तुका विभिन्न मुद्दामा लामालगायतको संलग्नता रहेको प्रतिवेदनमा उल्लेख गरेको सीआईबीले जनाएको छ । ‘लामाले भारतका विभिन्न स्थानबाट वन्यजन्तुका अंगहरू तिब्बतसम्म तस्करी गर्ने गरेको प्रमाणसमेत भेटिएको छ,’ सीआईबी स्रोतले भन्यो, ‘भारतमा भएका वन्यजन्तुका बरामदका केसमा समेत उनको नाम हिटलिस्टमा परेको देखिन्छ ।’

नेपालमा भने उनको स्थायी ठेगाना हुम्लाको नाम्खा गाउँपालिका–४ हो । उनले लामो समयदेखि काठमाडौंको बौद्धमा बसेर अवैध गतिविधि गर्दै आएको देखिन्छ । उनले भारतको सिलिगुडीमा पस्मिना कारखानासमेत चलाएको पाइएको छ ।

उक्त कारखानामा तिब्बतको पठारमा पाइने चिरुको रौंबाट अत्यधिक महँगा सलहरू निर्माण हुने गरेको छ । नेपालमा वन्यजन्तु अपराधबारे अनुसन्धान गरेका कुमार पौडेलले नेपाल र भारतमै पनि विभिन्न समयमा पक्राउ परेका तस्करहरूले लामाका लागि काम गर्ने गरेको बयान दिने गरेका थिए ।

प्रकाशित : फाल्गुन ६, २०७७ १४:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×