कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राडीबजार झडप : वडाध्यक्षसहित तीन घाइतेलाई नेपालगन्ज पठाइयो

हरि गौतम

रुकुम पश्चिम — राडी बजारमा मंगलबार भएको झडपमा घाइते भएका तीन जनालाई प्रहरीले उपचारका लागि नेपालगन्ज पठाएको छ । ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही, तेजविक्रम आरसी र दीपक केसीलाई उपचारका लागि पठाइएको हो ।

राडीबजार झडप : वडाध्यक्षसहित तीन घाइतेलाई नेपालगन्ज पठाइयो

घटनापछि प्रहरीले मंगलबार राति यी तीनसहित आठ जनालाई नियन्त्रणमा लिएको थियो । अन्यमा ८ नम्बर वडाध्यक्ष मानबहादुर चदारा, ३ नम्बर वडाध्यक्ष केशरमान विक, जयबहादुर विक, गोपाल विक र सोही नामका अर्का एक व्यक्ति छन् ।

शाही नेपाली कांग्रेस, चदारा र विक नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् । घाइते ३ जना नेपाली कांग्रेस र अरू ५ जना नेकपानिकट हुन् । प्रहरीले उनीहरूलाई सुरक्षा र उपचारका लागि भनेर जिल्ला ल्याइएको जनाएको छ ।

सोमबार बेलुका सुरु भएको झडप मंगलबार दिनभर चलेको थियो । आठबीसकोट नगरपालिकाको केन्द्र ९ नम्बर वडाको राडी बजारमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । बेलुकी ५ बजे राडी बजारमा निषेधाज्ञा जारी गरिएपछि भिड तितरबितर भएको थियो ।

इलाका प्रहरी कार्यालय आठबीसकोटका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले निषेधाज्ञा जारी भएपछि राडी र त्यस आसपासको अवस्था सामान्य रहेको बताए । निषेधाज्ञा अझै कायमै छ ।

यसैबीच दुवै पक्षबीच छलफल गराउने तयारी भइरहेको बुझिएको छ । मंगलबार इलाका प्रहरी कार्यालय आठबीसकोटमा छलफल भइरहेका बेला झडप भएपछि समस्या बढेको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले केही मान्छेलाई जिल्ला ल्याइएको र घाइतेको उपचार भइरहेकाले अहिल्यै केही भन्न नसकिने बताए । लामो समयदेखिको विवाद पूरै निरूपण गर्ने गरी छलफलको तयारी भइरहेको उनको भनाइ छ ।

प्रकाशित : माघ ७, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?