कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिका पठाउँछु भन्दै ठगी गर्ने पक्राउ

ज्योति कटुवाल

दैलेख — युवाहरुलाई अमेरिका पठाउँछु भन्दै ठगी गर्ने इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा (विद्या सरकार) लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा महानगरीय प्रहरी परिसर, टेकुले उनलाई पक्राउ गरी दैलेख पुर्‍याएको हो । 

अमेरिका पठाउँछु भन्दै ठगी गर्ने पक्राउ

शर्माले दैलेखका युवाबाट झण्डै दुई करोड रुपैयाँ ठगेको प्रहरीको अनुमान छ । उनलाई दैलेख प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । समाजसेवाको बहानामा दैलेख पुगेकी शर्माले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी, सिंगापुरको नेपालस्थित प्रमुख कार्यकारी अधिकृत (सीइओ) भन्दै असुली धन्दा चलाएकी थिइन् ।

कोरोना महामारीको नियन्त्रणका लागि भन्दै उनी स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गर्न बैशाखमा दैलेख पुगेकी थिइन् । उनी एक जिल्लाबाट ठगी गरेको रकम लिएर अर्को जिल्लामा राहत वितरणलगायत काममा संलग्न हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनले विद्या शर्मा र विद्या सरकारका नामबाट दुई वटा नागरिकता बनाएकी छिन् ।

शर्माले नारायण नगरपालिका–१ का २८ वर्षीय विवेक थापालाई अमेरिका पठाउने भन्दै वैशाखदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार रुपैयाँ पठाउन लगाएकी थिइन् । उनका साथी मनोज थापाले पनि बैंकमार्फत शर्मालाई बैंकमार्फत ९० हजार रुपैयाँ पठाएका थिए । ठगिएको भन्दै उनीहरुले प्रहरीमा उजुरी दिएपछि शर्माको खोजी भएको थियो । शर्माले युवाहरुलाई विभिन्न सामग्री उधारोमा किन्न लगाई राहत वितरण गरेको प्रहरीले जनाएको छ ।

शर्माले दैलेखका ८/१० जना युवाबाट रकम उठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म दुई जनाले शर्माविरुद्ध उजुरी दिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए ।

‘धेरै जना ठगिएका छन्,’ उनले भने, ‘तर रकम दिएको कागज र अन्य प्रमाण नहुँदा उजुरी नपरेको हुनसक्छ ।’ उनका अनुसार जिल्ला अदालतले पुस ९ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । तर शर्मा काठमाडौका विभिन्न ठाउँमा लुक्दै बसेकाले महानगरीय प्रहरी परिसरसँग समन्वय गरिएको उनले बताए ।

प्रकाशित : पुस २४, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?